Comments Add Comment

गाडी भाडा घटाउन केन्द्रीय अनुगमन समितिको निर्देशन

१७ भदौ, काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा घटाउने निर्णय गरेको छ । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले सार्वजनिक सवारीको भाडादर तत्काल घटाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।

banda ma gadi (3)

मुख्यसचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा बिहीबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटेकाले सार्वजनिक गाडी भाडा पनि घटाउनु पर्ने निश्कर्ष निकालेको छ ।

बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी भाडा समायोजनको व्यवस्था गर्न भनिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा सार्वजनिक यातायातको भाडा स्वचालित रुपमा समायोजन हुने व्यवस्था मिलाउन पनि यातायात मन्त्रालयलाई भनेको छ । नेपाल आयल निगमले मंगलबार पेट्रेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिजेलमा २ रुपैयाा मूल्य घटाएको थियो ।

बैठकले नजिकिएका चाडपर्वलाई ध्यानमा राख्दै बजारमा खाद्यान्न, इन्धन, यातायात लगायत् अति आवश्यकीय वस्तु तथा सेवा सहज र सुलभ आपूर्ति गर्ने व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा चाडपर्वको मुखमा बढ्नसक्ने कालोबजारी नियन्त्रण गर्ने विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment