Comments Add Comment

वार्तामा आउन थारु नेताहरुलाई प्रधानमन्त्रीको पत्र

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले थरुहट थारुवान संघर्ष समितिलाई वार्तामा आउन आहृवान गर्दै पत्र पठाएका छन् ।

प्रधानमन्त्रीको पत्र लगतै संघर्ष समितिका प्रवक्ता एवं एमाओवादी सभासद अमनलाल मोदीले बुझाएका छन् ।

देश संविधानसभाबाट संविधान निर्माण गर्ने अन्तिम चरण रहेको बताउँदै आपसी संवाद र छलफलका माध्यमबाट समस्याको समाधानका लागि वार्तामा आउन आग्रह गरिएको छ । संविधानसभाबाट नेपालको नयाँ संविधान जारी हुने अन्तिम चरणमा सरकारका तर्फबाट सबै पक्षलाई वार्ता र संवादको प्रक्रियामा आउन निरन्तर आग्रह गरिरहेको पत्रमा उल्लेख छ ।

वार्ता र संवादलाई परिणाममूलक बनाउन समितिका तर्फबाट आन्दोलनका सन्दर्भमा राखिएका सातबुँदे माग र विषयप्रति सरकार गम्भीर रहेको बताउँदै समस्याको समाधान शान्तिपूर्ण छलफलद्वारा गर्न प्रतिबद्ध रहेको पत्रमा जनाइएको छ ।

नेपालको इतिहासमा पहिलो पटक जनताका प्रतिनिधिले संविधानभाबाट संविधान बनाउने यो महत्वपूर्ण लोकतान्त्रिक अभ्यासमा देशका सबै क्षेत्र र समुदायका जनताको आकाङ्क्षाको अधिकतम सम्मान र सम्बोधन होस् भन्ने विषयमा सबैले इमान्दारीपूर्वक प्रयास गर्नुपर्ने जनाइएको छ ।

पत्रबारे थरुहट थारुवान संघर्ष समितिको सचिवालयमा छलफल भएपछि वार्तामा जाने नजाने निर्णय हुने नेता रामजनम चौधरीले बताए ।

स्रोतका अनुसार थरुहट संघर्ष समिति सरकारसँग औपचारिक रुपमै वार्तामा बस्न सकारामक छ ।

नेताहरुका अनुसार नौ सदस्यीय सचिवालय नै वार्तामा बस्ने सम्भावना छ । सचिवालयमा रामजनम चौधरी, धनिराम थारु, अमनलाल मोदी, सन्त थारु, रमेश चौधरी, रुम्किणी चौधरी, तेजुलाल चौधरी, राजकुमार लेखी, मिनराज चौधरी छन् ।

यो पनि पढ्नुस

थारु जाति विहारमा शरण लिन जाँदैनन् : राजकुमार लेखी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment