Comments Add Comment

नवलपरासीमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन

Modi-ko-Putla-Dahan

११ असोज, कावासोती । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा नवलपरासीको कावासोती र बर्दघाटबासीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

कावासोतीको फलफूल चोकमा र बर्दघाटको बाढी पीडित चोकमा पुत्ला जलाइएको हो । त्यसअघि स्थानीयले भारतविरुद्ध नाराबाजी गर्दै र्‍यालीसमेत निकालेका थिए ।

र्‍यालीपछि बर्दघाटको कोणसभामा नेकपा एमालेका धिरज शर्मा, एमाओवादीका रुद्रप्रकाश उपाध्याय नेकपा-माओवादीका जिल्ला सदस्य बोल्गा नेपाल, युवा संघका केन्द्रीय सदस्य सुवास जि.सी, प्रदीप सुवेदी लगायतले भारतीय हस्तक्षेप बिरुद्ध भारतीय गीत संगीत र फिल्महरुमा प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए ।

त्यस्तै क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीले भारतीय हस्तक्षेप बिरुद्ध एकताबद्ध भएर लाग्न पत्रकार, नागरिक समाज तथा बुद्धिजिवीहरुमा आग्रह गरेको छ । महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठले प्रेस बिज्ञप्ति जारी गर्दै भारतीय हस्तक्षेपको बिरुद्ध एकताबद्ध हुन आग्रह गरे ।

विज्ञप्तिमा विज्ञप्तिमा तत्काल नेपालमा रेडियो, टिभीमा भारतीय गीत कार्यक्रम, चलचित्र प्रदर्शन नगर्न र भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउन सबैलाई अनुरोध गरिएको छ ।

नेकपा-माओवादी निकट अखिल क्रान्तिकारी नवलपरासीले भारतीय हस्तक्षेप बिरुद्ध जागरणका लागि हस्ताक्षर संकलन अभियान शुरु गरेको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष अर्जुन लुइटेलका अनुसार क्रान्तिकारीले भारतीय हस्तक्षेपका बिरुद्ध जिल्लाका क्याम्पस तथा बजारहरुका हस्ताक्षर अभियान शुरु गरिएको हो । संकलित हस्ताक्षर भारतीय दुतावासमा पठाइने उनले बताए ।

त्यस्तै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट युवा संघ नवलपरासीले पनि विज्ञप्ति जारी भारतीय हस्तक्षेपको विरोध गरेका छन् ।

रेडियोमा हिन्दी गीत बन्द

यसैबीच नवलपरासीमा रहेका रेडियो र स्थानीय टेलिभिजनहरुले भारतको हस्तक्षेपको विरुद्ध हिन्दी गीत, चलचित्र तथा कार्यक्रम प्रसारण सोमबारदेखि बन्द गरेका छन् ।

भारतीय हस्तक्षेपको विरुद्ध नवलपरासीमा चर्को विरोध हुन थालेसँगै रेडियो र टेलिभिजनमा हिन्दी गीत, हिन्दी कार्यक्रम र हिन्दी चलचित्र बन्द गरेको रेडियो सामर्थ्यका प्रबन्ध निर्देशक सागर पोख्रेलले बताए ।

नवलपरासीमा आठ वटा रेडियो र तीन वटा स्थानीय टेलिभिजन सञ्चालनमा छन् । नवलपरासीमा केबुल लाइनबाट प्रसारण हुने हिन्दी च्यानलहरु भने अझै बन्द गरिएको छैन ।

चितवनमा आइतबारदेखि नै सबै प्रकारका हिन्दी टिभि च्यानलको प्रसारण बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment