Comments Add Comment

यी हुन् नेपाल भित्रिएका कारभन्दा महंगा बाइक

नविन अर्याल
२१ भदौ, काठमाडौं । दुई पाङ्ग्रे मोटरसाइकलमा कुद्नु नेपाली समाजमा सम्पन्नता वा शानको प्रतिक छैन् । आफ्नै मोटर चढ्न नसक्नेहरु मात्र बाइक चढ्छन भन्ने आम विश्वास छ ।

तर, बजारमा यस्ता पनि बाइक छन् जो कारभन्दा पनि महंगा छन् । र, अनौठो के छ भने यी बाइकहरु वाषिर्क सयौंको संख्यामा नेपालमा बिक्री हुन्छन् । नेपालमा महंगा प्रिमियम बाइक कुदाउने समुदाय बढिरहेको छ ।

प्रिमियम बाइकका पारखी बढेसँगै विश्वका प्रख्यात ब्रान्डको ध्यान नेपालतर्फ तानिन थालेको छ । अहिले नेपाली बजारमा ४५ लाख रुपैयाँसम्मका बाइकहरु पाइन्छन् । ग्राहकले चाहेको खण्डमा ६८ लाखसम्मको बाइक उपलब्ध गराउन सकिने डुकाटीको नेपाली बिक्रेता टर्बो मोटर्स बताउँछ ।

bikes_650

गएको हप्ता इटालियन ब्रान्डको हेभी स्पोर्ट बाइक अप्रिलिया डोर्सोड्युरो नेपाली बजारमा भित्रियो । चौविस लाख रुपैयाँ पर्ने उक्त बाइक सार्वजनिक नगर्दै दुईवटा बुकिङ भयो । यही वर्ष यो बाइक १० वटा बिक्री गर्ने लक्ष्य लिइएको छ ।

विश्वकै सर्वाधिक चर्चित प्रिमियम बाइक डुकाटी नेपाली सडकमा ८५ वटा हुँइकिन्छन् । नेपालमा डुकाटीको मूल्य १८ लाखदेखि ४५ लाख रुपैयाँसम्म रहेको छ । ग्राहकले माग गरेको खण्डमा ६८ लाखसम्मको डुकाटी बाइक उपलब्ध गराउन सक्ने कम्पनीले बतायो ।

जापानीज ब्रान्ड सुजुकीको बाइकिङ र हायभुसा नेपाली सडकमा पाँचवटा हुँइकिन्छन् । अर्को जापानीज ब्रान्ड होण्डाले पनि नेपालमा महंगा बाइक बिक्री गर्दै आएको छ । सीबीआर ६०० आरआर र सीबी ११०० होण्डाका महंगो बाइक हुन् ।

यतिमात्र होइन, अहिले नेपाली बजारमा आधा दर्जन बढी ब्रान्डका महंगा बाइकहरु पाइन थालेका छन् । जुन बाइक खरिद गर्ने रकमबाट लक्जरी कार खरिद गर्न सकिन्छ ।

डुकाटी बाइकको मूल्य ४५ लाख रुपैयाँ रहेको छ । यो मूल्यमा प्रिमियम ब्रान्ड मानिने टोयोटाका उत्कृष्ट मोडलहरु नै खरिद गर्न सकिन्छ । नेपालमा सबैभन्दा सस्तो कार मारुती अल्टोको मूल्य १४ लाखको हाराहारीमा रहेको छ । यो मूल्यभन्दा माथि दुई दर्जनको हाराहारीमा स्पोर्ट बाइकहरु उपलब्ध छन् ।

MV Augasta Final 3

नेपालमा ४५ लाख रुपैयाँसम्म विभिन्न ब्रान्डका दुई दर्जनभन्दा बढी कारहरु पाइन्छन । अमेरिकन ब्रान्ड फोर्डको एसयुभी गाडी इकोस्पोर्टका सम्पूर्ण भेरीयन्ट ४५ लाख रुपैयाँसम्म खरिद गर्न सकिन्छ ।

अटोमोबाइल व्यवसायीका अनुसार नेपालमा सवारी साधनमा विश्वकै सबैभन्दा बढी कर असुलिन्छ । यही कारण नेपालमा सवारी साधन विश्वकै महंगो पर्ने उनीहरुको भनाई छ ।

यति हुँदा हुँदै पनि प्रिमियम बाइक चढ्नेहरु बढिरहेको देखिन्छ । नेपाली सडकमा अपि्रलिया, होण्डा, डुकाटी, सुजुकी, हार्लिडेभिड्सन, निञ्जा कावासाकी, एमभी अगष्टा, बेनिली, बिएमडब्लु लगायत बाइकहरु कुद्छन् ।

विश्वकै चर्चित पि्रमिय बाइक हार्लिडेभिड्सन पूर्वयुवराज पारस शाहले चलाउँदै आएका छन् । जर्मनीको चर्चित ब्रान्ड बिएमडब्लु बाइक पनि भर्खरैमात्र नेपालमा भित्रिएको छ । पर्यटन व्यवसायीको टोलीले पर्यटकलाई बाइक टुर गराउनका लागि बिएमडब्ली बाइक ल्याएका हुन् ।

सुजुकी

जापानिज ब्रान्ड सुजुकीका तीनवटा प्रिमियम मोडल नेपाली बजारमा उपलब्ध छन् । जसमध्ये दुईवटा मोडल बाइक र एउटा मोडल स्कुटर हो । सुजुकीका पाँचवटा महंगा बाइक बिक्री भएका छन् ।

सुजुकीको बाइकिङ मोडल १३०० सीसीको शक्तिशाली बाइक हो । बाइकिङको मूल्य नेपाली बजारमा ३० लाख रुपैयाँ पर्छ । यसमा १८ लिटरको ट्यांकी रहेको छ ।

Suzuki Biking Final
सुजुकी बाइकिङ

सुजुकीको नेपाली बिक्रेता दी गणेश इन्टरप्राइजेजका अनुसार यसले १० देखि १५ किलोमिटर माइलेज दिन्छ । यो बाइक २ वटा बिक्री भएको कम्पनीले अनलाइनखबरसँग बतायो ।

सुजुकीको दोस्रो मोडल हायभुसा पनि १३०० सीसीकै प्रिमियम बाइक हो । यसको मूल्य २२ लाख रुपैयाँ रहेको छ । अब यो बाइक नेपालमा आउँदा २५ देखि ३० लाखको बीचमा पुग्ने कम्पनीले बताएको छ ।

Suzuki Hayabusa Final
सुजुकी हायभुसा

हृायभुसामा १७ लिटरको ट्यांकी रहेको छ । यसले पनि १० देखि १५ लिटर माइलेज दिने कम्पनीको दाबी छ । यो बाइक तीन थान बिक्री भइसकेको छ ।

सुजुकीको एउटा प्रिमियम स्कुटर नेपालमा उपलब्ध छ । ४०० सीसीको यो स्कुटरको नेपालमा १६ लाख ५० हजार रुपैयाँ पर्छ । यसमा १३ लिटरको इन्टन ट्यांकी रहेको छ । यसले प्रतिलिटर १० देखि १५ किलोमिटरसम्म माइलेज दिने बताइएको छ ।

Suzuki Burgman Final
सुजुकी प्रिमियम स्कुटर

डुकाटी

नेपालमा उपलब्ध प्रिमियम बाइकमध्ये इटालियन डुकाटी सबैभन्दा चर्चित छ । टर्बो मोटर्सका आफ्टर सेल्स म्यानेजर सवल अर्यालका अनुसार ८५ वटा डुकाटी बाइक बिक्री भइसकेका छन् ।

अहिले नेपालमा डुकाटीका ७ वटा मोडलका डेढ दर्जन भेरियन्ट उपलब्ध छन् । जसको मूल्य १८ लाख ५० हजार रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म रहेको छ । ग्राहकले माग गरे ५४ लाख ६८ लाखको पनि डुकाटी बाइक उपलब्ध गराउन सक्ने अर्याल बताउँछन् ।

Dukati Multistrada 1200 S (MY15) Final
डुकाटी मल्टीस्ट्राडा

डुकाटीको मल्टीस्ट्राडा मोडल ४ वटा भेरियन्टमा उपलब्ध छ । जसको मूल्य ३७ लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म रहेको छ । यो १२०० सीसीको प्रिमियम बाइक हो ।

यससैगरी हाइपरमोटार्ड तीनवटा मोडलमा रहेको छ । हाइपरमोटार्डको मूल्य २७ लाख रुपैयाँ रहेको छ भने हाइपरमोटार्ड एसपीको मूल्य ३४ लाख ५० हजार र हाइपरस्ट्राडाको मूल्य २९ लाख रुपैयाँ रहेको छ । यो मोडल ८२१ सीसीको हो ।

Dukati Hypermotard SP Final
डुकाटी हाइपरमोटार्ड

डुकाटीको अर्को मोडल स्ट्रेटफाइटरको मूल्य २९ लाख ५० हजार रुपैयाँ रहेको छ । यो बाइक ८४८ सीसीको बाइक हो ।

मुनस्टार ८२१ सीसी र १२०० सीसी गरी ५ वटा मोडलमा उपलब्ध रहेको अर्यालले बताए । मुनस्टार ८२१ को मूल्य २४ लाख रहेको छ भने मुनस्टार ८२१ स्ट्राइपको मूल्य २६ लाख रुपैयाँ रहेको छ ।

मुनस्टार १२०० सीसीको ३० लाख ५० हजार, मुनस्टार १२०० एसको ३४ लाख र मुनस्टार १२०० एस स्ट्राइपको मूल्य ३६ लाख रुपैयाँ रहेको छ ।

Dukati Monster 1200 S Final
डुकाटी मुनस्टार १२०० एस

डुकाटीको सबैभन्दा सस्तो मोडल स्क्राम्बलर हो । चारवटा मोडलमा उपलब्ध यो बाइक १८ लाख ५० हजारदेखि २१ लाख ५० हजारसम्म खरिद गर्न पाइन्छ । यो मोडल ८०० सीसीको हो ।

पानीगलका ४ वटा भेरियन्ट रहेपनि अहिले नेपालमा ३ वटामात्र मोडल उपलब्ध रहेको अर्यालले बताए । यो डुकाटीको सबैभन्दा महंगो मोडल हो । यो मोडलको मूल्य ४२ लाख ५० हजारदेखि ६८ लाख रुपैयाँसम्म पर्छ ।

Dukati Panigale 1299 (MY15)
डुकाटी पानीगल

१२९९ सीसी पानीगलको मूल्य ४२ लाख ५० हजार रहेको छ भने १२९९ सीसी पानीगल एसको मूल्य ५४ लाख, पानीगल आरको मूल्य ६८ लाख, ८९९ सीसी पानीगलको मूल्य ३२ लाख रुपैयाँ रहेको छ ।

५४ लाख र ६८ लाख मूल्यको पानीगल नेपालमा उपलब्ध छैन् । ग्राहकले माग गरेको खण्डमा उपलब्ध गराउन सक्ने अर्यालले बताए ।

Dukati Diavel Carbon Final
डुकाटी डायभल

डायभल दुईवटा मोडलमा उपलब्ध छ । डायभलको मूल्य ३७ लाख रुपैयाँ रहेका छ भने डायभल कार्बन रेडको मूल्य ४२ लाख रुपैयाँ र डायभल कार्बन हृवाइटको मूल्य ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

अप्रिलिया

इटालियन ब्रान्ड अप्रिलियाले भदौ १० गते प्रिमियम बाइक डोर्सोड्युरो नेपाली बजारमा भित्रिएको छ । अप्रिलिया डोर्सोड्युरो ७५० सीसीको हेभी बाइक हो । यसको मूल्य नेपालमा २४ लाख रुपैयाँ तोकिएको छ ।

औपचारिक रुपमा बाइक सार्वजनिक नहुँदै २ वटा बुकिङ आइसकेको अप्रिलियाको नेपाली बिक्रेता जेएनजे इन्टरनेशनलले बतायो । यस वर्ष १० वटा बाइक बिक्री गर्ने लक्ष्य रहेको कम्पनीले राखेको छ ।

झट्ट हेर्दा डट बाइकजस्तो देखिए पनि यो स्पोर्टस् बाइक हो । कम्पनीका अनुसार यसले नेपाली सडकमा प्रतिलिटर १५ किलोमिटर माइलेज दिनेछ । यसमा १२ लिटरको ट्यांकी रहेको छ ।

aprilia-dorsoduro-750 Final photo

यसको सबैभन्दा उत्कृष्ट फिचरका रुपमा पावर मोड रहेको छ । स्पोर्ट, टुरिन र रेन गरी यसमा तीनवटा मोड रहेका छन् । बढी पावरमा चलाउँदा स्पोर्ट मोडमा लैजान सकिन्छ ।

कम पावरमा तेल बचाएर चलाउने हो भने टुरिन मोडमा लैजान सकिन्छ । पानी आएको बेला चिप्लो सडकमा चलाउनु परेमा रेन मोडमा लैजान सकिने कम्पनीले जनाएको छ ।

यसको टप स्पिड २४० किलोमिटर प्रतिघण्टा रहेको छ । पछाडिको सिटमुनी दुईवटा साइलेन्स पाइप राखिएको छ । जसले बाइकलाई थप अकर्षक देखाउन मद्दत गरेको छ ।

कम्पनीले प्रिमियम बाइकका पारखीलाई लक्षित गर्दै एप्रिलिया डोर्सोड्युरो १२०० सीसीमा समेत भित्राउन लागेको छ । यसको मूल्य नेपाली बजारमा ४० लाखको हाराहारीमा पर्ने अनुमान गरिएको छ ।

एमभी अगष्टा

नेपालमा पाइने अर्को प्रिमियम बाइक एमभी अगष्टा हो । इटालियन ब्रान्डको एमभी अगष्टाको नेपालमा विभिन्न ५ मोडलमा उपलब्ध छ । नेपाल भित्रिएको १० महिनाका अवधिमा करिव १० थान एमभी अगष्टा बिक्री भइसकेको गियर भेञ्चर बाइक नेपालले जनाएको छ ।

MV Augasta F3 Final
एमभी अगष्टा एफ ३

एमभी अगष्टा एफ ३ मोडल ६७५ सीसी र ८०० सीसी इञ्जिन क्षमतामा उपलब्ध छ । ६७५ सीसीको एफ ३ को मूल्य २९ लाख ७५ हजार रुपैयाँ रहेको छ भने ८०० सीसीको एफ ३ को मूल्य ३२ लाख रुपैयाँ रहेको छ ।

अहिलेसम्म यो बाइक क्रमशः २ र १ थान बिक्री भइसकेको कम्पनीले जनाएको छ । यसमा १६.५ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ ।

MV BRUTALE grigia su bianco. 015
एमभी अगष्टा ब्रुटाले

एमभी अगष्टाको अर्को मोडल हो ब्रुटाले । ६७५ सीसीको यो बाइकको मूल्य २५ लाख ४५ हजार रुपैयाँ रहेको छ । यो बाइक २ थान बिक्री भइसकेको छ ।

यस्तै ब्रुटाले ड्रयागस्टारको मूल्य ३० लाख रुपैयाँ रहेको छ । यो बाइक ८०० सीसी इञ्जिन क्षमतामा उपलब्ध छ । कम्पनीका अनुसार यो मोडल पनि नेपालमा २ वटा बिक्री भइसकेको छ ।

MV Augasta Dragstar rr
ब्रुटाले ड्रयागस्टार

एमभी अगष्टा रिभाले पनि ८०० सीसीको बाइक हो । यसको मूल्य ३२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

MV Augasta Rivale 800
एमभी अगष्टा रिभाले

एमभी अगष्टाको नेपालमा उपलब्ध सबैभन्दा महंगो मोडल एफ ४ हो । यो १००० सीसी इञ्जिन क्षमतामा उपलब्ध छ । यसको मूल्य ४२ लाख रुपैयाँ रहेको छ । महंगो भएपनि यो बाइक एउटा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

mv-agusta f4 Final
एमभी अगष्टा एफ ४

होण्डा

चर्चित जापानीज ब्रान्ड होन्डाका २ वटा प्रिमियम बाइक नेपाली बजारमा उपलब्ध छन् । होन्डा सीबीआर ६०० आरआरको मूल्य २२ लाख रुपैयाँ रहेको छ भने सीबी ११०० मोडलको मूल्य २५ लाख रुपैयाँ रहेको छ ।

honda-cbr600rr Final
होन्डा सीबीआर ६०० आरआर

बेनिली

इटालियन ब्रान्डको प्रिमियम बाइक बेनिली नाडा अटो शोमा सार्वजनिक गर्दै नेपाल भित्राउने तयारी भइरहेको छ । अटो शोमा सार्वजनिक हुन लागेको बेनिली टिएनटी ३०० सस्तो मोडल हो । कम्पनीले छिट्टै महंगो बाइक पनि सार्वजनिक गर्ने जनाएको छ ।

Benelli 600 i Final
बेनिली ६०० आई

बेनिलीका दुईवटा महंगा बाइक नेपालमा उपलब्ध हुनेछन् । बेनिली ६०० आई र बेनिली ६०० जीटी नेपालमा सार्वजनिक गर्न लागिएको हो ।

नेपालमा बेनिली ६०० आईको मूलय १५ लाख ५० हजार रुपैयाँ र बेनिली ६०० जीटीको मूल्य १६ लाख ५० हजार रुपैयाँ पर्ने बताइएको छ । अहिले बेनिलीको काठमाडौंमा शो-रुम बनाउने काम भइरहेको छ ।

benelli 600 gt Final
बेनिली ६०० जीटी

बिएमडब्लु

जर्मनी ब्रान्ड बिएमडब्लु बाइक हालैमात्र नेपाली बजारमा भित्रिएको हो । अभिनव सिंह राणा र सुमन पाण्डेसहितको टोलीले बिएमडब्लुका २ वटा स्पोर्टी मोडल भित्राएका हुन् ।

नेपालमा साहसिक बाइकिङ सञ्चालनका लागि यो बाइक भित्राएको पर्यटन व्यवसायी सुमन पाण्डेले बताए । बिएमडब्लु नेपाल भित्रिँदा १८ लाख रुपैयाँ परेको थियो । अब नयाँ आउँदा २२ लाखको हारहारीमा पर्न सक्ने पाण्डेले बताए ।

BMW-G650GS-Sertao Final

सुरुमा २ वटामात्र बिएमडब्लु बाइक भित्राइएकोमा विस्तारै थप बाइक भित्राएर व्यवसायीक बाइकिङ सुरु गर्ने योजना रहेको छ ।

हार्ली डेभिडसन

हार्ली डेभिडसन बाइक नेपालमा किनबेच नभएपनि पूर्वयुवराज पारस शाहले चलाउँदै आएका छन् । यो बाइकको मूल्य नेपालमा ५० लाख रुपैयाँभन्दा बढी पर्छ । अहिलेसम्म यो बाइक चलाउने व्यक्ति पारस शाहमात्र हुन् ।

Harley_Davidson Final

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment