Comments Add Comment

ओली प्रचण्ड सम्बन्ध : ‘पागल’ घोषणादेखि अंकमालसम्म

KP-Oli-and-Prachand२३ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको सम्वन्ध निकै उचार-चढावपूर्ण छ । अहिले आपसमा राम्रो सम्बन्ध बनाएका यी दुई नेता ७/८ महिना अघिसम्म आपसमा शत्रुतापूर्ण व्यवहार गर्थे ।
विगतमा एकअर्काका कटु आलोचक बन्ने उनीहरु अहिले एकअर्काका परिपूरकजस्तै बनेका छन् । र, प्रचण्डको समर्थनमा ओली प्रधानमन्त्री बन्न लागेका छन् ।

संघीयताबारे भइरहेको बहसमा विपरीत धु्रुवमा रहेका ओली र प्रचण्डहरु विगतमा आरोप प्रत्यारोपमा समेत उत्रिए । ओलीले आफूलाई महाराजा र अरुलाई रैतीको व्यवहार देखाएको भन्दै प्रचण्डले सार्वजनिक रुपमै को हुन् ओली भन्दै कडि्कएका थिए ।

त्यसो त प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले औपचारिक निर्णय नै गरेर ओलीको मानसिक उपचार गराउनुपर्छ भन्यो । ओलीलाई ‘पागल’ घोषणा गर्ने सो अशिष्ट निर्णयबारे अहिलेसम्म प्रचण्ड मोर्चाका नेताहरुले आत्मालोचना गरेको सुनिएको छ्रैन् ।

तर, अहिले समयले १८० डिग्री फन्को मारेको छ । र, केही घण्टामा कुनै अग्राख पलाएन भने प्रचण्डको समर्थनमा आइतबार ओली देशको प्रधानमन्त्री बन्नेछन् ।

प्रचण्ड-ओलीको सम्वन्ध केलाउन खोज्नुको अर्थ एमाओवादीले ओलीलाई प्रधानमन्त्री बनाउन सघाउनु हुन्छ/हुन्न वा पर्छ/पर्दैन भन्ने होइन । कसलाई समर्थन गर्ने/नगर्ने एमाओवादीको आन्तरिक विषय हो, उसको निर्णय उसैले गर्ने हो ।
तर, कुन सर्तमा ओली र प्रचण्ड एक ठाउँमा आए ? र, यसबाट देशले निकास पाउँछ कि पाउँदैन भन्ने मुख्य प्रश्न हो यतिबेला ।

रहस्यमय गठजोड

एमाओवादी नेताहरुका अनुसार केपी ओली र प्रचण्डको सम्वन्ध अहिले निकै रहस्यमय देखिएको छ । कुनै समय ओली ‘फासिस्ट’ चरित्रको भएको भन्दै पार्टीभित्र र सार्वजनिकरुपमै उनको कडा आलोचना गर्ने प्रचण्ड अहिले केपी ओलीलाई आलोचना गर्न पर्‍यो भने निकै गाह्रो मान्छन् र उनलाई निकै ठूलो सकस हुन्छ ।

प्रचण्डले केही महिनाअघि सम्म भन्ने गरेका थिए कि परिवर्तनका एजेण्डाहरुका कांग्रेसभन्दा एमाले नेतृत्व बढी कठोर र पश्चगामी देखिने गरेको छ । तर, अहिलेको स्थिति हेर्दा प्रश्न यो उठ्छ कि परिवर्तनका एजेण्डामा एमाले रातारात कांग्रेसभन्दा अग्रगामी भयो या एमाओवादी नेतृत्वचाँहि पछाडि धकेलिएर एमालेसँगै मिल्न आइपुग्यो ?

एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीका आन्तरिक मिटिङहरुमा पनि ओलीसँगको सम्वन्धबारे प्रश्न उठ्यो भने यसबारे अहिले केही भन्दिँन भन्दै छल्ने गरेका छन् । बरु, ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको भन्दै लबिङ गर्ने गरेका छन् ।

उसो भए विपरीत ध्रुवमा रहेका प्रचण्ड र ओलीलाई केले निकट ल्यायो त ? यसका केही कारण हुन सक्छन् :

१. पार्टी एकताको कार्ड

दोस्रो संविधानसभाको चुनाव हुँदै गर्दा प्रचण्डलाई लागेको थियो कि एमाओवादी सबैभन्दा ठूलो पार्टी हुनेछ । तर, उनको गणित बिग्रियो र तेस्रो पार्टी बन्यो । जसले महत्वाकांक्षी प्रचण्डलाई ठूलो झड्का दियो ।

लामो समयसम्म प्रचण्डले हार स्वीकार गर्न सकेनन् र जति बहस गर्दा पनि उनी अन्तिममा भन्थे, चुनावमा धाँधली त भएकै हो नि ।

पार्टी भित्रभित्रै खोक्रो भएको प्रचण्डले चुनाव अघिसम्म र पछि पनि पत्तै पाएका थिएनन् ।

हारको पीडा कम हुँदै गर्दा एमाओवादीमा तीन विकल्पसहितको बहस सुरु भयो । जानकारहरुका अनुसार त्यसमा एमालेसँगको पार्टी एकता एउटा विकल्प थियो, जसलाई प्रचण्ड निकटका दोस्रो तहका नेताहरुले अघि सारेका थिए ।

यदाकदा ओलीनिकटका नेताहरुले मनमोहनलाई त अध्यक्ष मान्यौं भने प्रचण्डलाई अध्यक्ष मान्न हामीलाई केही गाह्रो छैन भन्ने गरेका छन्, र यो खबर लाजिम्पाटसम्म पुगिसकेको छ ।

तर, हालै एमाओवादी परित्याग गरेका डा. बाबुराम भट्टराईले एमालेसँगको एकताको सम्भावनालाई कहित्यै स्वीकार गरेनन् । बरु उनले एमाओवादी नै छाड्न लागेको संकेतहरु दिइरहे । र, अन्ततः बाबुरामले प्रचण्डलाई सजिलो हुने गरी पार्टी नै परित्याग गरे । यसले प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीसँग नजिक पुर्‍याउन भूमिका खेल्यो ।

यो बीचमा ओलीले विष्णु पौडेलमार्फत पार्टी एकताको कार्ड खेले । र, एक हदसम्म सफल पनि भए । एमाले सचिव पौडेलले आफ्नै मुखबाट प्रचण्डलाई भनिसकेका छन् कि पार्टी एकता भयो भने मनमोहन अधिकारीलाई जसरी तपाईलाई अध्यक्ष मान्न एमाले तयार छ ।

ओली निकटका विष्णु पौडेलले प्रचण्डलाई केही महिना पहिले नै यो प्रस्ताव राखेका छन् । तर, शुक्रबार सरकारमा समर्थनका लागि आठबुँदे सर्त लिएर बालकोट पुगेका प्रचण्डलाई ओलीले फेरि त्यही कार्ड देखाएको सूत्रहरु बताउँछन् ।

स्रोतका अनुसार प्रचण्डले सरकारलाई समर्थनका शर्तहरु प्रस्तुत गरेपछि ओलीले भनेका थिए, यसमा केही समस्या छैन । भन्नुहुन्छ भने म त आजै पार्टी एकताको घोषणा गर्न पनि तयार छु ।’

यद्यपि प्रचण्डले यो कुरा यहाँ नगर्नुस् भन्दै ओलीलाई थप केही भन्नबाट रोकेका थिए ।

तर, त्यसको असर बालुवाटारमा भएको कांग्रेस र एमाओवादी छलफलमा देखियो । जतिबेला एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार गठनको निर्णय लिएर प्रचण्डसहितको जम्बो टोली कांग्रेससँग छलफल गर्न बालुवाटार पुगेको थियो । सो छलफलमा प्रचण्डले भद्र सहमति अनुसार एमालेको नेतृत्वमा प्रमुख दलहरुको सरकार बनाउन प्रस्ताव मात्रै गरेनन्, हामी त बहुमतीय सरकारमा पनि एमालेलाई नै समर्थन गर्ने हो भनेर कांग्रेसलाई अगि्रम सूचना चुहाए ।

तर, एमाओवादीका अन्य नेताहरुले भने यसबारे पार्टीमा कुनै औपचारिक निर्णय नभएको भन्दै प्रचण्डको भनाइ सच्याउने प्रयास गरेका थिए ।

एमाओवादी अध्यक्ष प्रचण्डलाई नजिकबाट बुझेकाहरुका अनुसार अहिले केपी शर्मा ओली र प्रचण्डको सम्वन्ध मिलनको ‘क्लाइमेक्स’मा पुगेको छ । प्रचण्ड कुनै पनि मूल्यमा केपी ओलीलाई प्रधानमन्त्री बनाउन चाहन्छन् ।

KP Oli and Prachand

२. भारतलाई देखाइदिने …

एमाले अध्यक्ष ओलीलाई कुनै हालतमा प्रधानमन्त्री बनाउन लाग्नुको दोस्रो कारण हो, भारतसँगको तिक्ततापूर्ण सम्वन्ध ।

कटवाल काण्डदेखि बिग्रिएको प्रचण्ड र भारतको सम्वन्ध लामो समयदेखि राम्रो रहन सकेन । सम्वन्ध सुधारका अनेक प्रयास नभएका होइन्न । तर, त्यो कहिल्यै सफल भएन । बरु, बेला-बेला यो सम्बन्ध तिक्तताको पनि चरम उत्कर्षमा पुग्यो र अहिले पनि त्यही अवस्था छ ।

संविधान घोषणा गरेपछि भारतले असन्तुष्टि जनाइरहेका बेला प्रचण्डले सैनिक मञ्चमा उभिएर हामी ‘एस म्यान’ बन्दैनौं भन्ने घोषणा गरे ।

अहिले प्रचण्ड र उनको टीमलाई लागेको छ कि ओली प्रधानमन्त्री हुनु भनेको भारतले हार्नु हो । त्यसैले भारतलाई देखाउन पनि प्रचण्ड ओलीलाई सिंहदरबारको कमाण्ड सुम्पन आतुर देखिएका छन् ।

यसअघि एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाएपछि पनि प्रचण्डले त्यही ठानेका थिए । संसदको रोष्ट्रममै उभिएर उनले भारतले हारेको संकेत गरेका थिए । तर, उनको त्यो भ्रम धेरै दिन टिकेन । आश गरौं, योपटक त्यस्तो नहोस् ।

३. सेफ ल्याण्डिङ

एमाओवादी अध्यक्ष प्रचण्ड जसरी बोल्ड निर्णय गर्ने क्षमता राख्छन्, त्यसरी नै भावनामा पनि बग्ने गर्छन् ।

नजिकबाट चिन्नेहरुका अनुसार प्रचण्डमा अझै सशस्त्र द्वन्द्वकालको मुद्दालाई बिझाउने गरेको छ । प्रचण्डको यो सीमा वा कमजोरीलाई राम्ररी बुझेका छन्, एमाले अध्यक्ष केपी ओलीले ।

त्यसैले प्रचण्डसँग कटुतापूर्ण सम्वन्ध रहेका बेला ओली वा उनी निकटवर्तीहरुले हेगमा लैजाने कुरा गर्छन्, जसले प्रचण्डलाई निकै दबावमा राख्ने गर्छ । नजिक आएका बेला एमाले नेताहरु प्रचण्डलाई हेगमा लानबाट बचाउने कुरा गर्छन् । प्रचण्डको ‘फियर फ्याक्टर’ बुझेका एमालेकै नेताहरुले अख्तियारमा उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिराखेका छन् ।

प्रचण्ड र ओलीको सम्वन्ध सुधारमा यो विषयले पनि ठूलो भूमिका खेलेको छ । स्रोतका अनुसार केही व्यक्तिले प्रचण्डको डरको यो पक्षलाई ओलीसम्म पुर्‍याएका थिए, जुन सुनेर ओली हाँसेका थिए । ओलीले द्वन्द्वकालको मुद्दामा सहज अवतरण गराउन सघाउने वचन प्रचण्डलाई दिएका छन् ।

लडाकू शिविरको रकमलाई लिएर अरु कोही नभई एमालेका नेताहरु नै अख्तियार गएका हुन् । त्यसैले ओलीसँगको सुमधर सम्वन्धले प्रचण्डलाई यसबाट मुक्ति दिने धेरैको बुझाइ छ ।

फरक चरित्र

प्रचण्ड आफूलाई निकै चतुर नेता ठान्छन् । तर, केपी ओली प्रचण्डभन्दा चतुर खेलाडी मानिन्छन् । मनोवैज्ञानिक हिसावले चाँहि प्रचण्ड कमजोर र डराएको अवस्थामा छन् भने केपी विजयी मुद्रामा अनि निडरजस्ता देखिन्छन् । ओली निकै ‘रिजिड’ छन्, प्रचण्ड ‘डाइनामिक’ छन् ।

प्रचण्ड बेलाबखत देशमा आधुनिक जंगबहादुरको आवश्यकता रहेको भाषण गर्थे, यतिबेला ओली ‘उदार तानाशाह’ वा आधुनिक जंगबहादुर बन्ने सम्भावनाको नजिक आइपुगेको आरोप लाग्ने गरेकै बेला प्रचण्ड-ओली सहकार्यको अध्याय सुरु हुन लागेको छ ।

मुलुकमा धेरैले ‘वाम एकता’लाई मीठो शब्दका रुपमा लिने गरेका छन् । तर, राम्रो कामका लागि वाम एकता भयो भने ठीकै हो, भ्रष्टाचार र ‘डन गिरी’का लागि मात्रै वाम एकता गरियो भने त्यो घातक हुन सक्छ ।

भारतका नाममा भ्रमको खेती

ओली र प्रचण्डको एकताले भारतसँगको सम्बन्धलाई अरु बढी तन्काउँछ या मित्रतापूर्ण सम्बन्ध बनाउनेतर्फ पहल गर्छ ? यसले आगामी दिनको नेपालको भविश्य निश्चित गर्नेछ ।

किनभने, चीनले पनि भारत र नेपालको सबन्ध नबिगार्न सुझाव दिइरहेको अवस्था निकै विचारणीय छ योबेला ।

नयाँ प्रधानमन्त्रीको छनोट प्रक्रियामा सुशील र केपी ओलीवीच मतदान हुने सम्भावना देखिएको छ । तर, आफ्नै देशका दुई नेताहरुवीच हुने प्रतिस्पर्धालाई ‘नेपाल र भारतवीचको चुनाव’का रुपमा प्रचार गर्न खोजिँदैछ, प्रचण्ड स्कुलको पुरानै वालरोग हो । यो रोगले देशको हित गर्दैन । व्यवस्थापिका संसदमा हुने चुनाव नेपालीवीचको चुनाव हो र हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment