नवराज पथिक
११ कात्तिक, मन्थली । दशैँको फूलपातीको दिन मृत अवस्थामा भेटिएका रामेछापको पुरानागाउँ गाविस-५ का क्षेत्रबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको छ ।
यसअघि भीरबाट खसेर उनको मृत्यु भएको भनिएको थियो । प्रहरीले थापालाई भीरबाट खसालेर हत्या गरिएको भन्दै तीनजनालाई पक्रेको छ । हत्या आरोपमा पक्राउ परेकाहरुलाई अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला अदालत रामेछापमा पेस गरिएको छ ।
प्रहरीले थापाको हत्या आरोपमा पुरानागाउँ गाविस-६ का १८ वर्षीय राजकुमार गिरी, पुरानागाउँ-५ का १३ वर्षीय रामबाबु पुरी र १४ वर्षीय शिव पुरीलाई गिरफ्तार गरी अनुसन्धान जारी राखेको छ । उनीहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
कात्तिक १ गते घरबाट निस्किएका थापा सोही दिनबाट हराएका थिए । खोजीको क्रममा उनको कात्तिक ३ गते फूलपातीको दिन शव भेटिएको थियो ।
प्रहरीका अनुसार स्थानीय दिनेश गिरीसँग थापाको रिसिइवीको कारण हत्या भएको पक्राउ परेका युवाहरुले बताएका छन् । घटनाका मुख्य आरोपी दिनेश भने फरार छन् । आरोपीहरुले थापालाई भिरबाट लडाइसकेपछि सर्टले घाँटीमा पासो लगाएर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । उनीहरु माथि कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4