Comments Add Comment

बंगलादेशले भन्योः नेपालमाथि भारतको नाकाबन्दी सार्कको भावना विपरित

Tofail-Ahmed,-Minister-of-Commerce
२ कात्तिक, काठमाडौं । नेपाल सरकारका मन्त्रीहरु ‘अघोषित नाकाबन्दी’ भन्न समेत हिच्किचाइरहेका बेला बंगलादेशका एक मन्त्रीले नेपालमाथि भारतले लगाएको नाकाबन्दी चाँडो हटाउनुपर्ने बताएका छन् ।

बंगलादेशका वाणिज्य मन्त्री टोफेल अहमदले नाकाबन्दी सार्कको भावना विपरित भएको बताए । नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रलाई क्षति पुगेको मात्र नभई समग्र सार्क क्षेत्रकै समृद्धीको सम्भाव्यतालाई आघात पुर्‍याएको उल्लेख गरे ।

भारतीय पत्रिका द हिन्दूसित कुराकानी गर्दै बंगलादेशका मन्त्री अहमदले भने-‘नेपालमाथि लक्षित नाकाबन्दी अब दुई देशबीचको द्विपक्षिय मामला मात्र होइन । यसले सार्कका सदस्य राष्ट्रहरुबीच साझा समृद्धिका योजनाहरुलाई अघात पुर्‍याउने सम्भावना छ ।’

बंगलादेशबाट टेलिफोनमा कुरा गर्दै उनले भारतले लगाएको नाकाबन्दी दक्षिण एशियाको क्षेत्रीय साझेदारीको भावनाअनुरुप नभएको बताए ।
नाकाबन्दी प्रकरणलाई बंगलादेशले नजिकबाट नियालिरहेको भए पनि कूटनीतिक कारणले अहिलेसम्म औपचारिक प्रतिक्रिया व्यक्त नगरेको उनको भनाइ छ ।

यसै वर्षको जूनमा बंगलादेश, भूटान, भारत र नेपालले बिबिआइएन ट्रान्सपोर्ट नेटवर्कको संरचना निर्माणका विषयमा सहमति भएको थियो । बिबिआइएन भनेको दक्षिण एशियामा साझा समृद्धीका लागि लक्षित महत्वपूर्ण कदम हो । यसले नेपाल भुटान, भारत र बंगलादेश बीच व्यवसायिक सवारहीसाधनको आवतजावतलाई सहजिकरण गर्ने उद्देश्य लिएको छ । बंगलादेशका मन्त्रीले भने, यो नाकाबन्दीले बिबिआइएन जस्तो सहमतिमाथि प्रहार गरेको छ ।’

मन्त्री अहमद बंगलादेशका एक प्रमुख उदारवादी राजनीतिज्ञ मानिन्छन् । धेरै वर्षदेखि सार्क क्षेत्रमा स्वतन्त्र व्यापारलाई प्रवर्द्धन गर्ने कार्यमा क्रियाशील उनको प्रतिक्रियालाई महत्वपूर्ण मानिएको छ ।

नेपाल र भारतबीचको द्विपक्षीय विवादमा आफू प्रवेश नगर्ने भन्दै उनले अहिलेको विश्वव्यापीकरण र स्वतन्त्र व्यापार सम्झौताको युगमा यस्तो नाकाबन्दीले नकारात्मक नजिक प्रस्तुत गर्ने उल्लेख गरे ।

‘नेपालसित बंगलादेशका ठूलो द्विपक्षीय व्यापारिक सम्वन्ध छैन । तर, यदि नेपालमाथि नाकाबन्दी जारी रह्यो भने बंगलादेशी ट्रक मालिकहरु, बन्दरगाह र कम्पनीहरुलाई नकारात्मक प्रभाव पर्न सक्छ’ उनले भने, हामी आशा गर्छौं यो नाकाबन्दी अस्थाई हो र चाँडै यसको समाधान खोजिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment