कात्तिक ५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ठमेल डट कम’बाट पाएको प्रतिक्रियाले कलाकार नीतु पोख्रेल दंग छिन् । अनलाइनखबरसँग कुरा गर्दै नीतुले चलचित्रबाट आफूले निकै राम्रो प्रतिक्रिया पाएको बताइन् ।
चलचित्रको व्यापार काठमाण्डौका हलमा राम्रो रहेको वुझिएको छ । गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई राजकुमार शर्माले निर्देशन गरेका हुन् ।
चलचित्रमा नीतुसँगै नायक अनुप विक्रम शाही, नरेन खड्का र कलाकार प्रमोद अग्रहरी देखिएका छन् । नीतुकै वरिपरी घुमेको यो कथाले दर्शकलाई हलसम्म आकषिर्त गरेको छ ।
नीतु भन्छिन्-‘चलचित्रमा मैले गरेको भूमिकालाई दर्शकले रुचाउनु भएको छ । यसबाट म उत्साहित भएकी छु ।’ चलचित्रको मुख्य कमजोरी नै तपाई हो भन्छन् नी भन्ने प्रश्नमा नीतुले यो कुरामा आफू सहमत नभएको बताइन् ।
चलचित्रले आफूलाई यो स्थानमा जम्न सहयोग गरेको दाबी उनको छ । नीतुले केही समय अगाडि एक बोल्ड नेपाली चलचित्रमा काम गरेकी थिइन् । तर, यो चलचित्र प्रदर्शन हुन सकेन । नीतु अब आफूले त्यस्ता दृश्य नदिने बताउँछिन् ।
‘ठमेल डट कम’ चलेपछि पनि के अब यस्ता चलचित्र अफर आएको खण्डमा बोल्ड दृश्य दिनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्-‘यो मुख्यतया निर्देशकमा भर पर्छ । निर्देशकले कतै सस्तो तरिकाले पनि प्रस्तुत गरिदिएका हुन्छन् । कतिपय स्थानमा कलात्मक ढंगले प्रस्तुत गर्छन् । अब यस्ता दृश्य म दिन्न ।’
उनले आफूलाई चलचित्रको अफर धेरै आउन थालेको भन्दै अब उत्कृष्ट कथामा काम गर्ने दाबी गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा बर्षेनी नयाँ नयाँ अनुहार आउने गरेका छन् । ‘फ्ल्यास ब्याक, सुट, जंगबहादुरको कोर्ट’मा काम गरेकी यी कलाकारले अब छानेर राम्रा चलचित्र गर्ने र अगाडि बढ्ने बताइन् ।
प्रतिक्रिया 4