Comments Add Comment

चीनले नेपालका लागि एक हजार मेट्रिकटन तेल पठाउँदै

Nepal-and-Chaina-flag
७ कात्तिक, काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला चीनले नेपाललाई एकहजार मेट्रिक टन तेल उपलब्ध गराउने भएको छ । उच्च सरकारी स्रोतका अनुसार यो तेल रसुवाको केरुङ नाकाबाट केहीदिनमा नेपाल भित्रने छ ।

नेपालमा घोषणा भएको नयाँ संविधानलाई लिएर असन्तुष्ट भएको दक्षिणी छिमेकी भारतले एक महिनादेखि अघोषित नाकाबन्दी गरेर इन्धन, ग्यास लगायतका अत्यावश्यक सामग्री रोक्दै आएको छ । जसका कारण दसैं जस्तो नेपालीको महान चाडमा समेत आवागमन सहित नेपालीको जनजीवन कष्टकर बनेपछि सरकारले चीनबाट इन्धन आपूर्तिको पहल चालेको थियो ।

इन्धन आपूर्तिको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाअोवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, आपूर्तिमन्त्री गणेश पुन, नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताई र चीनका लागि नेपाली राजदुत महेश मास्के सहितको टोलीबीच पटकपटक उच्चस्तरीय छलफल भएको थियो ।

बालुवाटार निकट स्रोतका अनुसार छलफलमा चीनले सहुलियत सहयोगमा तत्काल १० हजार मेटि्रकटन तेल उपलब्ध गराउने सहमति भएको छ । स्रोतले भन्यो-‘दुई चार दिनमा नै केरुङ नाकाबाट चीनबाट तेल नेपाल भित्रने छ । ‘

व्यवसायीक रुपमा नै चीनबाट इन्धन आपूर्ति गर्न सरकारले शनिबार नै चीनलाई औपचारिक पत्र समेत पठाएको छ । इन्धन आपूर्तिमा अहिलेसम्म भारतमा निर्भर रहेको नेपालले पहिलो पटक छिमेकी चीनबाट तेल ल्याउन आटेको हो ।

स्रोतका अनुसार सरकारले चीनलाई पठाएको पत्रमा नेपालको अहिलेको राष्ट्रिय आवश्यकतालाई हेरेर पेट्रोलियम पदार्थको आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

साथै चिनियाँ आयल कर्पोरेसन र नेपाल आयल निगमबीच इन्धन आपूर्तिका लागि व्यवसायिक सम्झौताको वातावरण बनाउन पनि आग्रह गरिएको छ । स्रोतका अनुसार चिनियाँ आयल कर्पोरेसन र नेपाल आयल निगमबीच इन्धन आपूर्तिको व्यवसयीक सम्झौताको तयारी गर्न आइतबार नै नेपालबाट एक उच्चस्तरीय टोली बेइजिङ प्रस्थान गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment