+
+
Shares

एमालेका मधेसी सांसदको ठहर-ढिलो भयो, अब पोजिसन क्लियर गरौं

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ७ गते १७:१५

UML-Madhesi-Vela

७ मंसिर, काठमाडौं । तराई मधेसमा आफूहरु असुरक्षित हुन थालेपछि मधेसबाट निर्वाचित एमालेका सांसदहरुले पार्टी नेतृत्वलाई मधेस आन्दोलनबारे पार्टीको पोजिशन प्रष्ट पार्न दबाव दिएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरवारमा सोमवार दोस्रो दिन भएको सांसद तथा मधेशी केन्द्रीय सदस्य सहितको भेलाका सहभागीले भने-‘अब ढिलो भयो, एमालेको पोजिशन क्लियर गरौं ।’

सांसदहरुले मधेसमा एमालेविरुद्ध आन्दोलनकारीले हिंसा मच्चाउन थालेको र एमाले सांसद तथा नेता कार्यकर्ताका परिवार समेत असुरक्षित भएको गुनासो पोख्दै मञ्चतिर प्रश्न तेस्र्याए ।

मञ्चमा थिए पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरी, सत्रुघन महतो र डा.बंशिधर मिश्र लगायत । सांसदको प्रश्न बषिर्एपछि महतोले भने-तपाईहरुको प्रश्नको जवाफ दिने हामी कोही पनि छैनौं, हामी सबै पीडितहरुको भेला हो यो ।’

भेलामा विशेष गरि सप्तरीदेखि पर्सासम्मका ८ जिल्लाका प्रत्यक्ष निर्वाचित तथा समानुपातिकतर्फका सांसदहरुको सहभागिता थियो । पुरुषोत्तम पौडेल, रामकुमार भट्टराई, हरि उप्रेती र ममता गिरी बाहेक अरु सबै मधेसी सांसद थिए भेलामा ।

जिल्ला पुगेपनि मोर्चाका कार्यकर्ताले घर घेराउ गर्न थालेपछि भागेर काठमाडौं आएका महोत्तरीका सांसद रामदयाल मण्डल, दिपनारायण साह लगायतले मधेसमा संविधानले सुनिश्चित गरेका अधिकार पनि छैनन् भन्ने ठूलो भ्रम फैलाइएको अनुभव सुनाए ।

‘अगीकृत नागरिकता सबै खारेज हुन्छ, अब मधेसीले गाविस अध्यक्षदेखि राष्ट्रपतिसम्म केही पनि हुन पाउँदैन जस्ता भ्रम फैलाइएका छन्’ सांसदहरुले भने ‘सीमांकनसँग जनताको मतलबनै छैन, अब मधेसीले केही अधिकार पाउदैनन् भनेर उनीहरु आन्दोलनमा छन् ।’

एमाले सांसद तथा नेताहरुले कांग्रेस र एमाओवादीका मधेसी नेताहरुले दोहोरो भूमिका खेलेको भन्दै अहिले एमालेमाथि एकोहोरो प्रहार भएको बताए । उनीहरुले तत्कालै मधेस आन्दोलन समाधान नहुने हो भने परिस्थिति कसैले सम्हाल्न नसकिने गरी बिगि्रन सक्ने बताए ।

भेलाले राजनीतिक सहमतिका आधारमा सीमांकन फेरबदल गर्न, निर्वाचन क्षेत्र अन्तरिम संविधान अनुसार नै निर्धारण गर्ने गरि व्यवस्था गर्न र सबै अंगमा समानुपातिक समावेशी व्यवस्था गर्न एमालेको तर्फबाट पहल गर्ने निर्णय गरेको छ ।

भेलापछि पोलिटव्यूरो सदस्य महतोले भने-‘हामीले केही निष्कर्ष र सुझाव निकालेका छौं, ती कुरा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई तत्कालै भेटेर दिनेछौं । एमालेले मधेस आन्दोलन र यसको निकासका बारेमा आफ्नो बटमलाइन अब प्रष्ट पार्नैपर्छ ।’

एमालेका मधेसी सांसदहरुले अंगीकृत नागरिकतावालाले देशका संवैधानिक पदमा अवसर पाउन नहुने प्रष्ट पारेका छन् । ‘अंगीकृत नागरिकले राष्ट्रपति, प्रधानमन्त्री हुनुपर्छ भन्ने माग राजेन्द्र महतो र अनिल झाको मात्र हो । उपेन्द्र र महन्थ ठाकुरको पनि होइन’ सांसद लालबाबु यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?