Comments Add Comment

अपडेट : चन्द्रनिगाहपुरमा झडप, एक प्रहरीसहित ६ घाइते

Rautahat,-Chandranigahapur-

गौतम श्रेष्ठ

१५ असोज, गौर । रौतहटको चन्द्रनिगाहपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट संघर्ष समिति र प्रहरीबीच शुक्रबार झडप हुँदा एक प्रहरीसहित ६ जना घाइते भएका छन् ।

मोर्चा र थरुहट संघर्ष समितिको केन्द्रीय कार्यक्रमअनुसार राजमार्गमा प्रदर्शन गर्ने तयारीका साथ अगाडि बढेको जुलुसलाई प्रहरीले पूर्व-पश्चिम राजमार्गभन्दा १ किलोमिटर दक्षिण चन्द्रनिगाहपुर बजार क्षेत्रमै रोक्न खोजेपछि झडप भएको हो ।

प्रहरीले हानेको रबरको गोली लागेर बिश्रामपुर वडानम्बर ६ निबासी भाग्यनारायण महतो घाइते भएका छन् । थारु विद्यार्थी नेता शैलेन्द्र चौधरी, राजु चौधरी, जुगल चौधरी प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन् । आन्दोलनकारीको ढुंगा प्रहारबाट प्रहरी हबल्दार जहुर मिया घाइते भएका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले दुई दर्जन भन्दा बढी राउण्ड हवाई फायर गरेको थियो । ३० राउण्ड भन्दा बढी अश्रुग्यास र उती नै मात्रामा रबरका गोली पनि चलाएको थियो । गौर-चन्द्रनिगाहपुर सडकखण्डको चन्द्रनिगाहपुर बजारमा भएको झडपका कारण बजार २ घण्टासम्म तनावग्रस्त बनेको थियो ।

Rautahat-Chandranigahapur-J
थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य अधिकलाल चौधरीले शान्तिपूर्ण जुलुसमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए ।

प्रहरी नायव उपरिक्षक मनोजकुमार यादवले भने प्रहरीले संयममता अपनाएकोमा आन्दोलनकारीले एकैपल्ट प्रहरीको घेरा तोडेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गर्नु परेको बताए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, मुस्लीम गठबन्धन र थारु कल्याणकारी सभाको आह्वानमा उन्नचास दिनदेखि रौतहटमा आन्दोलन भैरहेको छ ।

थारु कल्याण्कारी सभाको आह्वानमा शुक्रबार रौतहटसहित बारा, सर्लाही, महोत्तरी र धनुषाको राजमार्गमा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment