१ असोज, काठमाडौं । जापानी पि्रमियम कार निर्माता कम्पनी होण्डाको नयाँ मोडल ‘ज्याज’ र ‘सिभिक’ अटो मेलाको आकर्षण बन्न पुगेका छन् । होण्डाले ज्याज मेलाको पहिलो दिन सार्वजनिक गरेको हो भने सिभिक तेस्रो दिन सार्वजनिक गरेको हो ।
सिभिक प्रिमियम सेडान कार हो भने ज्याज फेमिली हृयाचब्याक कार हो । १६ सय सीसी इञ्जिन क्षमताको सिभिकको मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ । ज्याज विभिन्न ६ भेरियन्टमा उपलब्ध छ । सबैभन्दा सस्तो भेरियन्टको मूल्य २८ लाख ३५ हजार रुपैयाँ रहेको छ भने महंगो भेरियन्टको मूल्य ३९ लाख २५ हजार रुपैयाँ रहेको छ ।
भिडियो
होण्डाको नेपाली बिक्रेता स्याकार ट्रेडिङ प्रालीले मेलामा पाँच मोडलका होण्डा कार प्रर्दशनीमा राखेको छ । जहाँ अवलोकनकर्ताको भिड लागेको देखिन्छ । होण्डा विश्वासिलो ब्रान्डमा पर्ने हुँदा ग्राहकको आकर्षण देखिएको हो ।
होण्डा ज्याज
नेपालमा भित्रिएको होण्डा ज्याज तेस्रो जेनेरेशनको फेमिली नयाँ हृयाचब्याक कार हो । होण्डा ज्याज विश्वभर सर्वाधिक मन पराइएको कार हो । विश्वका ७५ देशमा ५५ लाखभन्दा बढी ज्याज बिक्री भइसकेको कम्पनीले जनाएको छ । ज्याजको पहिलो जेनेरेशन सन् २००१ मा बजारमा आएको थियो ।
ज्याजले एक लिटर पेट्रोलबाट १९ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । यसमा एडभान्स इन्टेरियर डिजाइन गरिएको छ ।
टचस्क्रिन कन्ट्रोल प्यानलसहितको अटो एसी, पाँच इञ्चे डिस्प्लेसहितको एडभान्स इन्टिग्रेटेड अडियो, रियर पार्कीङ क्यामेरा लगायतका विशेषताले ज्याज सुसज्जित रहेको छ । यसको मूल्य २८ लाख ३५ हजार देखि ३९ लाख २५ हजार रुपैयाँसम्म रहेको छ ।
होण्डा सिभिक
होण्डा सिभिक प्रिमियम सेडान कार हो । १६ सय सीसी इञ्जिन क्षमता भएको यो कारले १३ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । सिभिक सेडान कार भए पनि स्पोर्टी डिजाइनमा रहेको छ ।
यसको मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ । यसमा १६ इञ्चको टायर रहेको छ, ५० लिटर इन्धन अटाउने ट्यांकी रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १५० मिलिमिटर मात्र रहेको छ ।
होण्डा सिटी
मेलमा राखिएको होण्डा सिटी यसअघि बजारमा आएको मोडल हो । १५ सय सीसीको होण्डा सिटी अटोमेटिक र म्यानुअल दुबै गियरमा उपलब्ध छ । म्यानुअल गियरमा २ वटा भेरियन्ट छन भने अटो गियरमा ३ वटा भेरियन्ट रहेका छन् ।
होण्डा सिटीको सबैभन्दा सस्तो भेरियन्टको मूल्य ३५ लाख ५० हजार रुपैयाँ रहेको छ भने सबैभन्दा महंगो भेरियन्टको मूल्य ५० लाख ४० हजार रुपैयाँ रहेको छ । यसले नेपाली सडकमा प्रतिलिटर १४ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।
होण्डा ब्रिओ
होण्डा ब्रिओ १२ सय सीसीको सानो हृयाचब्याक कार हो । यसले नेपाली सडकमा १४ किलोमिटर माइलेज दिने बताइएको छ । ब्रिओ एसएमटी र भीएक्सएटी गरी दुई भेरियन्टमा उपलब्ध छ ।
ब्रिओ एसएमटीको मूल्य २४ लाख ८५ हजार रुपैयाँ रहेको छ भने ब्रिओ भीएक्सएटीको मूल्य ३१ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
होण्डा मोबिलियो
मेलामा राखिएको होण्डा मोबिलियो सेभेन सिटर फेमिली कार हो । १५ सय सीसीको मोबिलियो नेपाली बजारमा एसएमटी र भीएमटी गरी दुई भेरियन्टमा उपलब्ध छ ।
मोबिलियो एसएमटीको मूल्य ३४ लाख ७० हजार रुपैयाँ रहेको छ भने मोबिलियो भीएमटीको मूल्य ३९ लाख ७० हजार रुपैयाँ रहेको छ । यसले प्रतिलिटर १७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
यसको ग्राउन्ड क्लियरेन्स १८९ मिलिमिटर रहेको छ । ४२ लिटरको इन्धन ट्यांकी भएको मोबिलियोको टर्निङ रेडियस ५.२ मिटर रहेको छ ।
प्रतिक्रिया 4