Comments Add Comment

हजका नाममा फेरि सुरु भयो भागबन्डा र भ्रष्टाचार

Makka-Madina

सलमान खान

२२ भदौ, काठमाडौं । धर्म निरपेक्ष देश भए पनि नेपालले साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायलाई राज्यकै तर्फबाट केही अनुदान दिने गरेको छ । तर, पवित्र कार्यमा लाग्ने सो रकममा भ्रष्टाचार हुने र हजयात्रीको छनौटमा राजनीतिक भागवण्डासमेत हुने गरेको छ ।

रुपन्देहीको पोखरभिण्डी-८ का अब्दुल रहमानले आफ्ना बुबा-आमालाई मक्का-मदिनामा हज गर्न जाने खर्च जुटाउन जग्गा बेचे । सबै प्रक्रिया पूरा गरे । र, त्यहीअनुसार तयारी पनि गरे ।

तर, विडम्बना ! उनका बाबु-आमाको नाम हज गर्न जानेहरुको सूचीमा परेन । साउदी अरबमा रहेको पवित्र तीर्थस्थल मक्का-मदिना जानबाट बञ्चित त भइयो, नै कमाउँदै आएको जग्गासमेत साथमा नभएपछि अहिले रहमानको परिवार बिलखबन्दमा परेको छ ।

रहमानले भने, ‘न जग्गा छ, न बुबा-आमालाई हज पठाउन पाइयो । सम्पूर्ण रीतिरिवाज पूरा गरे पनि जान पाइएन ।’

अब्दुल रहमानका बुबा-आमाजस्तै रुपन्देहीमा मुस्लिम समुदायका ११२ जना हजबाट बञ्चित भएका छन् ।

रुपन्देहीलाई हजमा जान पाउने १५४ जनाको कोटा भए पनि २६६ जनाको आवेदन परेको थियो ।

Abdul-Rahaman,-Rupandehi
अब्दुल रहमान

मक्का मदिना जानबाट बञ्चित रहमानले राजनीतिक भागबण्डाका आधारमा हज जाने व्यक्तिहरु छनोट गरिएकाले आफूहरु नपरेको आरोप लगाए ।

छनोट भएकाहरुमध्ये केही सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साउदी अरब प्रस्थान गरेका छन् । बाँकी हजयात्रीहरु यही भदौ २८ गते जाने मुस्लिम वेलफेयर सोसाइटी भैरहवाका सचिव मोहम्मद अकिलले जानकारी दिए ।

हजमा राजनीतिक भागवण्डा

केन्द्रीय हज कमिटीबाट गठित कार्यसम्पादन उपसमितिले भने जनसंख्याको आधारमा गोलाप्रथाबाट हज यात्रामा जानेको नाम छनोट गरेको स्पष्ट पारेको छ । तर, मक्का मदिना जानबाट बञ्चितहरुले राजनीतिक भागबन्डा गरिएको दाबी गर्दै आएका छन् ।

‘राजनीतिक दलको सिफारिस र सोर्सफोर्सको आधारमा हज कमिटीले नाम छनोट भयो,’ नाम उल्लेख नगरिदिने आग्रहमा एक मौलानाले भने ।

तर, केन्द्रीय हज कमिटीले यो आरोप अस्वीकार गरेको छ । केन्द्रीय हज कमिटीका अध्यक्ष ताज मोहम्मद मियाले तोकिएको कोटाभन्दा धेरै व्यक्तिको आवेदन परेपछि गोलाप्रथाबाट नाम छनोट गरिएको जानकारी दिए ।

उनले कसैमाथि भेदभाव र राजनीतिक पूर्वाग्रह नराखिएको स्पष्ट पारे । ‘सोर्सफोर्स, भागबण्डा भन्ने कुरा सब बेकार हो, गोलाप्रथाबाट जो-जो छानिए, तिनीहरु जान पाए,’ उनले भने, ‘आरोप लगाउन सजिलो छ, तर काम गर्न बहुतै गाह्रो छ ।’

कसरी हुन्छ अनियमितता ?

प्रत्येक वर्ष पवित्र हजको भन्दा बढी केन्द्रीय हज कमिटीले गर्ने अनियमितताको चर्चा हुने गर्छ । नाम मात्रको टेन्डर आह्वान गरेर बढी कमिसन दिने एयरवेजसँग सम्झौता गरेर करोडौंको भ्रष्टाचार र अनियमितता गर्ने गरेको केन्द्रीय हज कमिटीमाथि आरोप लाग्दै आएको छ ।

कमिसनका लागि कमिटीले मक्कामा हज यात्रीका लागि राम्रो होटलको व्यवस्था नगर्ने र कमिसनकै लागि हज स्थानभन्दा धेरै टाढाको होटलमा बासस्थान मिलाएर हजयात्रीहरुलाई दुःख दिने गरेको हज गरेर आएका हाजीहरु बताउँछन् ।

Taj-Mohamad-Miya
ताज मोहम्मद मिया

केन्द्रीय हज कमिटीले विगतका वर्षमा यात्राका लागि संकलित रकमको विवरण पारदर्शी नगरी अनियमितता गर्ने आरोप पनि लाग्ने गरेको छ ।

हज यात्रामा उचित व्यवस्थापन नगरेको र रकम दुरुपयोग गरेको भन्दै हाजीहरुका आफन्तले ०६९ सालमा हज कमिटीका अध्यक्ष लगायतका पदाधिकारीलाई हातपातसमेत गरेका थिए । त्यस्तै ०६५ सालको केन्द्रीय हज कमिटीले हज यात्रीहरुलाई महंगो हवाई टिकट उपलब्ध गराएर अनियमितता गरेको ठहर व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गरेको थियो ।

लेखा समितिले सो प्रकरणमा गृहमन्त्री बामदेव गौतम, कमिटीका तत्कालीन अध्यक्ष ताज मोहमद मियाँ लगायत पदाधिकारी र साउदी अरेबियाका लागि तत्कालीन राजदूत हमिद मियाँ अन्सारी लगायतले अनियमितता गरेको निष्कर्ष निकालेको थियो ।

देशभरबाट १ हजार ४ सय १६ को आवेदन

इस्लाम धर्मावलम्बीहरूको जीवनमा एकपटक गर्नैपर्ने धार्मिक तीर्थयात्रामध्ये साउदी अरेबियाको मक्का मदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ ।

अरब सरकारले यसवर्ष नेपाललाई हज यात्राका लागि एक हजार कोटा दिएको छ । त्यसका लागि देशभरबाट १ हजार ४१६ जनाको आवेदन परेको थियो ।

यो वर्ष नेपाल सरकारले हज यात्राका हाजीहरूको हवाइ भाडा, होटल भाडा तथा अन्य धार्मिक कार्यका लागि केन्द्रीय हज कमिटीले प्रतिव्यक्ति १ लाख ८५ हजार रूपैयाँ अनुमानित खर्च लाग्ने आँकलन गर्दै हजका लागि आवेदन दिएका सबैलाई साउन मसान्तभित्र रकम जम्मा गर्न आग्रह गरेको थियो ।

हज यात्रामा जान नपाएका निवेदकहरुको राहदानी तथा जम्मा गरेको रकम बचेमा यथाशीघ्र फिर्ता गर्ने र यसपटक जान नपाएकाहरुलाई आगामी वर्षको हजयात्रामा पहिलो प्राथमिकतामा राखिने केन्द्रीय हज कमिटीको सचिवालयले जनाएको छ ।

मुस्लिम धर्मका पाँचवटा महत्वपूर्ण धार्मिक कार्य अनुसार इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (ब्रत), जकात (दान) मध्ये हज (तिर्थाटन) समेत एक रहेको मुस्लिम अगुवाहरुको भनाइ छ ।

हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ । मक्कामा ७ पटक परिक्रमा (तवाफ) गर्नुपर्छ, जसले एक हज (कावा) प्राप्त हुन्छ । इखुल अजाहा (बक्राईदका दिन) विशेष नमाज पढ्दै पशु जनावरको कुर्वानी दिने चलन छ । हजयात्रा गरी आउने व्यक्तिलाई हाजी भन्ने गरिन्छ ।

मुस्लिममा ‘हज’ गर्नु अत्यन्त उत्तम र पुनित कार्य मानिन्छ । हज गर्नाले स्वर्ग (जन्नत) गएसरह पूण्य प्राप्ति गर्ने, अन्जानमा भएका गल्तीबाट मुक्ति पाउने तथा भर्खरै जन्मेका शिशु जस्तै निश्च्छल र पवित्र हुने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment