नविन अर्याल
२८ भदौ, काठमाडौं । मंगलबारदेखि राजधानीको भृकुटिमण्डपमा सवारी साधनको कुम्भ मेला सुरु हुँदैछ । मेलामा ग्राहक कसरी आकषिर्त गर्न सकिन्छ भनेर अटो व्यवसायीहरु ‘होमवर्क’मा जुटेका छन् ।
कतिपय कम्पनीले धमाधम नयाँ गाडी तथा बाइकहरु सार्वजनिक गरिरहेका छन भने कतिपय कम्पनीले मेलामै सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छन् । केही कम्पनीले भने भूकम्पपछि सार्वजनिक गरेका मोडललाई नै प्रतिस्पर्धामा उतार्ने भएका छन् ।
यस पटकको नाडा अटो शोमा नयाँ गाडी तथा मोटरसाइकलको बहार हुने भएको छ । नयाँ वर्षमा सार्वजनिक गर्ने तयारी गरिएका कारहरु पनि अटो शोमै सार्वजनिक हुने भएका छन् । नयाँ गाडी सार्वजनिक गर्ने बेलामा भूकम्म गएपछि करिव तीन महिना अटो ब्यवसाय ठप्पप्राय भएको थियो ।
नेपालमा सवारीका ग्राहक बढ्दै गएपछि विश्वका चर्चित ब्रान्डहरु नेपालमा आकषिर्त देखिएका छन् । अहिले नेपालमा दुई दर्जन बढी ब्रान्डले प्यासेञ्जर गाडी बिक्री गर्दै आएका छन् ।
ब्रान्डको रुपमा विकास भइसकेको ‘नाडा अटो शो’मा कुन कम्पनीले कस्तो गाडी प्रर्दशनीमा राख्दैछ भनेर आमचासो देखिन थालेको छ । सर्वसाधारणको यही चासोलाई मध्यनजर गर्दै अनलाइनखबरले विभिन्न कम्पनीसँग कुरा गरी नयाँ मोडलका बारेमा जानकारी गराउने प्रयत्न गरेको छ ।
होण्डा : ज्याज
जापानीज प्रिमियम कार निर्माता होण्डाले अटो शोमा ‘ज्याज’ सार्वजनिक गर्ने भएको छ । नेपाल भित्रिएको ज्याज तेस्रो जेनेरेसन हो । १.२ लिटर पेट्रोल इञ्जिन रहेको ज्याजले १९ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।
यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । नेपालमा ज्याज विभिन्न ७ भेरियन्टमा उपलब्ध हुने भएको छ । यसको मूल्य २८ लाख ३५ हजार रुपैयाँबाट सुरु भई ३९ लाख २५ हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।
निसान : माइक्रा
अटो शोमा निसानको प्रिमियम ह्याचब्याक ‘माइक्रा’ कार प्रमुख आकर्षणका रुपमा रहने भएको छ । पि्रमियम सेगमेन्टका गाडी उत्पादनमा कहलिएको निसानको यो नै इन्ट्री लेभल अर्थात सवैभन्दा सस्तो गाडी हो । यो कार सोमबार औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।
११९८ सीसी क्षमताको माइक्राले झण्डै १८ किलोमिटर माइलेज दिने दबी गरिएको छ । माइक्रा एक्टिभको मूल्य २८ लाख ५० हजार रुपैयाँबाट सुरु हुन्छ भने माइक्राको मूल्य ३१ लाख ५० हजार रुपैयाँ पर्छ । माइक्राको सवैभन्दा बलियो पक्ष भनेको यसको बाहिरी डिजाइन र लेआउट हो । स्पोर्टी बम्परले गाडीलाई निकै आर्कषक देखाएको छ ।
टाटा : बोल्ट
भारतीय मोटर्स निर्माता टाटाको अटो शोमा नयाँ गाडीको रुपमा ‘टाटा बोल्ट’ रहने भएको छ । स्पोर्टी हृयाचब्याक बोल्ट पेट्रोल र डिजेल इञ्जिनमा उपलब्ध छ । पेट्रोल र डिजेल दुबै सेगमेन्टका ३/३ वटा भेरियन्ट रहेका छन् ।
नेपाली बजारमा पेट्रोल इञ्जिन बोल्टको मूल्य २३ लाख ९५ हजारदेखि २९ लाख २५ हजार रुपैयाँसम्म पर्छ । त्यस्तै डिजेल बोल्टको मूल्य २८ लाख ३५ हजारदेखि ३२ लाख ४५ हजारसम्म रहेको छ ।
कम्पनीका अनुसार पेट्रोल इञ्जिन बोल्टले प्रतिलिटर १७.५७ किलोमिटर र डिजेल इञ्जिन बोल्टले २२.९५ किलोमिटर माइलेज दिने छ ।
बोल्टमा ‘इको मोड’, ‘सिटी मोड’ र ‘स्पोर्ट मोड’ रहेको छ । इको मोडमा गाडी चलाउँदा इन्धन बचत हुनेछ । स्पिोर्ट मोडमा राखेर गाडी चलाउँदा इञ्जिनले उच्च पावर दिने छ । सिटी मोडमा इन्धन बचत गर्ने र पावर दिने दुबै विशेषता रहेका छन् ।
मारुती : एस क्रस
मारुती सुजुकीले अटो शोमा एसयुभी कार ‘एस क्रस’ सार्वजनिक गर्ने भएको छ । नेपालमा एसयुभी गाडीका ग्राहक बढेपछि कम्पनीले एस क्रस बिक्री गर्न लागेको हो ।
पि्रमियम सेगमेन्टमा आफ्नो कमजोर उपस्थितीलाई सुदृढ गर्न एस क्रस उपयोगी हुने मारुतीको विश्वास छ । १३ सय र १६ सय सीसीको डिजेल इञ्जिनमा उपलब्ध एस क्रस ७ वटा भेरियन्टमा उपलब्ध हुनेछ । यसले प्रतिलिटर २३ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।
महिन्द्रा : एक्सयुभी ५००
भारतीय मोटर्स निर्माता कम्पनी महिन्द्राले अटो शोमा न्यू एज एक्सयुभी ५०० प्रर्दशनी तथा बिक्रीमा राख्ने भएको छ । आकर्षक डिजाइनमा अपग्रेडेड फिचर्ससहित यो गाडी केही समय अगाडि नेपाल भित्रिएको थियो ।
नयाँ जेनेरेशनको एक्सयुभी ५०० प्रिमियम एसयुभी गाडी हो । नेपालमा यो गाडी विभिन्न ६ भेरियन्टमा उपलब्ध हुनेछ । सबैभन्दा सस्तो डब्लु४ को मूल्य ४९ लाख ५० हजार रुपैयाँ रहेको छ भने डब्लु१०एडब्लुडी (अल हृवील ड्राइभ)को मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ ।
टर्बोचार्ज २.२ लिटर डिजेल इञ्जिनयुक्त यो गाडीले प्रतिलिटर १६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । शक्तिशाली इञ्जिन भएको हुँदा ५.४ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टाको गति समात्ने बताइएको छ ।
साङयोङ : टिभोली
कोरियन मोटर कम्पनी साङयोङको कम्प्याक्ट एसयुभी गाडी ‘टिभोली’ अटो शोमा हुनेछ । टिभोली नयाँ पुस्तालाई लक्षित गरी बनाइएको कम्प्याक्ट एसयुभी कार हो ।
आकर्षक डिजाइनमा रहेको टिभोलीको मूल्य ५३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । टिभोली १६०० सीसीको पेट्रोल इञ्जिनमा उपलब्ध छ ।
कारभन्दा ठूलो र जीपभन्दा सानो मिडियम साइजको गाडी खोज्नेलाई टिभोली उपयुक्त अप्सन हुने श्रेष्ठको भनाई छ । टिभोली विभिन्न ७ कलरमा उपलब्ध छ ।
हुन्डाई : क्रेटा
कोरियन मोटर्स कम्पनी हुन्डाईको एसयुभी ‘क्रेटा’ अटो शोको मूख्य आकर्षण हुनेछ । क्रेटा पेट्रोल र डिजेल इञ्जिनमा गरी ७ वटा भेरियन्टमा उपलब्ध छ । पेट्रोलमा तीनवटा र डिजेलमा चारवटा भेरियन्ट रहेका छन् ।
नेपालमा क्रेटा पेट्रोलको मूल्य ३९ लाख ९६ हजारदेखि ४९ लाख ९६ हजार रुपैयाँसम्म र डिजेलको मूल्य ४३ लाख ९६ हजारदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म तोकिएको छ ।
डिजेल इञ्जिनमा क्रेटा अटोमेटिक गियरमा समेत उपलब्ध छ । १६०० सीसी इञ्जिन क्षमताको अटोमेटिक गियरयुक्त क्रेटाको मूल्य ५८ लाख ९६ हजार रुपैयाँ रहेको छ । क्रेटाको सबै भेरियन्टमा ६ स्पीड गियर रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ । क्रेटा विभिन्न ७ वटा कलरमा उपलब्ध हुनेछ ।
यसैगरी हुन्डाईको ‘इलाइट आई २०’ र ‘आई २० एक्टिभ’ पनि अटो शोको आकर्षणका रुपमा रहनेछन् । इलाइट आइ २० स्पोर्टी लुक्समा उपलब्ध छ । यो प्रिमियम हृयाचब्याक कार हो ।
१२ सय सीसीको कापा डुअल भीटीभीटी पेट्रोल इञ्जिन जडान गरिएको छ । सात कलरमा उपलब्ध इलाइट आइ २० को नेपालमा २७ लाख ९६ हजार रुपैयाँदेखि ३३ लाख ९६ हजार रुपैयाँसम्म पर्छ ।
आइ २० एक्टिभ पनि प्रिमियम हृयाचब्याक कार हो । आकर्षक डिजाइनमा रहेको यो कार पेट्रोल (१.२ लि.) र डिजेल (१.४ लि.) इञ्जिनमा उपलब्ध छ । पेट्रोलमा ५ स्पीड म्यानुअल गियर छ भने डिजेलमा ६ स्पीड म्यानुअल गियर छ । आइ २० एक्टिभको मूल्य ३२ लाख ५६ हजारबाट सुरु भएर ४३ लाख ५६ हजार रुपैयाँसम्म पर्छ ।
स्कोडा : यती, अक्टेभिया
स्कोडाले अटो शोमा दुईवटा गाडी सार्वजनिक गर्ने भएको छ । स्कोडाले एसयुभी सेगमेन्टको यति र पि्रमियम सेडान सेगमेन्टको अक्टेभिया सार्वजनिक गर्ने भएको हो ।
दुबै गाडी डिजेल इञ्जिनमा आउनेछन् । अक्टेभिया एम्बिसन र एलिगेन्स गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य ७१ लाख ९५ हजारबाट सुरु हुनेछ । एलिगेन्स अटो गियरमा हुनेछ भने एम्बिसन म्यानुअल गियरमा हुनेछ ।
एययुभी यतिको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ तोकिने भएको छ । नेपालमा एसयुभी गाडीका ग्राहक बढ्न थालेपछि स्कोडाले पनि एसयुभी गाडी भित्राउन लागेको हो ।
भक्सवागन : टोरेग, बिटल, सिरिक्को
जर्मनीको प्रिमियम कार निर्माता कम्पनी फक्सवागनको अटो शोलाई लक्षित गरी तीनवटा नयाँ मोडल भित्राएको छ । कम्पनीले टोरेग, बिटल र सिरिक्को आइतबार सार्वजनिक गरिसकेको छ । तीनवटै मोडल पि्रमियम सेगमेन्टका कार हुन् ।
टोरेग अपग्रेडेड भर्सन हो । यसमा आवश्यकता अनुसार ३०० मिलिमिटरसम्म उचाई बढाउन सकिने एयर सस्पेन्सन यसमा प्रयोग गरिएको छ । टोरेग रेगुलरको मूल्य एक करोड ६२ लाख रहेको छ भने एक्सक्लुसिभको एक करोड ८२ लाख रुपैयाँ रहेको छ ।
बिटल विश्वभरी सबैभन्दा लामो उत्पादन इतिहास बोकेको गाडी हो । १३९० सीसीको इञ्जिन भएको बिटलमा १४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । यसको मूल्य ७८ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
सिरोक्को स्पोर्टस् कार हो । सिरोक्को र बिलटमा एउटै इञ्जिन प्रयोग गरिएको छ । १३९० सीसीको इञ्जिन रहेको सिरोक्को ७.८ सेकेन्डमा प्रतिघण्टा १०० किलोमिटर रफ्तारको स्पिड लिन्छ । सिरोक्को मूल्य ८२ लाख ५० हजार तोकिएको छ ।
फोर्ड : फिगो असपायर
अटो शोमा फोर्डको फिगो असपायर नयाँ गाडीको रुपमा रहने भएको छ । फिगो असपायर इन्ट्री लेवल कम्प्याक्ट सेडान कार हो । यो पेट्रोल र डिजेल दुबै इञ्जिनमा उपलब्ध छ । पेट्रोल कारमा १.२ लिटर र डिजेलमा १.५ लिटरको इञ्जिन जडान गरिएको छ ।
पेट्रेल कारले प्रतिलिटर १८.२ किलोमिटर र डिजेल कारले २५.८ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । फिगो असपायर अटोमेटिक र म्यानुअल दुबै भर्सनमा उपलब्ध छ । अटोमेटिक गियर भएको फिगो असपायमार १.५ लिटरको पेट्रोल इञ्जिन छ । जसले प्रतिलिटर १७.२ किलोमिटर माइलेज दिन्छ ।
फियट : एभेञ्चुरा
अटो शोमा फियटको नयाँ मोडलका रुपमा एभेञ्चुरा रहने भएको छ । केही समय अगाडि नै नेपालमा सार्वजनिक गरिएको एभेञ्चुरा स्पोर्टी लुक्समा रहेको छ । एभेञ्चुरा एक्टिभ, डाइनामिक र इमोसन गरी तीन मोडलमा उपलब्ध छ ।
जसमध्ये एक्टिभ पेट्रोल इञ्जिनमा, डाइनामिक पेट्रोल डिजेल दुबै इञ्जिनमा र इमोसन डिजेल इञ्जिनमा छ । नेपालमा फियट एभेञ्चुराको मूल्य २९ लाख ९५ हजार, डाइनामिक पेट्रोलको ३२ लाख ९५ हजार, डाइनामिक डिजेलको ३८ लाख ९५ हजार र इमोसनको ४० लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
टोयोटा : इटिओस क्रस
टोयोटाले डिजेल भर्सनको इटिओस क्रस अटो शोमा औपचारिक रुपमा सार्वजनिक गर्ने भएको छ । यो १३६४ सीसी इञ्जिन क्षमताको कार हो । यसमा रेल डिजेल इन्जेक्सन सिष्टम रहेको छ । ५ स्पीड म्यनुअल गियरबक्स रहेको यो कारले राजमार्गमा २३.५९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4