नविन अर्याल/श्रीधर पौडेल
१४ मंसिर, काठमाडौं । सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र सचिव दिनेशकुमार थपलियाले कर्मचारीहरुलाई विमानस्थल सुधार गर्न निर्देशन दिने कार्यक्रम थियो । सचिव थपलियाले विमानस्थल निकै फोहोर भएको बताउँदै सफाइमा ध्यान दिन निर्देशन दिइरहेकै बेला सिलिङमा मुसो खुरर्र दौडियो ।
मन्त्री, सचिव र विमानस्थलका हाकिमहरुले त मुसो दौडिएको देखेनन् । तर, पछाडि बसेका कर्मचारीले भने निकै चाख मानेर हेरे । सरसफाइ सम्बन्धी भाषण चलुञ्जेल नै मुसाले सरकारी अधिकारीहरुलाई चुनौती दिइरह्यो ।
सिलिङमा मुसो दौडिएको केही मिनेट अगाडि मात्रै विमानस्थलका महाप्रबन्धक उपाध्यायले आफु प्रमुख भएपछि विमानस्थलमा सरसफाइको कामलाई तिब्रता दिएको र पहिलाभन्दा धेरै सफा भएको दाबी गरेका थिए । तर, मुसाले महाप्रवन्धकलाई ठाडै चुनौती दियो ।
महाप्रबन्धक उपाध्यायले विमानस्थल धेरै सफा भइसकेको बताइरहँदा मुसोले उनको दाबीलाई गिज्जाइरहेको थियो । सचिव थपलिया बोल्दा देखिएको मुसो मन्त्री उपाध्याय बोल्दासम्म सिलिङमै यताउति दौडिरहेको थियो ।
त्रिभुवन विमानस्थल फोहोर हुँदा मुसोमात्र होइन, चराचुरुङ्गीदेखि बाँदर र स्यालसम्म देखिने गरेका छन् । विमानस्थल बाहिर मरेका जनावरको सिनो र फालिएका खानेकुरा अव्यवस्थित रुपमा भेटिएपछि चरा तथा बाँदर आकषिर्त नहुने कुरै भएन ।
विमानस्थलभित्र फोहोर हुँदा सिलिङमा मुसा दौडिने गरेका छन् । केही वर्ष अगाडि त्रिभुवन विमानस्थलमा उड्न लागेको विमानमा मुसो देखिएपछि उडान नै रद्द गर्नुपरेको थियो । अति संवेदनशील मानिने जहाजका लागि मुसो निकै खतरनाक मानिन्छ । मुसोले जहाजभित्र तारहरु काटिदिएमा सयौं मानिसको ज्यान जोखिममा पर्न सक्छ ।
यस्तो छ त्रिभुवन विमानस्थलको हालत
कुनै पनि देशको अन्तर्राष्ट्रिय विमानस्थलले त्यहाँको सभ्यता झल्काउँछ । पर्यटकको प्रवेशद्वार अन्तर्राष्ट्रिय विमानस्थललाई मुलुकको मुहारका रुपमा लिइन्छ, जसले देशको यथार्थ चित्रण गरिरहेको हुन्छ ।
यही कारण विदेशका अन्तर्राष्ट्रिय विमानस्थलहरु भव्य देखिन्छन् । सेवा सुविधा र सरसफाइमा पनि उस्तै ध्यान दिइएको हुन्छ । तर, नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल न त भव्य देखिन्छ, न सेवा सुविधा चुस्त छन् । सरसफाइको त कुरै नगरौं । भुँईंमा चुरोटका ठूटाहरु टेक्दै हिँड्नुपर्ने अवस्था छ ।
अव्यवस्थित भीड, अस्तव्यस्त ट्रली, फोहोरका थुप्रा, जथाभावी फालिएका चुरोटका ठूटा, सिलिङमा माकुराको जालो, भत्किएको भुईँ, गन्हाउने ट्वाइलेट, फोहोर पानीको नाली र फोहोर झ्यालहरु त्रिभुवन विमानस्थलका विशेषता हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा गठित अनुगमन तथा निरिक्षण कार्यदलले सोमबार त्रिभुवन विमानस्थलको कुरुप दृश्यहरु सार्वजनिक गर्यो । कार्यदलका संयोजक हरी खड्काले देखाएका तस्वीरहरु हेर्दा मुलुकको सभ्यता झल्काउने विमानस्थलले मुलुकलाई नै गिज्जाइरहेको प्रष्ट हुन्थ्यो ।
कार्यदलले विभिन्न समयमा अकास्मिक निरीक्षण गरेर विमानस्थलमा देखिएका समस्याहरु र सुधारका विषयहरु समेटेर प्रतिवेदन तयार गरेको छ ।
केही दिन अगाडि पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले पनि त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षण गरेका थिए । निरीक्षणमा जाँदा उनले त्रिभुवन विमानस्थल निकै फोहोर र अस्तव्यस्त देखेका थिए । उनले विमानस्थलको सरसफाइ र सेवा सुविधामा ध्यान पुर्याउन सरोकारवाला निकाय र कर्मचारीलाई निर्देशन दिएका थिए ।
त्यहाँ कार्यरत कर्मचारीले त्रिभुवन विमानस्थल सुधार हुँदै गइरहेको बताए पनि यात्रुहरुले त्यो अनुभूति गर्न पाएका छैनन् । मुलुक जतिसुकै सुन्दर भए पनि विमानस्थल फोहोर र अव्यवस्थित भइदिँदा विदेशी मुलुकमा नेपालको सन्देश नकारात्मक जाने गरेको छ ।
प्रतिक्रिया 4