+
+

तपाईलाई थाहा छ, मोदीजीले नेपाललाई कति प्राथमिकता दिनुहुन्छ !

प्रधानमन्त्री (मोदी) जी, तपाईलाई थाहा छ कि उहाँ नेपाललाई कति प्राथमिकता दिनुहुन्छ । र, छिमेकमा नेपाल नै एउटा यस्तो देश हो, जहाँ उहाँले केही महिनाभित्रै दुईवटा अफिसियल भ्रमण गर्नुभयो । र, जुन किसिमले यहाँ उहाँको रिसिभ गरियो, जुन उचाइमा हाम्रो सम्बन्ध छ, अहिले थोरै समस्या त आएको छ, तर म त विश्वस्त छु कि जो दुबैतर्फ गुडविल छ, उच्चस्तरबाट, ब्युरोक्रेसीमा हरक्षेत्रमा नेपालका लागि यति सदभाव छ कि तपाईले देख्नुभएको छ, जब यहाँ भूकम्प आयो, यति धेरै त्रासदी भएका बेला कुन तरिकाले भारत सरकार या भारतका जनताले लिए ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते १४:५२

Ranjit ray

रणजीत राय, भारतीय राजदूत

हाम्रा माननीय प्रधानमन्त्री (मोदी) जी, तपाईलाई थाहा छ कि उहाँ नेपाललाई कति प्राथमिकता दिनुहुन्छ । र, छिमेकमा नेपाल नै एउटा यस्तो देश हो, जहाँ उहाँले केही महिनाभित्रै दुईवटा अफिसियल भ्रमण गर्नुभयो । र, जुन किसिमले यहाँ उहाँको रिसिभ गरियो, जुन उचाइमा हाम्रो सम्बन्ध छ, अहिले थोरै समस्या त आएको छ, तर म त विश्वस्त छु कि जो दुबैतर्फ गुडविल छ, उच्चस्तरबाट, ब्युरोक्रेसीमा हरक्षेत्रमा नेपालका लागि यति सदभाव छ कि तपाईले देख्नुभएको छ, जब यहाँ भूकम्प आयो, यति धेरै त्रासदी भएका बेला कुन तरिकाले भारत सरकार या भारतका जनताले लिए ?

सीमा पारि जानेलाई रोक्न सकिँदैन

सीमाक्षेत्रमा ४०/४५ दिनदेखि डिस्टर्ब भइरहेको छ । त्यहाँ केही हिंसात्मक गतिविधिहरु भइरहेका छन् । गाडीहरु रोकिइरहेका छन् । हामीले सीमाक्षेत्रको हाम्रो पार्टबाट हामीले सूचनाहरु लिइरहेका छौं । त्यहाँको कठिनाइबारे केही सूचना हाम्रोतर्फबाट जारी स्टेटमेन्टमा पनि आइसकेको छ ।

त्यहाँ केही घटनाहरु तपाईहरुको (नेपालको) साइडबाट भएका छन् । केही सेक्युरिटी फोर्सहरु हाम्रो साइडमा पनि गएका छन् । त्यहाँको अवस्था केही जटिल छ । त्यसको प्रभाव निश्चितरुपमा परेको छ ।

हेर्नुहोस्, भारत सरकार यसमा पर्न चाहँदैन । यो तपाईहरुको देशको आन्तरिक मुद्दा हो । बोर्डर त हाम्रो खुल्ला छ । कोही नेपालबाट भारत जान्छ भने त त्यो ‘इल्लिगल’ त होइन त्यहाँ जान ।

तपाईहरु सबैलाई थाहा छ कि भारत-नेपालवीच रोटीबेटीको सम्बन्ध छ । त्यसैले यदि त्यहाँ गएर रेष्टुरेन्टमा खान्छन्, आफ्ना भाइ भतिजा, बन्धुकहाँ खान्छन् भने तिनलाई त हामीले रोक्न सक्दैनौं ।

तपाईले भन्नुभयो कि ‘नो म्यान ल्याण्ड’मा जो भारतीय सुरक्षाकर्मी छन्, उनीहरुले हस्तक्षेप गरेर त्यसलाई खाली गर्ने, यो त हाम्रो लागि, अर्थात् तपाईका सुरक्षाकर्मीले खाली गर्न पाइरहेका छैनन् । हाम्रा मानिसहरु यसमा परे र हाम्रा सुरक्षाकर्मीसँग ती आन्दोलनकारीको मुठभेड भयो भने हामीलाई लाग्छ कि त्यो उचित कुरा होइन ।

मुख्य ईस्यु जो छ, जुन समस्या छ, त्यसको समाधान गर्नुछ । तत्कालै त ठीकै हो कि तपाई सुरक्षाकर्मीले प्रहार गरेर क्लियर गराइदेऊ यस तरिकाले । तर, मुख्य इस्यु जुन छ, त्यो त राजनीतिक इस्यु हो । यसमा प्रयास भइरहेको छ । हामीमा आशा छ कि जब यो कुनै समाधान अगाडि आउनेछ, स्वतः नै जुन भारत नेपाल-सीमामा विरोध भइरहेको छ, त्यो समाप्त हुनेछ ।

तर, म फेरि यो भन्न चाहन्छु कि जहाँ-जहाँ यो हैरानी छैन, त्यहाँबाट सामान आइरहेको छ ।

भारतको सन्देश क्लियर छ

हामीले एउटा म्यासेज दिइरहेका छौं, सबै पार्टीहरुलाई, म कुनै निश्चित पार्टीलाई इंगित गर्न चाहन्न, प्रष्टरुपमा हामीले निरन्तर सन्देश दिइरहेका छौं कि वार्ता र सहमतिबाट यो समस्याको समाधान निकाल्नोस् । त्यहाँ हिंसात्मक क्रियाकलापका लागि कुनै ठाउँ छैन । शान्तिपूर्ण सहमतिको एउटै माध्यमबाट मात्रै समाधान निकाल्न सकिन्छ । हाम्रो वक्तव्यमा पनि हामीले यही भनेका छौं । त्यसैले सबै दलहरुले सम्वादको माध्यमबाट समाधान निकाल्नुपर्छ । किनभने यो राजनीतिक इस्यु हो ।

अरु तरिकाले यसको समाधान निस्कँदैन । सहमतिमा जानैपर्छ । र, म खुशी छु कि सहमतिको प्रयास सुरु हुन गइरहेको छ । म आशावादी छु कि समाधान पत्ता लाग्नेछ ।

तपाईहरुलाई त यो कुराको अनुभूति छ कि हामी दुबै देशका वीच कुन प्रकारको विश्वास र मित्रता छ । त्यसैले म त विश्वस्त छु कि जुन मुद्दाहरु छन्, त्यसको समाधान निस्कने छ । त्यही दिशामा हामी प्रयास गरिरहेका छौं ।

हामी दुबै सरकारको यो प्रयास छ कि चाँडो भन्दा चाँडो समाधान निकाल्नुपर्छ । अहिले बातचित भइरहेको छ । मलाई सूचना मिलिरहेको छ कि बातचित राम्रो भइरहेको छ । हामी त सकारात्मक छौं । हामीले अपेक्षा गरिरहेका छौं कि यो वातचितबाट कुनै हल निस्कनेछ । मलाई थाहा छ, यसमा सबै गम्भीरतापूर्वक लागिरहेका छन् । हामी पनि सबै पक्षसँग सम्पर्कमा पनि छौं । हामीले धेरै आशा लिएका छौं कि यो सही दिशामा गइरहेको छ र यसको राम्रो परिणाम निस्कनेछ ।

के कारणले यस्तो भयो ?

हामी नेपालका सारा नेताहरुलाई सम्मान गर्छौं । सबै नेताहरु भारतका मित्र हुन् । हाम्रा पनि मित्र हुन् । हामी उहाँहरुसँग हमेसा सम्पर्कमा छौं । म यो यो भन्न चाहन्न कि यो किन भयो, के कारणले भयो ? हामी भारतमा आश्वस्त थियौं कि सारा जुन मुद्दाहरु छन्, तिनको सामाधान निस्कने छ । यो हाम्रो सोच थियो र यही हाम्रो सुझाव थियो ।

तर, अब जे भयो, त्यो भयो । अझै पनि हाम्रो राय यही हो कि जो पार्टीहरु छन्, यी मुद्दामा मिलजुल गरेर अघि बढुन् । हामी खुशी छौ, परिस्थिति यतातिर अघि बढिरहेको छ ।

जहाँसम्म नेपाल भारत ‘ट्रयाक टु’ सम्बन्धको कुरा छ, इण्डिया नेपालको सम्बन्ध त युनिक सम्बन्ध हो । यहाँ त ट्रयाक २, ३, ४, ५, ६, ७, ८.. थाहा छैन, कति ट्रयाकहरु छन् । मलाई त थाहा पनि छैन कि कति धेरै सम्बन्ध छ । यसैले हामी त यति धेरै विश्वस्त छौं कि हामीवीचको सम्बन्ध यति बलियो छ ।

ठीक हो, कहिलेकाहिँ थोरै समस्या आउँछन् । थोरै कठिनाइ हुन्छ, तर हाम्रो आधारभूत सम्बन्ध यति मजबुद छ कि केही मिस अन्डस्ट्यान्डिङ भयो भने त्यसको पनि समाधान निस्कन्छ ।

हेर्नुहोस् म त धेरै आशावादी मानिस हुँ । जस्तै तपाईले भन्नुभयो कि, यहीको मितिमा हाम्रो सम्बन्ध यति कठिन अवस्थामा छ, तर म त आशावादी हुँ । र, मलाई लाग्छ कि अब यसभन्दा अगाडि राम्रो भइरहनेछ ।

मलाई लाग्छ कि दुबै देशमा सरकार, जनता र सारा हाम्रा कुटनीतिज्ञ यसैमा लागेका छन् कि जुन हाम्रो यति प्रगाढ सम्बन्ध छ, त्यसलाई उही उचाइमा फेरि लिएर जाऔं ।

म दुई दिन/चार दिन यो भन्न चाहन्न, तर यो म तपाईलाई आश्वस्त गर्छु कि सारा समस्याको समाधान निस्कन्छ, यसमा मलाई कुनै शंका छैन ।

(भारतीय राजदूत रायले बुधबार दूताबासमा आयोजित पत्रकार सम्मेलनमा व्यक्त गरेको विचारको सारसंक्षेप)

यो पनि पढ्नुस्

भारतीय भूमिबाट ढुंगामुढा गर्नेलाई केही गर्न सक्दैनौं : राजदूत राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?