+
+

बागलुङ बसपार्क सुनसान, गाडि थन्किए

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २१ गते १३:०२

२१ असोज, बागलुङ । चाडवाडमा घर फर्कनेको भीडले भरिभराउ हुने बागलुङ बसपार्कमा अहिले तेल नभएका गाडि थन्किएर बसेका छन् । ग्रामीण भेगमा जाने यात्रुको चाप हुने बेला बागलुङ जिप पार्कको अवस्था उस्तै छ । यात्रुहरु समयमा गन्तव्यमा पुग्न नपाउँदा अलपत्र छन् । दैनिक ३५ वटा जिप पोखरा जाने सो पार्कबाट बल्लतल्ल ८÷१० वटा मात्र जिप चल्ने गरेका छन् ।

जिप काउण्टरका कर्मचारी दुर्गा बोहोराका अनुसार एक÷दुई दिन यस्तै अवस्था रहे ग्रामीण भेगमा सबै यातायात सेवा बन्द हुने अवस्था छ । जिल्लाका मुख्य व्यापारिक केन्द्र गलकोट, बुर्तिवाङ, कुश्मिसेरालगायत अन्य क्षेत्रमा चल्ने यातायात पनि नराम्रोसँग प्रभावित बनेको छ ।

तेल अभावले जिल्ला भरको यातायात सेवा प्रभावित भएको धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष कुमार खड्काले बताए ।

“तेल भएका गाडी एकादुई चलेका छन्, बाहिरबाट आउने गाडी पनि धेरै कम छन्”–अध्यक्ष खड्काले भने, “कुनै पनि गाडी आफ्नो समय र ‘रुट’ मा चल्ने अवस्था छैन, अस्तव्यस्त छ ।” सार्वजनिक यातायात सेवानै ठप्प हुने अवस्था आएपछि व्यवसायीहरु पनि चिन्तित छन् ।

जिप व्यवसायी ओमबहादुर रानाले तेल नभएपछि गाडी थन्काएको हप्तादिन बढी भइसकेको छ । उनले गाउँघरमा पसलमा अत्यावश्यकीय सामानसमेत अभाव हुन थालेको बताए ।

जिप र बस समितिले भाडामा मनपरि हुन नदिन निगरानी बढाएको जनाएका छन् । कतिपय ठाउँमा व्यवसायीले चर्को मूल्य लिएर यात्रु बोकेको गुनासो आएपछि समितिले कडाइ गरेका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?