नेपालको ३८ आैं प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएपछि अहिले सामाजिक संजालमा खुशी व्यक्त भैरहेका छन् । केपीको जितलाई राष्ट्रियताको जितसँग तुलना गरिएको छ । देशले नयाँ प्रधानमन्त्री पाएसँगै विभिन्न क्षेत्र र आम नागरिकले पनि आशा गर्नु स्वभाविक नै हो । नेपाली चलचित्र क्षेत्र र चलचित्रकर्मीले पनि ओलीबाट आशा राखेका छन् । केपी ओलीको जितलाई कलाकारहरुले यसरी लिएका छन् ।
दिपकराज गिरी, हाँस्य कलाकार
राष्ट्रियताको जित, तर चुनौती धेरै
केपी ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुलाई मैले ‘राष्ट्रियताको जित’को रुपमा हेरेको छु । सवैभन्दा पहिला उहाँले भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी र मधेसमा जारी रहेको आन्दोलनलाई हल गर्न आवश्यक छ । मधेसी दलका केही माग पुरा गर्न कठिन छ । त्यसलाई उहाँले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने धेरैको चासोको बिषय बनेको छ ।
संविधान त बनेको छ, तर त्यसलाई कानुन बनाएर लागू गर्नु अर्को चुनौती हो । नेपाली कांग्रेसले पनि यसलाई हार र जितको बिषय नबनाएर, सहमतीमै अगाडि बढेको खण्डमा राम्रो हुन्छ । यो केपी ओलीको मात्र होइन, बहुसंख्यक नेपालीको मनोभावनाको जीत हो भन्ने मलाई लागेको छ ।
ओलीले अब एमालेको मात्र नेता बन्ने कि ‘राजनेता’ बन्ने भन्ने सोच्न आवश्यक छ । नेपाली चलचित्र क्षेत्र भनेको ठूलो झरी पर्यो भनेपनि दर्शक नआउने क्षेत्र हो । हरेक कुरा सुधि्रएपछि मात्र यो क्षेत्रको स्थित राम्रो हुन्छ । यसैले नयाँ प्रधानमन्त्रीले वातावरण बनाउन सहयोग गर्नुहुन्छ भन्ने आश छ ।
उहाँले म मधेस विरोधी होइन भन्नु भएको छ । खोक्रो राष्ट्रियताले मात्र केही हुनेवाला छैन, सवै समस्याको सम्बोधन भयो भने धेरै राम्रो हुन्छ । ओलीबाट चलचित्र क्षेत्रले मात्र होइन कि सिंगै देशले ठूलो आशा राखेको छ ।
सिताराम कट्टेल ‘धुर्मुस’, हाँस्य कलाकार
मलाई भन्दा कुञ्जनालाई धेरै माया गर्नुहुन्छ
सवैभन्दा पहिला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा विजयी हुनु भएकोमा वधाई दिन चाहन्छु । मुलुकले अहिले जटिल समस्या भोगिरहेको छ । नयाँ संविधान जारी भएपनि नेपालमा पुरानै सोचहरु कायम छन् । मुख्यतया उहाँले तुरुन्तै गर्नुपर्ने ३ वटा काम देख्छुः
क. तराइमा भैरहेको आन्दोलनलाई सम्बोधन गर्नुपर्यो ।
ख. नाकाबन्दी सहज गर्नुपर्ने चुनौती छ ।
ग. संविधान संसोधन गर्नुपर्यो, कार्यन्वयन पनि सबैलाई मिलाएर गर्नुपर्छ ।
यो बाहेक मैले केपी ओलीको क्यारिकेचर गर्दै आएकाले पनि उहाँसँग मेरो नजिकको सम्बन्ध छ । हुनत, मैले उहाँको क्यारिकेचर गर्ने भएकाले मात्र हाम्रो चिनजान नजिकिएको हो, मानिसहरु सितारम एमाले हो भन्छन्, तर त्यस्तो केही होइन । उहाँ कुनै चिजको प्रस्ताव लिएर गयो भने अरुलाई गर भन्ने भन्दा पनि आफै पहल गर्ने मानिस हो । सांगीतिक, कला क्षेत्रलाई खुबै माया गर्ने मानिस हो उहाँ ।
हाँसी मजाकको साथमा प्रस्तुत हुने बानी छ । मैले गाइजात्रामा उहाँको क्यारिकेचर गर्दा मलाई त्यसको एक हप्तामै घर बोलाएर खुशी व्यक्त गर्नुभयो । मेरो छोरी र परिवारको बिषयमा पनि चासो राख्नुहुन्छ । मलाई भन्दा कुञ्जनालाई बढी माया गर्नुहुन्छ ।
यो नेपालीको जीत हो भन्ने मलाई लाग्छ । सबै नागरिकले केपी ओली जित्दा जितेका छन् भन्ने मलाई लागेको छ ।
३. चेतन सापकोटा, संगीतकार
नेपाली जनताको भावना अनुसार चल्नुपर्छ
नेकपा एमालेका अध्यक्ष केपी ओली नेपालको ३८ औं प्रधानमन्त्री हुनु भएकोमा मलाई खुशी लागेको छ । उहाँले छिमेकीलाई छिमेकी कै स्थानमा राखेर आन्तरिक मामालामा हस्तक्षेप गर्न दिन हुँदैन भन्ने आश छ । मधेसमा चलिरहेको आन्दोलनलाई सम्बोधन गर्ने र जायज मागलाई पुरा गर्न आवश्यक छ । भूकम्प पीडितको पूननिर्माणमा सक्रिय भूमिका निर्वाहा गर्न आवश्यक छ ।
नेपाली जनताको विचार अनुसार चल्न जरुरी छ, न कि भारतको अनुसार अगाडि बढ्ने । चाडपर्वको मुखमा देशमा नाकाबन्दी छ । यसको उचित निकास खोजेर नेपाली जनतालाई सुखद रुपमा चाडपर्व मनाउने वातावरण बनाउन आवश्यक छ । नेपाली कांग्रेसलाई पनि सहमतीमा ल्याएर राष्ट्रिय सरकार बनाउने खुबी उहाँले राख्नुपर्छ भन्ने मलाई लाग्छ ।
यी कुरामा केपी ओली सफल हुनुहुन्छ भन्ने विश्वास लिएको छु । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि सामाजिक संजालमा नेपाली चलचित्र, सांगीतिक तथा हाँस्य क्षेत्रका कलाकारहरुले खुशी व्यक्त गरेका छन् । कलाकार विल्सन विक्रम राइले ओलीसँगको तस्बिर राख्दै खुशी व्यक्त गरेका छन् ।
उनले ओलीलाई बाटो नविराउन पनि आग्रह गरेका छन् । कलाकार निर्मल शर्माले फेसबुक मार्फत ओलीलाई वधाई दिदै देशमा देखिएको तत्कालको समस्याबाट निकास खोजी नेपालीलाई आत्मनिर्भर बनाउनुहोस् भन्दै शुभकामना दिएका छन् ।
नायक राजेश हमालले पनि केपी ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा वधाई दिएका छन् । उनले नेपालको राजनीतिलाई नयाँ शैलीमा अगाडि बढाउन ओली सफल हुनेछन् भन्दै शुभकामना दिएका हुन् ।
प्रतिक्रिया 4