Comments Add Comment

त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम शुरू

दैनिक १० घण्टा उडान बन्द

Photo Credit : चन्द्र आले/अनलाइनखबर

२० चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) स्तरोन्नति बुधबारबाट औपचारिक रुपमा सुरू भएको छ । पूजाआजा गरेर स्तरोन्नतिको काम सुरू गरिएको हो ।

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले स्तरोन्नतीको शिलान्यास गरेका थिए । कार्यक्रममा विमानस्थलका अधिकारीहरु पनि सहभागी थिए ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको हो ।

धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने छ। स्तरोन्नतिको काम थालिएकाले दैनिक १० घण्टा उडान बन्द हुने विमानस्थलका अधिकारीको भनाइ छ । यसअघि विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको थियो ।

चिनियाँ कम्पनीलाई जिम्मा

त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किन्छ । हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वर्षायाम लागेपछि निकै बढ्छ । चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भयो । यसपटक निकै जोखिम मोलेर नै सरकारले तल्लो सतहबाटै पिच फेर्न लागेको हो ।

धावनमार्ग स्तरोन्नतिको काम चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वे को स्तरोन्नति गर्ने छ ।

नागरिक उडड्ययन प्राधिकरणअन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकाइने छ । ७० दिनमा सकाउने लक्ष्य भएपनि प्राविधिक कठिनाइ आउनसक्ने आँकलनसहित थप २० दिन समयसीमा लम्ब्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment