१३ मंसिर, काठमाडौं । प्रहरी प्रमुखहरु र गृहसचिवलाई समेत हेलिकोप्टरमा लिएर गृहमन्त्री शक्तिबहादुर बस्नेतले आइतबार तराई मधेसका जिल्लाहरुको भ्रमण गरेका छन् । मन्त्री बस्नेतले ११ जिल्लाका सिडिओहरुसँग त्यहाँको वस्तुगत स्थिति बुझेका छन् ।

गृहमन्त्री बस्नेत गृहसचिव नारायण मलेगो, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त र गुप्तचर प्रमुखलाईसमेत लिएर आइतबार सुरुमा सुनसरीको पकलीस्थित सशस्त्र प्रहरीको ब्यारेकमा पुगेका थिए ।
पकलीमा पूर्वाञ्चल क्षेत्रीय प्रशासक, पूर्वाञ्चल डीआइजी तथा पाँच जिल्लाका प्रमुख अधिकारी र सुरक्षा प्रमुखहरुसँग गृहमन्त्रीले छलफल गरे । छलफलमा पूर्वी पृतनाका पृतनापतिसमेत थिए ।
(यो पनि पढ्नुहोस्- गृहमन्त्रीले भने- अब राजमार्गमा दिउँसै गाडी चलाइन्छ)
गृहमन्त्री र सुरक्षा प्रमुख त्यसबेला इटहरीमा पुगेका हुन्, जतिखेर झापाको केचनामा भारतीय एसएसबीका जवानहरु नेपाल प्रवेश गरेको विवाद भइरहेको थियो । अघिल्लो दिनमात्रै इटहरीमा मधेसी मोर्चाको मञ्चमा सत्तापक्षका कार्यकर्ताले आगजनी गरेका थिए ।
त्यस्तै केही दिन अघिमात्रै सुनसरी जिल्लामै भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकमाथि गोली चलाएका थिए ।
तथापि मन्त्रीको टोली यी घटनाका कारण इटहरी गएको चाँहि होइन । उनीहरु नियमित सुरक्षा समीक्षा बैठकका लागि इटहरी पुगेका हुन् ।

गृहमन्त्रालयले क्षेत्रीय तहमा यसरी सुरक्षा समीक्षा गर्ने गरेको यो नयाँ नभएर नियमित प्रक्रिया नै हो । तर, विगतमा एउटा विकास क्षेत्रभरिका सुरक्षा अधिकारीलाई बोलाइने गरिएको भए पनि आइतबारको बैठकमा तराई मधेसका जिल्लाहरुलाई विशेष प्राथमिकता दिइएको थियो ।
पूर्वी तराईका पाँच जिल्लामा सुरक्षा बैठक सकिएपछि गृहमन्त्रीको टोली महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता सशस्त्र प्रहरी गणमा आइपुग्यो । त्यहाँ मध्य तराईका ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा अधिकारीहरुसँग गृहमन्त्री र सुरक्षा प्रमुखहरुले बैठक गरे ।
छिन्नमस्ताको समीक्षा बैठकमा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका प्रजिअ र सुरक्षा प्रमुखहरु सहभागी थिए ।
मधेस आन्दोलनको केन्द्र भागमा रहेका मध्य तराईका जिल्लाहरुको वस्तुस्थिति र मधेसी मोर्चाको आन्दोलनको तागत कति छ भन्नेबारे गृहमन्त्रीले बृफिङ सुनेका थिए ।
दिउँसै राजमार्ग खुलाइने, कानून कार्यान्वयनमा जोड
छिन्नमस्ता ब्यारेकमा बैठक सकेपछि मन्त्रीको टोली राजधानीतर्फ लागेको थियो । सुनसरीमा चाँहि पत्रकारहरुले मन्त्री बस्नेतसँग छोटो कुराकानी गर्न भ्याएका थिए । यसक्रममा मन्त्री बस्नेतले पूर्वपश्चिम राजमार्गमा दिउँसै गाडी चल्न सक्ने गरी सुरक्षाको प्रवन्ध गरिने बताएका थिए ।
उता गृहमन्त्री र सुरक्षा प्रमुखहरुले पूर्वी र मध्य तराईको सुरक्षा स्थितिबारे रिपोटिङ लिइरहेका बेला मधेसी मोर्चाका शीर्ष नेताहरुचाँहि बिराटनगर पुगेका छन् ।
त्यस्तै सुनसरी संघीय लिम्बुवान लगायत जनजाति नेताहरुले पत्रकार सम्मेलन गरेर इटहरीमा मञ्च तोडफोड गर्नेहरुमाथि कारवाही गर्न र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।
नाका र राजमार्ग खुलाउन सकिने निश्कर्ष
स्रोतका अनुसार गृहमन्त्री शक्ति बस्नेतले मधेसी मोर्चाको आन्दोलन कमजोर बनेको निश्कर्षसहित अब पूर्व-पश्चिम राजमार्ग र नाकाहरु सुचारु गराउन सकिने निश्कर्ष निकालेका छन् ।
प्रतिक्रिया 4