Comments Add Comment

प्रधानमन्त्रीलाई अमेरिका नजान कमल थापाको आग्रह

SUSHIL KOIRALA AND KAMAL THAPA

  • फाइल तस्वीर

५ असोज, काठमाडौं । बुधबारदेखि हुन लागेको प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमणलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘अनावश्यक एवं गैरजिम्मेवारपूर्ण विदेश भ्रमण’ को संज्ञा दिएका छन् ।

राप्रपा अध्यक्ष थापाले ट्वीट गर्दै भनेका छन्- ‘देश संकटमा छ, यस्तो बेलामा प्रम कोइरालाको विदेश भ्रमण अनावश्यक र गैरजिम्मेवारपूर्ण छ ।’

देश संकटमा परेका बेला विदेश भ्रमण रद्द गरी तत्काल मधेसीसँगको वार्ता थाल्नुपर्ने थापाले बताएका छन् । ‘तत्काल वार्ता गरी मधेसको आन्दोलन साम्य पार्न ध्यान दिनोस्,’ उनले भनेका छन् ।

दबावमा कोइराला

तराई मधेसमा आन्दोलन चर्किरहेको र भारतले सीमानाबाट इन्धन आपूर्ति रोक्न लागेको अवस्थामा प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका लागि बुधवार न्यूयोर्क जान लागेका छन् ।

प्रधानमन्त्री कोइराला बुधवार संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम रहेको छ । तर, कोइरालाको मुख्य दायित्व देशभित्रको समस्या समाधान गर्नुपर्ने भएकाले भ्रमण रद्द गर्न उपयुक्त हुने सुझाव विज्ञहरुले समेत दिन थालेका छन् ।

संविधान जारी भएको भोलिपल्टदेखि नै तराई मधेसमा आन्दोलन थप चर्किएको छ भने छिमेकी भारतको असन्तुष्टि असहयोगकै तहमा देखिन थालेको छ ।

यस्तो अवस्थामा आन्दोलनकारीसँग तत्काल वार्ता गरेर माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई दबाब परेको छ ।

प्रधानमन्त्री कोइरालाले सोमबार बिहानैदेखि मधेसी मोर्चाका नेताहरुको कार्यालयमै गएर छलफलमा व्यस्त भएका छन् ।

मधेस आन्दोलन र थारु आन्दोलनकारीसँग वार्ता गर्ने र वार्तापछि संविधान संशोधन मार्फत उनीहरुका मुद्दा सम्बोधन गर्नेर् काम पनि प्रधानमन्त्रीको अनुपस्थितिमा हुन सक्दैन । यसका लागि सोमबार एक दिनको समय पर्याप्त नहुने भएकाले मंगलबारको अमेरिका भ्रमण प्रधानमन्त्रीका लागि अप्ठ्यारो विषय बनेको छ ।

देश जलिरहेको अवस्थामा प्रधानमन्त्रीको अनुपस्थितिले आन्दोलनकारीसँग सहमति हुन समस्या पर्ने सूत्रहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment