काठमाडौं । राजेश हमाललाई पाँच मिनेट मात्रै राख्न पाए पनि फिल्म बनाउथें भन्ने निर्माता अझै छन् । पोष्टरमा राजेश हमालको टाउको राखे मात्रै पनि फिल्म चल्छ भन्ने निर्माता निर्देशक अहिले भने एउटा कुरामा सचेत छन् । फिल्म चल्नका लागि हिरो मात्रै राम्रो भएर हुँदैन, निर्देशक र स्क्रिप्टमा पनि दम चाहिन्छ ।
कतिपय निर्देशक यस्ता पनि छन्, जो अझै राम्रो र नराम्रो विचको साँध छुट्याउन सक्दैनन् । तर, पनि तिनलाई थाह छ । फिल्म चल्ने हिरो हिरोइनको अनुहारले हैन, सबै पक्षको उस्तै सपोर्ट चाहिन्छ ।
पछिल्लो समय सबै भन्दा चल्तिका नायक दयाहाङ राईले अभिनय गरेको ‘वडा नम्बर छ’ ले दुई करोड ग्रस ब्यापार गरेको थियो भने अहिले प्रदर्शन भएको ‘कबड्डी कबड्डी’ले एक हप्तामै डेढ करोड बढी ब्यापार गरिसकेको छ ।
तर, कुनै समय नेपाली फिल्म उद्योगले चर्चित मानेका जीवन लुईटेल र आर्यन सिग्देलको स्थिती नाजुक छ । आर्यनले अभिनय गरेको सुश्रीलाई दर्शकले वास्तै गरेनन् भने जीवनले अभिनय गरेको धुन र जाउँ हिंड पोखरा’ लाई पनि नहेरे पनि हुने फिल्मको सूचीमा राखिदिए ।
तुलनात्मक रुपमा निखिल उप्रेतीको कमब्याक सन्तोषजनक भयो । उनको आफ्नै निर्देशन रहेको भैरव मात्रै हैन अभिनय गरेको ‘लुटेरा’ले पनि दर्शकलाई सन्तुष्ट बनायो ।
फिल्ममा सबभन्दा महत्वपूर्ण पाटो स्क्रिप्ट हो भन्ने मान्यता राख्ने निखिल अहिले पनि स्त्रिmप्ट पढेर मात्रै काम गर्ने नायकको रुपमा चिनिन्छन् ।
अनमोल उम्दा, संयम सलोन काम चलाउ
सलोन बस्नेत, संयम पुरी, गौरव पहाडी, अनमोल केसीलगायत पछिल्लो पुस्ताका चलेका कलाकार हुन् । अहिले टिनएज लभ स्टोरीमा फिल्म बनाउन चाहने निर्देशकको पहिलो रोजाई नै यी नायक हुने गरेका छन् ।
सलोन र अनमोलले ‘होष्टेल’वाट हिरोमा डेब्यु गरेका थिए भने संयमले ‘शायद’ वाट । उनीहरुको फिल्म पनि सँघसँघै जसो प्रदर्शन भयो ।
कुनै वेला यी तीनै जना वाल कलाकारका रुपमा चर्चित थिए । हिरो पनि लभगभ एकै समय भए । तीन मध्ये अनमोल अहिले सर्वाधिक चर्चित छन् । संयम र सलोन काम चलाउकै स्थितीमा छन् ।
प्रतिक्रिया 4