आफ्नो नाम छायाँमा पर्ने पो हो कि भन्ने चिन्ता लाग्न थालेको छ कलाकार सुरबिर पण्डितलाई । हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा ‘दार्ही बा’ भनेर चिनिन थालेका पण्डितलाई अहिले धेरैले यही नामले नै बोलाउछन् ।
‘कतिपय कार्यक्रममा जाँदा समेत ‘दार्ही बा’ भनेर बोलाउनुहुन्छ । यसकारण मलाई आफ्नो असली पहिचान मेटिने हो कि भनेर चिन्ता लाग्न थालेको छ’- अनलाइनखबरसँग कुरा गर्दै उनले भने ।
‘दार्ही बा’ भनेर बोलाएकै कारण रिस भने उनलाई उठ्दैन । उनको भनाई अनुसार क्यारेक्टर मन पराउनेहरुले नै ‘दार्ही बा’ भनेर माया गरेका हुन् ।
सुरुमा उनलाई धेरैले सुरविर पण्डित भनेरै बोलाउथे । ‘मेरी बास्सै’मा जब उनले दार्ही पालेर प्रस्तुत हुन थाले । सुरबीर सम्झन्छन्-‘त्यसपछि त डाइरेक्टर साबले मेरो नाम नै ‘दार्ही बा’ राख्दिनुभयो ।’
बद्मास छोराका दुःखी बाको भुमिकामा देखिएका सुरबीरले ‘मेरी बास्सै’को चरित्र भन्दा आफ्नो जीबनशैली धेरै फरक नभएको सुनाए ।
‘म त गाउँको मान्छे हुँ । घाँस, दाउरा, कुटो कोदालो नै गरेर बिताउछु । सिरियलमा देखिएको भन्दा खासै फरक छैन । फरक यती हो मेरो रियल छोरो त्यस्तो बद्मास छैन ।’
कैंची गोजीमै हुन्छ
दार्ही जति लामो भएपनि आवश्यकता अनुसार काँटछाँट आफै गर्छन् । दार्ही मिलाउन आवश्यक पर्ने कैंची उनको साथमै हुन्छ ।
सुटिङ स्पटमा यस्सो ऐना हेर्छन् । सके आफैं मिलाउछन्, नसके सँगैको साथीलाई भन्छन् ‘यती मिलाईदिनुस् त ।’ आम्दानीको दायरा साँघुरो भएकाले सैलुन कमै जाने गरेको उनको भनाई छ । ‘मेरोमा पैसा आउन पनि गार्हो मान्छ र आएको पैसा हातवाट जान पनि गार्हो मान्छ ।’ उनले भने ।
फोहोरी बुढो
देश विदेशका थुप्रै कार्यक्रममा सहभागी भएका पण्डितले यो बुझेका छन् कि ‘लगभग ९० प्रतिशत मान्छेहरु दार्ही पाल्नेलाई फोहोरी मान्दा रहेछन् ।
‘आफ्नै अनुहार सफा राख्न नसक्ने मान्छेले अरु के सफा राख्छ होला र’ भन्ने खालका टिप्पणी धेरै पटक सुनेका छन् उनले । त्यसो त उनलाई पनि सानो उमेरमा त्यस्तै लाग्थ्यो रे ।
दार्ही फाल्दा अबसर गुम्यो
गालामा बढेको झ्याप्प दार्ही आफ्नो लागि फाइदा नै भए जस्तो लागेको छ उनलाई । दार्ही काटेको कारण केही चलचित्रवाट हात समेत धुनु परेको छ ।
उनलाई अहिले पनि सम्झना छ । चलचित्र ‘पालेदाई’ का लागि निर्देशक दयाराम दाहालले अभिनयको प्रस्ताव राखे । फोनमै कुराकानी लभगभ फाईनल भएपनि अन्तिममा दाहालले सोधे-‘तपाइको दार्ही कस्तो छ ?’
पण्डितले केही दिन अघि काटेको जानकारी गराएपछि दाहालले भोली फोन गर्छु भनेर फोन राखे । त्यसपछि कहिल्यै गरेनन् । दार्ही नभएकै कारण अरु केही चलचित्र र म्युजिक भिडियोवाट पनि अवसर गुमाएको अनुभव गरेका छन् पण्डितले ।
प्रतिक्रिया 4