२८ कत्तिक, काठमाडौं । डेढ दिनसम्म अष्ट्रेलियाको प्रभुत्व रहेको पर्थ टेष्टमा न्यूजिल्याण्डका केन विलियम्सनले गतिलो जवाफ दिएका छन् ।
दोस्रो दिनको खेल सकिँदासम्म न्यूजिल्याण्डले २ विकेटको क्षतिमा १४० रन बनाएको छ । र, ४१९ रनले पछाडि छ ।
न्यूजिल्याण्डले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर मार्टिन गुप्टिल मात्र १ रनमा आउट भए, जतिबेला टीमको स्कोर मात्र ६ रन थियो ।
तर, केन विलिम्सनले न्यूजिल्याण्डको पारी सम्हाले । दोस्रो विकेटका लागि टम लाथमसँग ८१ रनको साझेदारी गरेका उनी ७० रनमा क्रिजमा छन् ।
उनले तेस्रो विकेटका लागि रोज टेलरसँग ५३ रनको साझेदारी गरिसकेका छन् । टेलर २६ रनमा क्रिजमा छन् ।
लयमा रहेका अष्ट्रेलियाका व्याट्सम्यान उस्मान खवाजा भने फिल्डिङका क्रममा घाइते भएका छन् । २८ वर्षीय खवाजा पहिलो पारीमा शतक बनाएका थिए, जुन उनको करियरकै दोस्रो टेष्ट शतक समेत थियो ।
यसअघि २ विकेटको क्षतिमा बनाएको ४१६ रनबाट दोस्रो दिनको खेल थालेको अष्ट्रेलियाले थप १८३ रन जोड्दै पारी समाप्तीको घोषणा गर्यो ।
२४४ रनबाट अघि खेल्न थालेका डेभिड वार्नर थप ९ रन जोड्दै आउट भए । स्टिभ स्मिथ २७, एडम भोग्स ४१ र मिचेल मार्स ३४ रनमा आउट भए भने पिटर नेभिलले १९ रन जोडे ।
प्रतिक्रिया 4