Comments Add Comment

बन्दकर्ताको ढुंगाबाट बस जोगाउने नयाँ काइदा !

१९ भदौ, काठमाडौं । पूर्व-पश्चिम राजमार्गमा चल्ने डिलक्स बसमा मधेसका बन्दकर्ताले ढुंगा हानेर हैरान पारेपछि यातायात व्यवसायी हिरा उदासको दिमागमा नयाँ उपाय फुर्‍यो । ‘इण्डियाभन्दा आइडिया ठूलो’ भनेजस्तै यो नयाँ प्रयोग धरानबाट राजधानीसम्म चल्ने कोशी न्यु डिलक्स बसमा तत्कालै गरियो ।
Jali-at-Bus2
तराईमा जारी बन्दका क्रममा यात्रुबाहक सवारी साधनमा लगातार तोडफोड हुन थालेपछि गाडीको शिशामा तारजाली लगाउने आइडिया न्यू कोशी डिलक्स यातायात प्रालीका उदासले फुराएका हुन् ।

प्रहरी सुरक्षासहित स्कोटिङमा सवारी सञ्चालन भएपनि आन्दोलनकारीले गाडीमा तोडफोड गरेपछि सवारी चालक र यात्रुलाई जोगाउन गाडीमा तारजालीको व्यवस्था गरिएको इलामेली ट्रावल्स एन्ड टूरका सञ्चालक सेवनकुमार अधिकारी (शेखर)ले अनलाइनखबरलाई जानकारी दिए ।

अधिकारीले अनलाइनखबरसँग भने-‘कोशी डिलक्सका तीनवटा गाडीमा जाली लगाएका छौं, आशा छ यसले चालक र यात्रुलाई सुरक्षा प्रदान गर्नेछ र ढुंगाले लागे पनि सिसा फुट्दैन ।’

तारजालीको नयाँ व्यवस्थाले सानातिना ढुंगालाई छल्ने, तथा गाडीमा ठूलो क्षति हुन नपाउने व्यवसायीको विश्वास छ । धरानमा तारजाली लगाएर आएका सवारी अहिले बाटोमा रहेको र काठमाडौं आइसकेपछि उक्त कार्य कति प्रभावकारी हुने रहेछ भन्ने थाहा हुने अधिकारीले बताए ।

सडकमा निस्किएका ९९ प्रतिशत गाडीमा क्षति

स्कटिङमै सञ्चालन गर्दा पनि पूर्वपश्चिम राजमार्गमा धेरै गाडीहरुमा क्षति पुगेको छ । राजधानीबाट इलाम गएका शुभेच्छा, महालक्ष्मी, दार्जीलिङ बसहरु पनि तोडफोड भएका छन् । त्यस्तै  धरान जाने न्यू कोशी डिलक्स गाडीहरु जाँदा र आउँदा दुबैपटक तोडफोड भएका छन् ।

उनले भने-‘तोडफोडको त कुरै नगरौं, अहिले सञ्चालनमा रहेका ९९ प्रतिशत गाडी तोडफोड भएका छन् ।’

Jali-at-Bus1

के भन्छन् हिरा उदास ?

एउटा बसको अगाडिको सिसाको मूल्य सामान्यतः ६५ हजार भन्दा माथि पर्छ । एकपटक ढुंगा प्रहार भयो भने गाडीमा लाखौंको क्षति हुन्छ । यसबाट जोगाउन अगाडिको भागमा तार जाली लगाउँदा १५/२० हजार खर्च लाग्दोरहेछ ।

चाँडै राजनीतिक गतिरोध अन्त्य हुने र सवारी साधन सुचारु हुने हामीले आशा गरेका थियौं । तर, अहिले जनताले यति धेरै दुःख पाएका छन् । रोजगारी गरेर दैनिकी गुजारा गर्नेको रोजिरोटी खोसिएको छ । तर पनि सरकार मौन छ, राजनीतिक दलका नेताहरुले कुनै निकास निकालेका छैनन् । आन्दोलनकारीका मागलाई चाँडो सुनुवाइ गरिदिए सबैको हित हुने थियो ।

आन्दोलनकारीलाई पनि म के आग्रह गर्न चाहन्छु भने बन्द र हड्ताल समस्याको समाधान हैन । लोकतान्त्रिक परिपार्टीबाट अघि बढ्नुहोस् । आफ्ना माग संविधानसभामा गएर राख्नुहोस् । ढुंगामुढाले समस्या समाधान हुँदैन ।

बन्दको यस्तो विसम परिस्थितिमा सवारी सञ्चालन गर्नु हाम्रो रहर हैन, बाध्यता हो । सर्वसाधारण यात्रुहरुको हितलाई ध्यानमा राखेर हामीले सामान्य अवस्थामा मात्रै होइन, जस्तै जोखिममा पनि सेवा दिनुपर्ने हुन्छ ।

हामीले सवारी नचलाए हजारौं यात्रुहरु अलपत्र पर्छन् । हामी व्यवसायीले कमाउनका लागि मात्रै नभएर सेवा प्रदान गर्न यो क्षेत्रमा आएका हौं । एक दिन गाडी सञ्चालन नहुँदा हजारौं यात्रु र सयौं कर्मचारीको विजोग हुन्छ ।

तस्वीरः शेखर अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment