Comments Add Comment

धरानमा संघीय समाजवादीका कार्यकर्ता पिटिए

buddi

३ असोज, धरान । संविधान घोषणा हुने खुशीयालीमा धरान-१७ रेल्वेका स्थानीयवासी दिपावली मनाउने तयारी गरिरहेका बेला बजार बन्द गराउँदै हिँडेका संघीय समाजवादीका कार्यकर्तालाई स्थानीयले कुटपिट गरेका छन् ।

बन्दकर्ताहरू करिब ११ वटा मोटरसाइकलमा झण्डै २२ जनाको संख्यामा बिहान ११ बजे रेल्वेचौकमा बन्द गराउँदै पुगेका थिए ।

रेल्वे बुक डिपोमा बन्द गराउन खोजेपछि स्थानीयले तत्कालै ढुंगा, ईंटा, चिर्पट र फलामका रडले प्रहार गर्दा संघीय युवा संघ सुनसरीका सचिव कुमार दर्नाल, विद्यार्थी नेता सन्तोष कुरुम्बाङ, युवा नेता ताजुव लिम्बु लगायत ८ जना घाइते भएका छन् ।

बाक्लो संख्यामा प्रहरीको तत्कालै उपस्थिति भएकाले आन्दोलनकारी थप घाइते हुनबाट बचेका छन् । घाइतेमध्ये दर्नालको अवस्था गम्भीर छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

स्थानीय एमाले नेताका रूपमा परिचित सुवास राईको पुस्तक पसल रेल्वे बुक डिपोमा कार्यरत उर्मिला राईले पसल बन्द गर्न नमानी मुख छाडेको भन्दै बन्दकर्ताले सटर तानेको बताएका छन् । तर, सटर तान्नेवित्तिकै झडप हुँदा बुक डिपोको सिसा फुटेको छ ।

स्थानीय मनोज भट्टराईका अनुसार जनता स्वतःस्फूर्तरुपमा खुशीयाली मनाउने क्रममा रहेका बेला बन्दकर्ताले पुर्‍याएको अवरोधलाई पन्साउँदा सामान्य झडप भएको हो ।

उनले भने-‘मुलुकमा लामो समयपछि जनताले आफ्ना प्रतिनिधिले बनाएको संविधान आउन लाग्दा विरोध गर्नु को के अर्थ ?

यता गम्भीर घाइते भएका संघीय युवा संघका सुनसरी सचिव कुमार दर्नालले भने आफुहरूले शान्तिपूर्ण बन्द गराउँदै हिँडेका बेला संाघातिक हमला भएको बताए ।

दर्नालले भने- ‘भिड्नकै लागि हो भने हामी पनि तयारीका साथ जाने थियौं, तर, शान्तिपूर्ण रूपमा बन्दको आह्वान गर्दा एमाले, कांग्रेस र एमाओवादीका स्थानीय कार्यकर्ताले सुनियोजित घटना घटाएका हुन् । मेरो शरीरमा फलामका रड, दाउरा, ईंटा आदि प्रहार भएको छ । मेरो स्कुटीसमेत तोडफोड भएको छ । उनीहरुमाथि कारवाही हुनुपर्छ ।’

घटनाले केहीबेर त्रास उत्पन्न गराए पनि इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुदमकुमार सिजापतिले भने स्थिति सामान्य रहेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment