Comments Add Comment

नेपाली स्कुटर बजारमा भित्रियो ‘यामाहा फेसिनो’

काठमाडौं । नेपाली स्कुटर बजारमा ‘यामाहा फेसिनो’ प्रवेश गरेको छ । यामाहाको नेपाली बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबार राजधानीमा फेसिनो स्कुटर सार्वजनिक गर्‍यो ।

यामाहा स्कुटरमध्ये फेसिनो निकै फरक र आकर्षक डिजाइनमा रहेको छ । यामाहा फेसिनो पावरफुल हुनुका साथै डिजाइन निकै आधुनिक भएको कम्पनीको दाबी छ । फेसिनो ११३ सीसी इञ्जिन क्षमता भएको स्कुटर हो ।

Yamaha Fascino Scooter

फेसिनो स्कुटरमा यामाहाको ‘ब्लु कोर’ प्रविधि प्रयोग गरिएको छ । ‘ब्लु कोर’ प्रविधि अपनाइएकै कारण फेसिनोले उच्च माइलेज र पीकअप दिन्छ । स्कुटरले प्रतिलिटर ६६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

इञ्जिनमा निकल स्पार्क प्लग र बीए २४ कार्बोरेटर प्रयोग गरिएको छ । यसले स्कुटरको गतिलाई उत्कृष्ट बनाउन सहयोग गर्छ । स्कुटरमा ५.२ लिटर इन्धन अटाउने ट्यांकी रहेको छ ।

फेसिनोमा आकर्षक हेडलाइट, मिटर र क्रोम साइड मिरर राखिएको छ । यसमा लामो सिट भएको हुँदा २ जनाले सजिलै आरामदायी यात्रा गर्न सक्छन् । सिटमुनी २१ लिटर क्षमताको स्टोरेज रहेको छ ।

नयाँ खालको सिट डिजाइन भएकाले लेग स्ट्याण्डमा खुट्टा राख्न निकै सहज हुनेछ । अन्य मोडलको तुलनामा यामाहा फेसिनो सुपर मोडल स्कुटर भएको कम्पनीले दाबी गरेको छ ।

फेसिनो विभिन्न पाँच आकर्षक कलरमा उपलब्ध छ । रङले स्कुटरलाई निकै आकर्षक समेत बनाएको छ । उत्कृष्ट डिजाइन र माइलेजका कारण फेसिनोले नेपालीको विश्वास जित्ने कम्पनीको विश्वास छ । यसअघि बजारमा आएका यामाहा रे, रे-जेड र अल्फाले नेपालीको विश्वास जित्न सफल भएका थिए ।

फेसिनोको नेपाली बजारमा १ लाख ८३ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको छ । फेसिनो हरेक उमेर समुहले सजिलै चलाउन सक्ने कम्पनीले बताएको । यसको तौल १०३ किलो रहेको हुँदा हुलका समेत छ ।

पछिल्लो समय नेपालमा स्कुुटरको बिक्री अत्याधिक बढेको छ । आकर्षक डिजाइनका पावरफुल स्कुटर पाइन थालेपछि बाइक छोडेर स्कुटर खरिद गर्ने ग्राहकहरु बढिरहेका छन् ।

‘१० वर्ष अगाडि स्कुटर महिलाले मात्र चढ्ने साधनका रुपमा लिइन्थ्यो, त्यतिबेला दुई पांग्रे सवारीमा स्कुटरको हिस्सा २ प्रतिशतको हाराहारीमा थियो’ एमएडब्लुका कार्यकारी निर्देशक विष्णु अग्रवालले भने- ‘अहिले स्कुटरको हिस्सा बढेर २५ प्रतिशतको हाराहारीमा पुगेको छ ।’

यामाहा स्कुटरको बिक्री नै ४० प्रतिशतले बढेको कम्पनीले बताएको छ । नयाँ स्कुटर सार्वजनिक गरेपछि यामाहाले स्कुटरको ओभरअल मार्केटमा ३० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment