Comments Add Comment

एमाओवादीलाई संविधान ‘ड्रागनको दाँत रोप्दा उपियाँ फलेजस्तै : प्रचण्ड

prachanda-in-ca

२७ भदौ, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान आफूहरुका लागि ‘ड्रागनको दाँत रोपेको तर, उपियाँ वा झिँगा फलेजस्तै भएको बताएका छन् ।

आइतबार संविधानसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमाओवादीको ठूलो त्यागकै कारण संविधानसभा संविधान घोषणा गर्ने ठाउँमा आइपुगेको बताए । मार्क्सले फ्रान्सेली क्रान्तिबारे भनेको उक्ति सम्झँदै प्रचण्डले भने- संविधानबारे अन्तिम अभिव्यक्ति दिँदा ड्रागनको दाँत रोपेको तर, फल काट्ने बेलामा उपियाँ वा झिँगाको फल काट्नुपर्ने भयो ।’

प्रचण्डले अघि भने- ‘जुन कल्पना गरिएको थिएन, नेपालको पहिचान र अधिकारसहितको नयाँ राज्यकै परिकल्पना गरेको हो । हामीले काट्न चाहेको ड्रागनको दाँत नै थियो ।’

प्रचण्डले अहिले पनि संविधानसभाबाट संविधान बन्न नदिन धेरै किसिमका षड्यन्त्र भएको बताए । नेपालका दलहरु आफ्नो प्रतिज्ञा पुरा गर्न सफल छैनन् र नेपाली जनता आफ्नो भाग्य र भविश्य आफैं निर्धारण गर्न सफल छैनन् भन्ने प्रमाणित हुने हो कि भन्ने ठूलो चिन्ता रहेको भन्दै उनले भने-‘यो हाम्रो लागि पनि अग्नि परीक्षाको क्षण हो ।’

मधेस अलग्याउने माग राष्ट्रघाती

एमाओवादी अध्यक्ष प्रचण्डले मधेसलाई स्वतन्त्र देश बनाउनुपर्छ भन्ने केही मधेस केन्दि्रत दलका नेताहरुको माग आत्मघाती एवं राष्ट्रघाती भएको बताए ।

प्रचण्डले अलग्गिने होइन, काठमाडौंमा हिस्सा खोज्न मधेसी नेताहरुलाई सुझाव दिएका छन् । प्रचण्डले भने- ‘मधेस एउटा स्वतन्त्र देशका रुपमा रहन्छ भन्ने मागले भयानक दुर्घटनामा लैजान्छ । काठमाडौंका मठ, मन्दिर, पोखरी, कला सँस्कृतिहरुसँगमा मधेसको खुन पसीना जोडिएको छ । त्यसैले काठमाडौंसँग अलग्गिने होइन, जोडिने कुरा खोज्नुपर्‍यो ।’

एमाओवादी अध्यक्ष प्रचण्डले यसो भन्दा सभासदहरुले टेबुल ठोकेर समर्थन जनाएका थिए ।

प्रचण्डले अधिकार प्राप्तिका आन्दोलनमा एमाओवादीको समर्थन रहेको तर, आफूहरु संविधान निर्माण गर्नैपर्ने अवस्थाको अफ्ठ्यारो परिस्थितिमा रहेको बताए । प्रचण्डले भने- ‘थारुहरुको आन्दोलनमा समर्थन छ । मधेसको आन्दोलनमा पनि समर्थन छ, कर्णालीको मागमा पनि हामीलाई पाउँछौं । उनीहरुका माग जायज छ भन्ने लागेको छ ।’

प्रचण्डले भने- तर, यता संविधान बनाउनुपर्छ भन्ने कांग्रेस र एमालेको सहयात्रीहरुको रुपमा हामीलाई पाउँछौं । इतिहासको यस्तो प्रसव पीडामा छ एमाओवादी ।’

थारु, मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, पिछडिएका वर्गा सबैलाई उचित अवसर, मौका पाएमात्रै अबको राष्ट्रिय एकता सम्भव हुने धारणा राखे ।

संविधानमा सबैको माग सम्वोधन नभएको र आफ्ना पार्टीका एजेण्डा पनि नसमेटिएकोमा दुःख व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment