+
एनपीएल :

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

२०८३ कात्तिक  १० गते २०:४८ २०८३ कात्तिक १० गते २०:४८

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भयो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सले जनकपुरलाई २० ओभरको खेलमा १९ रनले हराउँदै तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।
  • कर्णालीले त्रिवि क्रिकेट मैदानमा ९ विकेट गुमाएर १३२ रन बनायो, जसमा अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए ।
  • लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भयो, र कर्णालीका युनिस ठकुरी तथा हुसेन तलतले समान ३ विकेट लिए ।

१० कात्तिक, काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भयो ।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाएपनि जित दिलाउन सकेनन् । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन बनाए । जिम्मी निशम १५, मायन यादव १४, तृतराज दास एक, अनिलकुमार शाह ११, कुशल परेवा ६ र आदित्य मेहता कुनै पनि रन नजोडी आउट भए । ललित राजवंशी एक रनमा आउट हुँदा राहुल यादव एक रनमा अविजित रहे ।

बलिङमा कर्णालीका युनिस ठकुरी र हुसेन तलतले समान ३ विकेट लिए । युनिसले ४ ओभरमा एक मेडनसहित ३ विकेट लिएका हुन् । उनले एकै ओभरमा जनकपुरका कप्तान हर्मीत र जिमीलाई आउट गर्दै खेल कर्णालीको पकडमा ल्याएका थिए । नन्दन यादवले दुई र कप्तान सोमपाल कामीले एकएक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाएका थिए । उनले २९ बलमा ४ चौका प्रहार गरे ।

कर्णालीले सुरुवातबाटै विकेट गुमाउन पुग्यो । पहिलो ओभरको अन्तिम बलमा कर्णालीका ओपनर मार्क वाट एक रन जोडेर पभेलियन फर्किए । ४ रनमा पहिलो विकेट गुमाएको कर्णालीले थप १४ रन जोड्दो दोस्रो विकेट गुमाउन पुग्यो ।

डेब्यु गरेको जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा आउट गराए । कर्णालीले ३७ रन जोड्दा तेस्रो विकेट गुमायो । हुसेन तलत ३ रन जोडेर आउट भए । त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले कर्णालीको ब्याटिङ उकास्ने प्रयास गरे । उनीहरुले चौथो विकेटका लागि ४२ रनको साझेदारी गरे । अरिफुल २९ बलमा ४३ र पवन ३७ बलमा ३७ रन बनाएर आउट भए । त्यसपछि अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झाले १२ रन बनाए । नन्दन यादव ९ रनमा आउट हुँदा युवराज खत्री र युनिश ठकुरी अविजित रहे ।

बलिङमा जनकपुरका कप्तान हर्मीत सिंहले ३ विकेट लिए । मोइन अली र राहुल यादवले दुईदुई र ललित राजवंशीले एक विकेट लिए । एनपीएलमा मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच साँझ ५ बजे हुनेछ ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय