१४ असोज, काठमाडौं । बजारमा फैलिएको नुन अभावको हल्ला निराधार भएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । कतिपय ठाउँमा अभाव भएको भनेर बढी मूल्य लिँदै नुन बिक्री भइरहेको प्रति ध्यानाकर्षण जनाउँदै साल्ट ट्रेडिङले त्यो कालोबजारी भएको बताएको छ ।
अनलाइनखबरसँग कुरा गर्दै साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले नेपालभर अझै ८ महिनालाई पुग्ने नुन भण्डारण रहेको जानकारी दिए । ‘केही खुद्रा ब्यापारीले नुन अभाव भएको भनेर हल्ला फैलिएका छन् । तर, नुन किन्न आए हामी जति पनि नुन दिन तयार छौं,’ भण्डारीले भने, ‘कालोबजारी गर्नेलाई अनुमगन गरेर कारबाही गर्नुपर्छ ।’
उनले साल्ट ट्रेडिङसंग अहिले १ लाख ३ हजार ५ सय टन नुन मौज्दात रहेको जानकारी दिए । ‘हामीले ब्यवसायिक डिलरहरुलाई मागे जति नुन दिइरहेका छौं,’ भण्डारीले भने, ‘डिलरहरुले नुन नदिएको भए खुद्रा ब्यापारीले हामीलाई खबर गर्नु भए हुन्छ ।’
साल्ट ट्रेडिङले मागअनुसार नुन बजारमा पठाइएको भन्दै एक-दुई दिनमै दोहोरो माग गर्ने डिलरहरु माथि कालोबजारीको आशंकामा निगरानी बढाएको बताएको छ ।
बाणिज्य विभागले भने अभावको त्रासमा एकैपटक धेरै नुन स्टक राख्न खोज्दा अभावको हल्ला फैलिएको बताएको छ ।
विभागका निर्देशक हरिनारायण बेल्बासेले भने,’नुनको अभाव हुनै सक्दैन । हल्लाको पछि कोही पनि नलाग्नुस् ।’ विभागले अभावको हल्ला फैलाउने ब्यापारीलाई अनुगमन गरी कारवाही गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया 4