Comments Add Comment

ओलीले भने-संविधान पुनर्लेखन हुँदैन, वार्ताबाट संशोधन गर्न सकिन्छ

KP-Oli

१२ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान पुनर्लेखन हुनुपर्ने माग स्वीकार्य नहुने प्रष्ट पारेका छन् । तर, कतिपय विषय संविधान संशोधनबाट सम्बोधन गर्न सकिने आलीले बताएका छन् ।

काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने-‘केही मान्छे जनताका प्रतिनिधिहरुले लेखेको संविधान पुनर्लेखन हुनुपर्ने कुरा गर्दैछन्, यो हदभन्दा बाहिरको कुरा हो । आउनुस्, केही कुरा छन् भने वार्ता गरौं ।’

ओलीले केही मधेसवादी दलका नेता कार्यकर्ताहरु असन्तुष्ट भएको कुरालाई सारा मधेसी अशन्तुष्ट भनेर प्रचार गरिनु ठिक नभएको बताए । उनले भने-‘मधेसका दुई तिहाई प्रतिनिधिले संविधानमा हस्तक्षर गरेका छन् ।’

एमाले अध्यक्ष ओलीले मधेसवादी आन्दोलनकारीका मागहरुको बारेमा एक एक गरी जवाफ दिने प्रयास गरे ।

उनले नागरिकताको बारेमा कुनै भ्रम पाल्न जरुरी नरहेको बताए । ओलीले भने-‘मधेसीले नागरिकता नै नपाउने भनेर हल्ला चलाइएको छ । जबकी यो संविधानले सबै नेपालीलाई नागरिकता दिएको छ, बाहिरबाट आएकालाई समेत अंगीकृत नागरिकता दिने भनेको छ ।’

उनले अघि भने-‘तर, तिनीहरु राष्ट्रपति, प्रधानमन्त्री नै ताक्छन् भने यो त मधेसी जनताको लागि आपत्तिको कुरा हो । के तराईमा मुख्यमन्त्री हुनका लागि हाम्रै नेपाली छैनन् र बाहिरबाट ल्याउनुपर्ने ?’

राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीहरू
राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीहरू

अध्यक्ष ओलीले भूगोलमा एउटा जिल्लाको एउटा क्षेत्र नघट्ने गरी बाँकी जनसंख्याकै आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तयार रहेको प्रष्ट पारे । ‘डोल्पा जस्ता जिल्लाले जनप्रतिनिधि नै नपाउने अवस्था नहोस् भनेर एक जिल्ला एक प्रतिनिधि नघट्ने गरी बाँकी जनसंख्याकै आधारमा हुन्छ’-उनले भने ।

सीमांकनको विषय आयोगले टुंगो लगाउने विधीनै संवैधानिक र सर्वस्वीकार्य रहेको भन्दै उनले सीमांकन हेरफेरका लागि आयोगमार्फत छलफल गर्नसकिने बताए ।

उनले राज्यका सबै सरकारी सेवामा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता संविधानमा भए पनि त्यसलाई अपव्याख्या गरिएको गुनासो गरे ।

उपराष्ट्रपतिलाई सुझाव

उपराष्ट्रपति परमानन्द झाको पछिल्लो वक्तव्यप्रति पनि आपत्ति प्रकट गरे । झाको नाम नलिई ओलीले भने-एकजनाको विज्ञप्तिको कुरा आयो, राजनीति नगर्ने संस्थाले राजनीतिक वक्तव्यबाजी नगर्नु र मर्यादामा रहनु राम्रो हो, म ती महामहिमलाई संवैधानिक मर्यादामा बस्न आग्रह गर्छु ।’

भारतको व्यवहार आश्चर्यजनक

कार्यकर्ता भेलामा ओलीले भारतले गरेको अघोषित नाकाबन्दीको कटाक्ष गरे । उनले भने-‘भूपरिवेष्ठित मुलुकले पाउने अन्तर्राष्ट्रिय अधिकारको समेत वास्त नगरी भारतले देखाएको व्यवहारले हामी आश्चर्यमा परेका छौं, यो अवस्थालाई उसले अबिलम्ब सहज बनाउनुपर्छ ।’

राष्ट्रिय सरकार चाँडै

भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएका ओलीले कांग्रेस एमाले संयुक्त सरकारको उद्देश्य संविधान जारी गर्नु रहेको भन्दै अब त्यसको कोर्ष समाप्त भएको बताए ।

ओलीले अब राष्ट्रिय सहमतिको सरकार गठन गरि मुलुकलाई शान्ति, स्थायित्व, विकास र संविधानको कार्यन्वयनका लागि एकजुट बनाउने बताए । ओलीले भने-‘अब राष्ट्रिय सरकारले मुख्य काम भूकम्पपछिको पुनर्निर्माणमा केन्दि्रत हुनेछ ।’ सरकारको नेतृत्वको दावी भने उनले त्यहाँ गरेनन् ।

७ सय कार्यकर्ता सहभागी

बबरमहलस्थित कार्की पार्टी भेन्यूमा आयोजित एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरका करीव ७ सय अगुवा नेता कार्यकर्ता सहभागी छन् । भेलाले मधेश झर्ने योजना समेत बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment