+
+

वीरगञ्जदेखि रक्सौलसम्म ६० किमी कन्टेनरको लाइन

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २५ गते १९:५२

२५ भदौ, काठमाडौं । महिना दिनदेखि जारी बन्द हड्तालले मुलुकको अर्थतन्त्र धरासायी हुन थालेको निजी क्षेत्रले गुनासो गरेको छ । मधेस केन्द्रित दलहरु पहिचान झल्किने राज्य माग गर्दै हिंसात्मक आन्दोलनमा उत्रिएपछि उद्योग व्यवसायमा अर्बौंको क्षति भएको छ ।

तराई क्षेत्र महिना दिनदेखि बन्द हुँदा विदेशबाट सामान ल्याएका हजारौं कन्टेनर विभिन्न नाकाहरुमा अडि्कएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।

FNCCI

शुक्रबार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गरी अध्यक्ष मुरारकाले वीरगञ्जदेखि जोगवनीसम्मको ६० किलोमिटर सडकमा मालबाहक कन्टेनरहरु लाम लागेको गुनासो गरे । कलकत्ता सुख्खा बन्दरगाह र अन्य नाकामा पनि कन्टेनरको बिजोग अवस्था छ ।

‘एक किलोमिटर सडकमा अनुमानित १२५ कन्टेनर अटाए पनि ६० किलोमिटर सडकमा हजारौंको संख्या पुग्छ’ अध्यक्ष मुरारकाले भने- ‘महिना दिनदेखि रोकिएका कन्टेनरले तिर्नुपर्ने बिलम्ब शुल्क कल्पना भन्दा बाहिर गइसकेको छ ।’

मुरारकाका अनुसार रोकिएका कन्टेनरले विभिन्न नाममा दैनिक १० करोड रुपैयाँ बिलम्ब शुल्क तिर्नुपरेको छ । त्यसो त कन्टेनरमा रहेको कतिपय सामानहरु नष्ट हुने अवस्थामा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

उद्योग तोडफोडप्रति आक्रोश

पछिल्ला दिनमा आन्दोलनकारी उद्योग प्रतिष्ठान तोडफोड गर्न थालेपछि निजी क्षेत्रमा निरासा त्रास छाएको छ । त्यसो त उद्योगी व्यवसायीलाई आक्रमण गर्ने र धम्काउने क्रम समेत बढिरहेको पत्रकार सम्मेलनमा बताइयो ।

उद्योग प्रतिष्ठान तोडफोड गर्ने, मजदुरलाई बलजफ्ती निकाल्ने, कुट्ने, पेट्रोल बम प्रहार गर्ने, सवारी साधन तोडफोड र आगजनी गर्ने, भन्सारको सामाना छुटाउन गएका व्यवसायीलाई धम्काउने लगायतका अमानवीय गतिविधि बढिरहेकोप्रति आफुहरुको ध्यानकर्षण भएको महासंघ अध्यक्ष मुरारकाले चेतावनी दिए ।

आन्दोलनका नाममा व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने, कुटपिट गर्ने, धम्क्याउने कार्य कुनै पनि हालतमा क्षम्य नहुने महासंघको भनाई छ । महासंघले आन्दोलनको नेतृत्व गरिरहेका नेताहरुलाई संयमित, मर्यादित भएर प्रस्तुत हुन आग्रह समेत गरेको छ ।

आन्दोलन लम्बिँदै जाँदा निजी क्षेत्र धरासायी हुन थालेपछि महासंघले आन्दोलनकारी दलहरुलाई बन्द हड्ताल त्याग्न आग्रह गरेको थियो । तर, आन्दोलनरत दलहरुले बन्द हड्ताल यथावत राख्ने बताउँदै उद्योग प्रतिष्ठान तोडफोडमा उत्रिएका छन् ।

तोडफोड भएका उद्योग

आन्दोलनकारीले महासंघ अध्यक्ष मुरारकाकै भैरहवामा रहेको अर्घाखाँची सिमेन्टमा तोडफोड गरे । यसका साथै भैरहवामा रहेको गोयन्का सिमेन्ट, गोयन्का स्टील, रिलायन्स सिमेन्ट, जगदम्बा स्पिनिङ, जगदम्बा सिमेन्ट र विराटनगरको एमएम प्लाष्टिक उद्योग तोडफोड गरेको मुरारकाले जानकारी दिए ।

‘आन्दोलनकारीबाट दर्जनौं ठूला साना उद्योग व्यवसाय तोडफोड गर्ने काम भएको छ’ मुरारकाले भने- ‘यतिमात्र होइन उद्योग व्यवसायीलाई आक्रमण गर्ने, धम्क्याउने क्रम पनि तिब्र रुपमा बढिरहेको छ ।’

उद्योग धन्दा सञ्चालन गर्न नदिएपछि करोडौंको कच्चा पदार्थ नष्ट भएको महासंघले बताएको छ । आन्तरिक उत्पादन बजारमा पुर्‍याउन नसक्दा थप क्षति भएको छ । पर्यटन उद्योग ठप्प छ ।

निरन्तरको बन्दबाट उद्योग व्यवसायीले आफ्ना कर्मचारी, मजदुरलाई तलब दिन नसक्ने अवस्था सृजना भएको अध्यक्ष मुरारकाले गुनासो गरे । उनका अनुसार उद्योग व्यवसाय बन्द हुँदा सरकारलाई बुझाउने कर र बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने ऋणको किस्ता तिर्न नसक्ने अवस्था सृजना भएको छ ।

सरकारी बेवास्ता

आन्दोलनरत दलहरुको आन्दोलन नियन्त्रण बाहिर जान थालेको बताउँदै महासंघले यसतर्फ सरकार गम्भिर नभएको आरोप लगाएको छ । उद्योग व्यवसाय गर्ने वातावरण बनाइदिन सरकारसँग बारम्बार आग्रह गर्दा पनि आफुहरुको आवाज नसुनिएको अध्यक्ष मुरारकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?