Comments Add Comment

सिधा उडान गर्न नपाउँदा अन्तर्राष्ट्रिय विमान कम्पनीको खर्च दोब्बर

Kathmandu_airport

नविन अर्याल

१९ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीका कारण हवाई इन्धन नपाउँदा अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीहरु नराम्रोसँग प्रभावित भएका छन् । इन्धन भर्नका लागि बिच बाटोमा प्राविधिक अवतरण गर्नुपर्दाे खर्च बढेर दोब्बर भएको वायुसेवा सञ्चालकहरुको भनाई छ ।

भारतले अघोषित नाकाबन्दी गरिदिँदा नेपालमा इन्धनको संकट परेको छ । नेपाल आयल निगमले इन्धन अभावको संकट टार्न अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीलाई इन्धनको जोहो आफै गर्न आग्रह गरेको छ । निगमले आन्तरिक उडानलाई मात्र इन्धन उपलब्ध गराउँदै आएको छ ।

नेपालमा इन्धन पाउन छाडेपछि अन्तर्राष्ट्रिय कम्पनीहरुले आफुलाई पायक पर्ने ठाउँमा प्राविधिक अवतरण गरी इन्धन भरेर सेवा सुचारु राखेका छन् । यसरी प्राविधिक अवतरण गर्नुपर्दा दोब्बर लागत बेहोर्नुपरेको अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक संघका सचिव सान्तनु सेनले बताए ।

नेपालमा इन्धन नपाउँदा नेपाल उडान भर्ने २८ एयरलाइन्स सबै प्रभावित भएको संघको भनाई छ । ‘प्राविधिक अवतरण गरेर भएपनि रिफिलिङ गरेर जेनतेन उडान सुचारु राखेका छौं’ संघका सचिव सेनले भने- ‘कहिलेसम्म यसरी उडान भर्नुपर्ने हो, यकिन छैन । यही अवस्था लम्बिएमा उडान सुचारु राख्न समस्या पर्ने भयो ।’

अहिले वायुसेवा कम्पनीहरुले भारतको कलकत्ता, दिल्ली, बनारस, लखनाउ, ढाका, बैंकक, भेइतनाम लगायतका ठाउँमा प्राविधिक अवतरण गरी इन्धन भर्दै उडान सुचारु राखेका छन् । कतिपय कम्पनीहरुले वाइड बडी जहाजबाट उडान भरिरहेका छन् । वाइड बडी जहाजले दुर्इतर्फी उडान भर्न पुग्ने तेल बोक्न सक्छ । तर, वाइड बडी जहाज ल्याउँदा ल्यान्डिङ, पार्किङ लगायतका चार्जहरू बढ्ने कतार एयरवेजले बतायो ।

यसो गर्दा सञ्चालन खर्च दोब्बर भएको संघको गुनासो छ । बिचमा प्राविधिक अवतरण गर्दा त्यहाँ ल्यान्डिङ चार्ज, पार्किङ, ग्राउन्ड हृयान्डलिङ, नेभिगेसन, क्याटरिङ, फ्युल, लेवर तथा क्याबिन क्रु लगायतको खर्च थपिएको वायुसेवा सञ्चालकहरुको भनाई छ ।

उडान तालिकाबीना कुनै पनि विमानस्थलमा अवतरण गर्दा त्यहाँको चार्ज बढी तिर्नुपर्छ । त्यसमाथि दअसम्बन्धीत ठाउँमा प्राविधिक अवतरण गरेर इन्धन भर्नुपर्दा समय समेत बढ्छ । तीन घण्टाको ठाउँमा पाँच घण्टा लागेमा जहाजको अन्य गन्तव्यको उडान कटौती गर्नुपर्ने हुन्छ । कतिपय एयरपोर्टमा इन्धन भर्न घण्टौं कुर्नुपर्ने बाध्यता हुन्छ ।

जहाजले फुट ट्यांकी इन्धन भरेर आउनुपर्दा २० देखि ५० प्रतिशतसम्म यात्रु कम बोक्नुपरेको वायुसेवा सञ्चालकहरुको गुनासो छ । कतार एयरको वाइड बडी जहाजमा ३०५ जना यात्रु बोक्न सकिने भएपनि फुल ट्यांकी इन्धन बोक्नुपर्दा २०५ जनामात्र बोकिरहेको बताएको छ ।

फुल ट्यांकी इन्धन बोक्दा यात्रु र ब्यागेज घटाउनुपर्छ । टिकट बुकिङ गरेका पुरै यात्रुलाई बोक्न नसक्दा उनीहरुलाई आफ्नै खर्चमा पाल्नुपरेको संघको गुनासो छ । ती यात्रु तथा ब्यागेजलाई पछि बोक्दा अतिरिक्त उडान गर्नुपर्छ ।

यात्रुको एक वर्षसम्मको टिकट बुकिङ हुने हुँदा उडान कटौती गर्न नसकिने संघको भनाई छ । ‘दोब्बर लागतमा भएपनि जसरी तसरी उडान सुचारु राख्नुपर्ने बाध्यता छ’ एक एयरलाइन्स सञ्चाकले भने- ‘यसरी उडान सुचारु राख्नुपर्दा मर्कामा परेका छौं ।’

वायुसेवा सञ्चालकहरूले जतिसक्दो चाँडो आयल निगमलाई एयर लिफ्ट गरेर भएपनि हवाई इन्धन आपूर्ति गर्न आग्रह गरेको छ । हवाई इन्धन आपूर्ति गर्न स्वीकृति पाएको पेट्रोलिम्याक्सलाई जतिसक्दो छिटो इन्धन ल्याउनका लागि पहल गर्न निगमसमक्ष वायुसेवा सञ्चालकहरूले आग्रह गरेको छ ।

ठूलो परिमाणमा इन्धन नल्याउँदासम्म अन्तर्राष्ट्रिय उडानले इन्धन पाउने अवस्था छैन् । अहिले नेपाल एयरलाइन्सले बोकेको तेल आन्तरिक उडानलाई समेत प्रयाप्त हुन सकेको छैन् ।

सार्क सम्मेलन, ट्रकिस विमान दुर्घटना, भूकम्प लगायतको संवेदनशील अवस्था समेत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ‘फेस’ गरिसकेको बताउँदै सञ्चालकहरूले अहिलेको चरम इन्धन अभावमा पनि जसरी तसरी उडान यथावत राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment