Comments Add Comment

हस्तलिखित पासपोर्ट बुधबारदेखि नचल्ने, एमआरपी नहुनेले के गर्ने ?

Nepali-passport

७ मंसिर, काठमाडौं । बुधबारदेखि विश्वभर हस्तलिखित राहदानी (पासपोर्ट) नचल्ने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगगठन (आइकाओ)ले हस्तलिखित राहदानीको सट्टा बारकोड भएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन दिएको समयसीमा नोभेम्बर २५ अर्थात बुधबार सकिँदैछ ।

बुधबारदेखि हातले लेखेको राहदानी बोकेर कसैले पनि वैदेशिक यात्रा गर्न नसक्ने राहदानी विभागका निर्देशक शरदराज आरनले अनलाइनखबरलाई बताए ।

आइकाओको बाध्यकारी नियमअनुसार मंगलबारपछि सबै हस्तलिखित राहदानी स्वतः रद्ध हुनेछन् । विदेशमा भिसा लागेका राहदानी पनि हस्तलिखित भए त्यो पनि रद्ध हुने आरनले बताए ।

हस्तलिखित राहदानी काम नलाग्ने भएकाले तत्काल एमआरपी बनाउन विभागले आग्रह गरेको छ । अझै ५० हजार हस्तलिखित राहदानी प्रतिस्थापन हुन बाँकी रहेको विभागको अनुमान छ ।

अहिलेसम्म विभागले झण्डै ३८ लाख एमआरपी जारी गरेको छ । जसमा १७ लाख हस्तलिखित राहदानी प्रयोगकर्ताले एमआरपी लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

एमआरपी नहुनेले के गर्ने ?

एमआरपी नै चाहिने भएपछि विदेशमा हस्तलिखित राहदानी बोकेर बस्नेहरु समस्यामा पर्ने भएका छन् । अब उनीहरुलाई एमआरपी नबनाई सुखै छैन ।

तर, सरकारले तत्कालका लागि त्यस्ता राहदानीबाहकलाई अस्थायी राहदानी दिने भएको छ । विभागले एमआरपी नबनुन्जेलसम्म विदेशस्थित नियोगहरुबाट अस्थायी राहदानी वितरण सुरु गर्दैछ ।

एमआरपी फारम भरेपछि मात्र अस्थायी राहदानी दिइनेछ । एमआरपी बनेपछि अस्थायी राहदानी विभागलाई फिर्ता गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment