सन्नी प्रधान, फोटोग्राफर
अहिले मुस्ताङ घुम्न जाने सिजन त होइन । तर, फापर फुलेको मुस्ताङ हेर्न रहरले हामी दुई साता अघि पुगेका थियौं । प्लेनबाट जान खोजेका थियौं तर, टिकट नपाएपछि हामी सार्वजनिक सवारीबाटै बेनीबाट रुप्से छहारा पार गरेर धासाको बाटो जोमसोम पुग्यौं ।
हाम्रो बास जोमसोममा भयो । त्यहाँबाट हामी घमी भन्ने ठाउँमा पुग्यौं । आधी बाटोसम्म गाडीमा बाँकी हिडेरै त्यहाँ पुग्यौं । गाडी त चल्छ तर, ट्रकका लागि हामी डिँडेर गएका थियौं । घमीदेखि अप्पर मुस्ताङ सुरु भयो । हामी हिडेर चराङ पुग्यौं । त्यहाँ एक दिन बस्यौं र भोलिपल्ट लोमाङथाङ पुग्यौं ।
भ्रमणका क्रममा छोसेर गयौं, जहाँ यारथुङ अर्थात हर्स राइडिङ हुन्छ । झोङ गुफामा पनि पुग्ने अबसर मिल्यो । लोमाङथाङ फर्किएर फुवा, थोङ्गार, छोनुप पुगियो । यो ठाउँमा कमै मात्र पर्यटकहरु जाने गरेका रहेछन् । तर, हामीलाई यो गाउँको सुन्दरताले निकै लोभाग्यो ।
११ दिनको यात्राका क्रममा हामी भकमारमा पुग्यौं, जहाँ रातो चट्टानहरु छन् । भकमारको अर्थ स्थानीय भाषामा रातो चट्टान हुँदा रहेछ ।
मुस्ताङ अहिले एकदमै घमाइलो छ । तर, जोमसोमदेखि माथि गएपछि पसिना भने आएन । चिसो हावा लागेका कारण घाममा पनि ज्याकेज लगाएर हिड्नु पर्ने अवस्था रहेछ ।
मुस्ताङ पुग्दा अर्कै संसार पुगे जस्तो लाग्छ । गत वैशाखमा गएको विनाशकारी भूकम्पले मुस्ताङको राजाको दरबार चर्किएको रहेछ, यसले त्यो त्रासदीपूर्ण समयलाई फेरि सम्झायो । नजिकै तिजी फेस्टीवल हुने एक्यापको कार्यालय भत्किएको छ ।
अहिले त्यहाँ फापर फुलेको छ । हरियाली छ । त्यहाँको सुन्दरता वर्णन गरी साध्य छैन् । एक पटक पुग्नैपर्ने ठाउँ हो मुस्ताङ । तल्लो मुस्ताङ मात्र जानु भयो भने मुस्ताङको सुन्दरता २० प्रतिशत मात्र थाहा हुन्छ । अपर मुस्ताङ जानु भएन भने तपाईको यात्रा अपुरो हुन्छ ।
प्रतिक्रिया 4