Comments Add Comment

तराई मधेसको यो पाटो कसैले देखेको छ ?

सुभाषप्रसाद साह
तराई मधेसमा जारी आन्दोलन तीन महिना पूरा भएर चौथो महिनामा प्रवेश गरेको छ । तीन महिनादेखिको आन्दोलनले महत्वपूर्ण पर्व छठको समापनसँगै अर्कै मोड लिने संकेत देखिएको छ ।

subhash-prasad-sahबिभिन्न दल र नेतहरुको आ-आफ्नै अडानले अहिले देशमा आशा गरिएको आर्थिक क्रान्ति नभएर खोक्रो राष्ट्रवादी बन्ने क्रान्तिको होडबाजी चलेको छ । त्यही होडबाजीले अहिले यहाँको उद्योग, शिक्षा, यातायात, बजार, स्वास्थ्य लगायत क्षेत्र प्रभावित भएका छन् । स्वास्थ्य सेवा नभई नहुने भए पनि अहिले मधेसको स्वास्थ्य आफै बिरामी छ ।

लामो समयदेखिको मधेस आन्दोलन र नाकाबन्दी आन्दोलनले अस्पतालहरुमा औषधिको अभाव देखिएको छ । आन्दोलन भइरहेको तराई मधेसका जिल्लाहरुमा रहेका अस्पताल, प्राथमिक स्वास्थ्य चौकी र ग्रामिण स्तरका स्वास्थ्य चौकीमा औषधिको अभाव भएको देखिन्छ ।

कतिपय स्वास्थ्य चौकी र अस्पतालहरुमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मीको अभाव आन्दोलन हुनुभन्दा अघिदेखि नै रहेको थियो । आन्दोलनपछि बिभिन्न कारण देखाउँदै कतिपय स्वास्थ्यकर्मीहरु अस्पताल एवं स्वास्थ्य चौकीमा सर्बसाधारण बिरामीलाई सेवा दिन पनि छोडेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित बिभिन्न राजनीतिक दलहरुको अनिश्चितकालिन तराई मधेस बन्द र नाकाबन्दी आन्दोलनले अति आवश्यक स्वास्थ्य क्षेत्र समेत प्रभावित भएको छ । अधिकारकै नाममा भइरहेको यो मधेस आन्दोलनले स्वास्थ्य सेवा पाउने जनताको अधिकार खोसेको छ ।

यता सरकारले पनि स्वास्थ्य सेवालाई राम्रोसंग सञ्चालन गर्न सकेको छैन । अति आवश्यक औषधिका साथै स्वास्थ्यकर्मीको अभाव भए पनि सरकार त्यसको व्यवस्थापनमा गम्भिर नदेखिएको प्रष्ट देखिन्छ । सर्बसाधारण सेवाग्राहीलाई कसरी स्वास्थ्य सेवा उपलब्ध गराउने भन्ने बारेमा सरकार आफै बिरामी परेजस्तो देखिएको छ ।

जारी मधेस आन्दोलनका कारण तराई मधेसका जिल्ला स्वास्थ्य कार्यालयहरु ठप्प रहेका छन् । जिल्लाका बिभिन्न स्वास्थ्य चौकी एवं अस्पतालहरुमा औषधि एवं स्वास्थ्यकर्मीको व्यवस्थापनको जिम्मेवारी लिएको जिल्ला स्वास्थ्य कार्यालयहरु आफै लथालिङ भएका छन् । कुनै पनि आन्दोलनमा स्वास्थ्यसहितका बिभिन्न क्षेत्रलाई आफ्नो काम कारवाही गर्नमा आन्दोलनरत दलले अवरोध नपुर्‍याए पनि आन्दोलनकै बहाना गरी औषधि र स्वास्थ्यकर्मीको व्यवस्थापनको जिम्मेवारी पाएका कर्मचारीहरु आलटाल गर्ने कारणले स्वास्थ्य क्षेत्र समेत प्रभावित भएको हो ।

मधेस आन्दोलन र नाकाबन्दी आन्दोलनले इन्धनको अभाव देखिएको छ । अतिआवश्यक इन्धन नपाएका कारण समेत कतिपय स्वास्थ्य केन्द्रमा औषधिको व्यवस्थापन गर्न नसकिएको गुनासो कर्मचारीहरुले गर्दै आएका छन् । सरकारले उपलब्ध गराएका बिभिन्न प्रकारका निशुल्क औषधिहरु अहिले पाउन छोडेको सर्वसाधारण सेवाग्राहीले बताउँदै आएका छन् ।

आर्थिक क्रान्ति गर्ने भन्ने तर उद्योग खोलाउन नसक्ने र खोक्रो राष्ट्रवादको नारा लगाएर देशलाई बर्बाद बनाउने होडबाजी शुरु भएको छ ।

तीन महिनादेखिको मधेस आन्दोलन र सरकार गम्भिर नदेखिनुले त्यसको मारमा सर्बसाधारण जनता परेका छन् । जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार र आन्दोलनरत पक्षसहित सबै जिम्मेवार बन्न अतिनै आवश्वयक देखिन्छ । ढिला नगरी तत्काल आन्दोलनरत पक्ष र सरकार वार्ताको टेबुलमा बसेर बार्ताकै माध्यमले बर्तमान समस्या समाधान गर्नुका साथै सर्बसाधारणले स्वास्थ्यसहित हरेक सेवा कसरी सर्वशुलभ तरिकाले पाउन सक्छन् त्यसको बारेमा ठोस कदम चाल्न आवश्यक छ ।

देशमै सबैभन्दा बढी उद्योगहरु भएको क्षेत्र मधेस हो तर मधेस आन्दोलनमय भएको छ । आन्दोलनले कच्चापदार्थको अभाव भएको छ । अर्थतन्त्रको मेरुदण्ड मानिने उद्योगहरु बन्द भएपछि आर्थिक क्रान्ति कसरी हुन्छ ? अहिले यहाँ यस्तै हुँदैछ आर्थिक क्रान्ति गर्ने भन्ने तर उद्योग खोलाउन नसक्ने र खोक्रो राष्ट्रवादको नारा लगाएर देशलाई बर्बाद बनाउने होडबाजी शुरु भएको छ ।

मधेसी मोर्चाले अहिलेसम्म अलग देशको माग गरेका छैनन् । के संघीय प्रदेशको सीमांकन परिवर्तन गर्दैमा देशमा अनिष्ट हुन्छ ? अहिले मध्यमार्गी पार्टी र नेताको रुपमा रहेका मधेसी मोर्चा र तिनका नेताको माग सम्बोधन नभए यो निश्चित छ भोलिको दिनमा अनिष्ट हुनबाट देशलाई कसैले जोगाउन सक्दैन ।

मधेसको वास्तविक समस्या समाधान नगरी खोक्रो राष्ट्रवाद प्रस्तुत गर्ने प्रस्तुतीकै कारण आजको दिनमा सिके राउत जस्ताको उदय भएको हो । सिके राउतहरुलाई मजबुत हुने काम गर्नुभन्दा अहिले आन्दोलन गर्दै गरेका जनताको माग सम्बोधन गरी देशलाई जोगाउनु नै प्रमुख काम हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment