+
+
Shares

फिल्म समिक्षाः दयाहाङले धानेको कबड्डी-कबड्डी

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १६ गते १२:४९

dayahang
नाकाबन्दीबाट सताइएको नेपाली फिल्म बजारलाई ‘कबड्डी कबड्डी’ एकाएक तताइदिएको छ । पहिलो संस्करणले सिर्जना गरेको ‘हाइप’ का कारण पनि कबड्डी कबड्डी हेर्न दर्शकहरु ओइरिएका छन् ।

ठूलो आशा राखेर हलसम्म आएका दर्शकलाई के कबड्डी कबड्डीले सन्तुष्ट पार्न सक्छ त ? भन्न करै लाग्छ, अघिल्लो चलचित्रकै बासी विषयवस्तु दोहोर्‍याएर यसले दर्शकमाथि अन्याय गरेको छ ।

कथामा पुरानै सन्दर्भ

गत बर्षको बैशाख महिनामा प्रदर्शनमा आएको ‘कबड्डी’ चौतर्फी प्रशंसा आर्जन गरेको थियो । त्यसैबाट हौसिएर सिक्वेल बनाइएको हो, ‘कबड्डी कबड्डी’ ।

नेपालको हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङको कथा छ यसमा । गाउँमा आफ्नो प्रभुत्व जमाइरहेको दयाहाङ राई -काजी) र रिस्मा गुरुङ -मैया) को बिबाहको प्रसंग नै यस चलचित्रको मुख्य कथा हो । यसपटक निर्देशकले राजनीतिलाई उपकथाको रुपमा जोडेका छन् ।

मैयासँग बिबाह गर्नका लागि पार्टी फेर्नसमेत तयार हुने काजी र शहरबाट प्रेमिकासँग बदला लिन गाउँ छिरेका सौगात मल्ल -बमकाजी) को कथा ‘कबड्डी कबड्डी’ मा छ । राजनीतिक आरोह अवरोहसँगै काजीले मन पराएकी मैयाको प्रेम बमकाजीसँग सुरु हुन्छ । मैया काजी कि हुन्छे या बमकाजीकी, यसैको निर्णय लिन चलचित्र भौतिरिन्छ ।

Kabaddi-Kabaddi-trailer

संवादमा मिहिनेत

‘कबड्डी’को कथालाई नै ओभरल्याप गरेर ‘कबड्डी कबड्डी’ बनाइएको छ । अघिल्लो संस्करण हेरेका दर्शक पुरानै पात्र र पुरानै परिदृष्य हेर्दा पट्यार मान्न सक्छन् ।

कथा दुईवटा लक्ष्यमा अघि बढेको छ । पहिलो, मैयाको बिहे कोसँग गराउने र दोस्रो चुनावमा कसलाई जिताउने । लड्दै पड्दै निर्देशक यो लक्ष्यसम्म पुगेका छन् । विचमा धेरै ठाउँमा चिप्लेका पनि छन् ।
अन्तिम विन्दुमा पुग्दासम्म कथामा धेरै घाउहरु देखिन्छन् । दौडमा घाइते भएर पनि जित्नु सफलता हो, तर चलचित्रमा असफलता ।

कथा र पटकथामा नयाँपन अभाव रहेको चलचित्रमा संवाद भने निकै चोटिलो छ । दयाहाङ राईले बोल्नासाथ दर्शकको मुहारमा हाँसो छाउँछ । संवाद लेखकको खुबै मिहिनेत झल्किएको छ यसमा । गाउँले बोलिचालीको भाषालाई टपक्क टिपिएको छ ।

दयाहाङ हाबी, सौगात कमजोर

चलचित्रमा दयाहाङ राई पूर्णरुपमा हावी छन् । चलचित्रलाई उनैले बोकेका छन् भन्दा फरक पर्दैन । काजीको भूमिकामा देखिएका दयाले बोल्ने संवाद र उनको हाउभाउ साँच्चै मन छुने छ । दयाहाङ पर्दामा आउँदा चलचित्रको तरंग पनि उकालो लाग्छ, जब उनी हराउँछन् ओरालो लाग्छ ।

पहिलो संस्करणमा निश्चल बस्नेतले निभाएको भूमिका यसमा दिइएको छ, सौगात मल्ललाई । अभिनेताको रुपमा ठूलै क्रेज भएका कलाकार हुन् सौगात । यद्यपि कथामा उनको भूमिका दर्शकले चाहेजति दमदार छैन । नौला र फरक भूमिकामा प्रस्तुत हुँदै आएका सौगात एउटा सामान्य प्रेमीको भूमिकामा सिमित राखिएको छ ।

नायिका पि्रयंका कार्की यो फिल्ममा ‘सरप्राइज प्याकेज’ का रुपमा छिन् । उनलाई बमकाजीको पूर्व प्रेमिकाको छोटो भूमिका दिइएको छ ।

kabardi
‘कबड्डी कबड्डी कबड्डी’ बनाउने धुन

निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ बनाएर गतिलो तारिफ पाएका थिए । काठमाण्डौ मात्र होइन अन्य विभिन्न जिल्लाका जनताले समेत थाहा नपाएको र नसुनेको कथा र बोलीलाई टपक्क टिपेर जतिबेला उनले ‘कबड्डी’ बनाए, उनी प्रशंसाका पात्र बने ।

तर, सधै एउटै कुरा पटकपटक खाँदा मिठो लाग्दैन । कथावस्तु र परिवेशलाई केहि नयाँ ‘कलर’ दिएको भए दर्शकले स्वाद मान्थे । गुरुङको निर्देशकीय क्षमतामा प्रश्न गर्न सकिँदैन । तर, पुरानै कथालाई दोहोर्‍याएर बेच्न खोज्दा उनी चुकेका छन् ।

निर्देशकले ‘कबड्डी कबड्डी कबड्डी’ बनाउने हिसाबले कथामा अल्पविराम लगाएका छन् । तर, उनले आगामी चलचित्रका लागि ‘कबड्डी’ भन्दा फराकिलो फिल्म खोज्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?