काठमाण्डौ लगायत देशभर माघ महिनामा सर्वाधिक जाडो हुन्छ । तर, यो महिनामा प्रदर्शन हुने नेपाली चलचित्रको ताती हेर्ने हो भने लामै छ । जाडो महिनामा हलमा कम दर्शक जान्छन् भने चलचित्रको शो पनि घट्छ । तर, पनि निर्माताले लाखौको बजेट यही महिनामा खन्याउने तयारी गरेका छन् ।
माघ १ गतेबाट सुरु हुने प्रदर्शनको सिलसिला अन्तिम हप्तासम्म जारी रहनेछ, जहाँ दर्जन चलचित्र लाइन लागेका छन् । माघ १ गते चलचित्र ‘फन्को’ र ‘काफल पाक्यो’को प्रदर्शनमा आउँदैछन् । सुवर्ण थापाले निर्देशन गरेको ‘फन्को’मा दयाहाङ राई, सौगात मल्ल, प्रियंका कार्की, केकी अधिकारी मुख्य भूमिकामा छन् भने नयाँ निर्देशक सावित्री खत्रीले निर्देशन गरेको ‘काफल पाक्यो’मा जीवन लुइटेल र बर्षा राउतको अभिनय छ ।
माघ ८ मा भने कुनै पनि चलचित्रले अहिलेसम्म मिति तोकेका छैनन् । माघ १५ मा दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘पशुपति प्रसाद’ले प्रदर्शन मिति तोकेको छ । खगेन्द्र लामिछाने र बर्षा सिवाकोटी चलचित्रका मुख्य कलाकार हुन् । यही मितिमा चलचित्र ‘कैफियत’ पनि प्रदर्शनमा आउने पक्का भैसकेको छ । नन्दिता केसीको मुख्य भूमिका रहेको चलचित्रलाई दशरथ गिरीले निर्देशन गरेका हुन् ।
माघ २२ मा पनि चलचित्रको भिड छ । केशव भट्टराइको निर्माणमा निर्मल शर्माले निर्देशन गरेको चलचित्र ‘ब्रासलेट’ यो मितिमा आउनेछ । चलचित्रमा रमशे उप्रेती, नम्रता सापकोटा, रजनी केसी मुख्य भूमिकामा छन् । यही दिन राजु गिरीले निर्देशन गरेको चलचित्र ‘विन्दास ३’ पनि हलमा लाग्ने भन्दै प्रचार गरिएको छ । शुभेच्छा थापा, अशोक फुयाँल, मनिष कार्की चलचित्रका मुख्य कलाकार हुन् ।
माघ २९ मा सवैभन्दा चर्को भिडन्त हुने देखिन्छ । सुवास गिरी र आर्यन सिग्देलले मिलेर बनाएको चलचित्र ‘क्लासिक’ यो मितिमा हलमा लाग्नेछ । दिनेश राउतले निर्देशन गरेको यो चलचित्रले आँखा देख्न नसक्नेहरुको कथा बोलेको छ । चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् ।
यही मितिमा चलचित्र ‘प्रेमगीत’ पनि हलमा लाग्नेछ । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा पूजा शर्मा र प्रदिप खड्का मुख्य भूमिकामा छन् । गीतसंगीतका कारण अहिले यो चलचित्र चर्चामा छ । प्रदिप भारद्धाजले निर्माण गरेको चलचित्र ‘चलेस बतास सुस्तरी’ले पनि माघ २९ लाई नै प्रदर्शन मिति तोकेको छ । चलचित्रमा सुष्मा कार्की र प्रमोद भारद्धाज मुख्य भूमिकामा छन् ।
प्रदर्शन मिति तोकेर माघ महिनाका लागि प्रचारमा उत्रिएका चलचित्रको संख्या नौ वटा देखिएको छ । यी बाहेक अन्य केही चलचित्र पनि छन्, जुन माघमा आउने तयारीमा लागेका छन् । करिब एक दर्जन चलचित्र यो महिना हलमा लाग्ने देखिएको छ ।
माघ, फागुन र चैत्र महिनामा चलचित्रको बाढी लाग्ने देखिन्छ । तर, यसमा पनि माघ महिना भने चलचित्र क्षेत्रका लागि विशेष देखिएको छ । यो भिडन्तमा कुन निर्माताको पल्ला भारी हुने हो र कुन निर्मातालाई घाटा लाग्ने हो, यसको हिसाब माघ महिनामा नै आउनेछ ।
९ वटा चलचित्रको औषत लगानी ५० लाखको हारहारीमा देखिन्छ । साढे ४ करोड भन्दा बढी लगानीको बाजी यही महिनामा निर्माताले लगाएका छन् । ५ करोड लगानी उठाउन मात्र नेपाली चलचित्रले करिब १४ करोडको व्यापार गर्नुपर्नेछ । के एक महिनामा यती ठूलो कारोबार नेपाली चलचित्रले गर्लान् त ?
प्रतिक्रिया 4