अब, राम्रो चलचित्र बनाउने मेकरका लागि खुशीका दिन आउन थालेका छन् । निरन्तर नेपाली चलचित्रको व्यापार उकालो लागिरहेको समयमा अर्को यस्तै खबर आएको छ ।
नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘गाजलु’को छायांकन केही दिन अगाडि मात्रै सुरु भएको छ । तर, यो चलचित्रलाई नेपालकै चर्चित चलचित्र वितरक कम्पनी एफडीले महंगो रकम ‘एमजी'(मिनिमम ग्यारेन्टी) दिएर मोफसलको वितरण अधिकार लिएको छ । एफडीका अध्यक्ष नरेन्द्र महर्जनले ‘गाजलु’लाई अहिलेसम्मकै महंगो रकम दिइएको बताए । उनले चलचित्रका कलाकार, निर्देशकका कारण पनि आफूहरु महंगो रकम ‘एमजी’ दिन नडराएको बताए ।
यसअघि पनि आफूहरुले राम्रा मेकरलाई ‘एमजी’ दिएको बताउँदै नरेन्द्रले भने-‘राम्रा मेकरलाई प्रोत्सान गर्न सक्नुपर्छ । हामीले राम्रा मेकरलाई यो क्षेत्रमा प्रोत्साहन गर्नका लागि रकम दिएका छौ र दिने पनि छौ ।’
चलचित्रको फस्टलुक पनि सार्वजनिक नभई बलिउडमा चलचित्रले करोडौ रकम कमाएको चर्चा सुनिएपनि नेपालमा यस्तो पाइएको थिएन । तर, अब नेपालमा पनि यो चलन सुरु हुन थालेको छ, जसले निर्मातालाई चलचित्र निर्माणमा हौसला दिने पक्का छ ।
हेमराज वीसीको निर्देशनमा छायांकन भैरहेको यो चलचित्रमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान, गौरी मल्ल लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई वि.सं २०७३ सालको वैशाखको अन्त्यतिर प्रदर्शन गर्ने लक्ष्य आफूहरुले लिएको निर्माता रोहित अधिकारीले बताए । रोहितले भने-‘काठमाण्डौमा पनि चलचित्रको वितरण अधिकार लिनका लागि विभिन्न कम्पनी अगाडि आएका छन् । तर, अहिले हामीले कुनै निर्णय लिएका छैनौ ।’ उनले राम्रा मेकरलाई प्रोत्साहन गर्ने एफडी कम्पनीको कामको तारिफ गरे ।
अब, काठमाण्डौ बाहिर निर्माताले वितरण कम्पनीबाट दिइएको रकम चलचित्र चलेपनि नचलेपनि पाउनेछन् ।
प्रतिक्रिया 4