Comments Add Comment

संविधान पारित भएपछि केपी ओली, प्रचण्ड र सुवास नेम्वाङले के भने ?

३० भदौ, काठमाडौं । नेपालको संविधान -२०७२ पारित गरेको खुशियालीमा रहेका नेताहरुले संविधानसभा भित्र र बाहिर रहेका सबैलाई खुशीयाली मनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले संविधान आउँदैन कि भन्ने आशंका समाप्त भएको र नेपाली जनताले संविधान पाएको बताए ।

नेपाली जनताको २००७ सालदेखिको सपना पूरा भएको भन्दै उनले भने, “सबैको योगदानबाट आज संविधान पारित भएको छ, म सबैलाई बधाई दिन्छु र दीपावलीका लागि आह्वान गर्छु ।”

सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले यसलाई तराई मधेस र हिमाल पहाड सबै ठाउँका जनताको जीत बताउँदै अब यही संविधानमा टेकेर आफ्ना असन्तुष्टि समाधान गर्न र संविधानलाई पुष्ट बनाउँदै जान सकिने बताए । उनले यो संविधानलाई नेपालको संवैधानिक इतिहासकै अतुलनीय संविधानको संज्ञा दिए ।

एमाओवादी अध्यक्ष प्रचण्डले मधेसवादी र अन्य असन्तुष्ट दलहरुलाई वार्तामा आउन आग्रह गरे । एमाले अध्यक्ष केपी ओलीले सबैलाई खुशी मनाउन आग्रह गरे ।

एमाले बरिष्ठ नेता झलनाथ खनालले आजको दिन आफ्नो जीवनकै सबैभन्दा खुशीको क्षण भएको प्रतिक्रिया दिए ।

संविधान पारित गरेर संविधानसभाबाट बाहिरिने क्रममा सभाध्यक्ष नेम्वाङ, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डले मिडियालाई दिएको संक्षिप्त प्रतिक्रिया यस्तो थियो-

सुवासचन्द्र नेम्वाङ, सभाध्यक्ष

New constitution Pass From CA Nepal (3)

नेपाली जनताको लामो समयदेखिको चाहना र भावनाले मूर्तरुप प्राप्त गरेको छ । केही औपचारिक कुराहरु बाँकी छन् । तर, वास्तवमा आज संविधानसभाले संविधान बनाएको छ । संविधान पारित भएको छ ।

हामीले पछिल्लो समयमा भनिरहेका थियौं, भदौ मसान्तसम्म सबै अप्ठ्याराहरुलाई पार लगाउँदै संविधान बनाउँछौं, संविधानन पारित गर्छौं । भदौ मसान्तभित्र हामीले त्यो गरेर आज जनताको चाहना र भावनालाई मूर्तता प्रदान गर्‍यौं ।

यो सफलता ऐतिहासिक छ । र, संविधानसभामा रहेका, संविधानसभामा नरहेका तराई मधेसदेखि हिमालसम्मका सबै धर्म संस्कृतिका जनताको यो सफलता हो । सबैको यसमा योगदान छ । सबै जनता यसमा सहभागी छन् । त्यसैले आज जुन संविधान पारित भएको छ, यसमा तराई मधेसदेखि हिमालसम्मका सबै जनताले बनाएको यो संविधान हो । संविधानसभामा रहेका, त्यसलाई बहिस्कार गरेका, संविधानसभाभन्दा बाहिर रहेका सबै राजनीतिक दलहरुको संघर्षको यो परिणाम हो ।

त्यसैले म आजको दिनमा आग्रह गर्न चाहन्छु, तपाईहरुले बनाएको यो संविधानलाई टेकेर अब आफ्ना केही कुराहरु बाँकी छन्, असन्तुष्टिहरु रहेका छन् भने त्यसलाई यही संविधानको आधारमा उभिएर, यही संविधानको जगमा उभिएर त्यसलाई समेट्दै जाऔं । यही संविधानलाई पुष्ट बनाउँदै जाऔं । जनतालाई सबल बनाउँदै जाऔं । आजको दिनमा यही आग्रह म सबैलाई गर्न चाहन्छु । सबैलाई, जनतालाई, राजनीतिक दललाई प्रेसलाई, तपाईहरु सबैलाई आज बधाइ पनि दिन्छु, धन्यवाद पनि दिन्छु र शुभकामना पनि दिन्छु ।

नेपालको संवैधानिक इतिहासमा यो संविधान तुलनात्मक रुपमा सबैभन्दा बढी जनतामैत्री संविधान बनेको छ । सबैभन्दा बढी प्रगतिशील बनेको छ । यसलाई अर्को हिसाबले म राख्छु, नेपालको इतिहासमा पहिलोपटक जनताको व्यापक सहभागिताबाट संविधान बनेको छ । संविधानसभाबाट संविधान बनेको छ, त्यसैले यो संविधान नेपालको संवैधानिक इतिहासमा अतुलनीय छ । अब यसको आधारमा उभिएर अगाडि बढौं । मेरो सबैलाई आग्रह छ ।

केपी ओली, अध्यक्ष नेकपा एमाले

Kp-oli-At-Caआफैंले बनाउने संविधानको प्रतिक्षा लामो समयदेखि नेपाली जनताले गरेका थिए, आज प्राप्त भयो । यो प्राप्त गराउने काममा भूमिका खेलन पाएकोमा सबै माननीय सदस्यहरु खुशी हुनुहुन्छ । हामी सबै खुशी छौं, देश खुशी छ ।

एउटा संक्रमणकाल जो लामो समयदेखि थियो, त्यो मूलतः अब टुंगिएको छ । अर्को कुरा, संविधानसभा एउटा असफल भयो, अर्को संविधानसभा के होला भन्ने मानिसहरुमा अलिकति अन्योल पनि थियो, त्यो सबै अन्योललाई चिरेर संविधान पारित भएको छ ।

नेपालजस्तो अत्यन्तै प्राकृतिक हिसाबले नै उर्बर, सुन्दर र सम्पन्न देश, जहाँ प्राकृतिक साधन स्रोतहरु अथाह छन्, त्यस्तो भएको हुनाले नेपाल गरीब भइरहन सक्दैन । जनताले खुशी मनाउनुपर्दछ, कार्यान्वयन गर्नुपर्दछ । देशमा शान्ति सुव्यवस्था अमन चयन हुनुपर्दछ ।

प्रचण्ड, अध्यक्ष एमाओवादी

आज नेपाली जनताको झण्डै ७० वर्षदेखिको सपना आज साकार भएको छ । आज जुन अत्यधिक बहुमतद्वारा संविधान पारित भएको छ, यो नेपाली जनताको विजय हो । नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानको पनि विजय हो । र, ती हजारौं शहीद र बेपत्ताहरुको सपनाको पनि विजय हो ।

यो संविधानसभाबाट संविधान बनाउने प्रक्रियामा निकै ठूलो बलिदानीपूर्ण संघर्षको नेतृत्व गरेको पार्टीको नेता हुनुको नाताले आज मैले ती तमाम शहीद, वेपत्ता योद्धा र विगत ७० वर्षदेखि ज-जसले नेपालमा जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा संविधान बनाउने सपना देखेका थिए र त्यसका निम्ति सशस्त्र, शान्तिपूर्ण सबै लडाइँ लडेका थिए, ती सबैको विजय भएको छ । नेपालको विजय भएको छ, नेपालीको विजय भएको छ ।

फाइल तस्वीर

त्यसकारण म देशभित्रका सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरु, जसले यो सपना साँचेर निकै ठूलो बसिलदानको इतिहास कोरेका थिए, उनीहरु सबैलाई र देश बाहिर भएका सबै नेपालीहरु, जसले देशमा एउटा ठूलो क्रान्तिकारी परिवर्तनसहितको सपना देखेका थिए ती सबैलाई म हार्दिक बधाइ र सुभकामना व्यक्त गर्न चाहन्छु । किनकि यो कुनै सामान्य कुरा होइन ।

यसै सन्दर्भमा म के भन्न चाहन्छु भने संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएको छ । संविधानसभा बाहिर रहनुभएका, या केही असन्तुष्टि र मागका कारण बाहिर आन्दोलनरत रहेका दलहरुलाई पनि म आजको यो ऐतिहासिक दिनमा यो प्रक्रियाको नेतृत्व गर्ने गौरब प्राप्त भएको पार्टीको अध्यक्षको हैसियतले पनि म सबैलाई फेरि पनि वार्तामा आएर सम्वादको तरिकाद्वारा यो ऐतिहासिक विजयमा आफू पनि सहभागी हुन र यो संविधानलाई फेरि परिमार्जन गर्दै अगाडि बढ्न र देशलाई अब स्थिरता, शान्ति र सम्वृद्धिको दिशामा अभियानको रुपमा अगाडि जान सबैलाई एकतावद्ध पहलको निम्ति अपील पनि गर्न चाहन्छु ।

अहिले मधेसमा या कतिपय ठाउँमा जो आन्दोलनरत शक्तिहरु छन्, उनीहरुका मागहरु सम्वादको माध्यमबाट भोलि संविधान संशोधनको माध्यमबाट सम्बोधन गर्न सकिन्छ ।

इतिहासमा कहीँ पनि संविधान बन्दा जे बन्यो, त्यो धर्मशास्त्र बन्ने होइन, त्यो गतिशील दस्तावेजै बन्ने हो । त्यसको संशोधन हामी जहाँ पनि देख्छौं, त्यसकारण यसलाई कसैको जीत र हारको रुपमा होइन, सम्पूर्ण नेपालीहरुको जीतका रुपमा ग्रहण गरौं । यही बधाइ र शुभकामना दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment