Comments Add Comment

भारतीय संसदमा मोदीलाई प्रश्न- ‘ऋषि मन’ के भयो ?

Pavan-Kumar-Varma,-JDU

२१ मंसिर, काठमाडौं । भारतीय माथिल्लो सदन राज्यसभामा सोमबार नेपाल मामिलाबारे फेरि बहस सुरु भएको छ । बहसका क्रममा अन्तरराष्ट्रिय मामिलाका जानकार समेत रहेका जनता दल युनाइटेडका सांसद पवनकुमार बर्माले भारतले नेपालको मामिलामा ‘ठूल्दार्इ’ को जस्तो व्यवहार देखाउन नहुने बताएका छन् ।

बेलायतसँग भारतले नेपालको मामिलामा संयुक्त वक्तव्य निकाल्नु पनि गल्ती भएको बर्माले संसदमा बताए ।

एउटा सार्वभौम देशको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्न नहुने र सहयोगी भूमिका मात्रै खेल्नुपर्ने बर्माको सुझाव छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल गएका बेला ऋषि मनले संविधान बनाउन भनेका थिए, अहिले के भयो भन्दै बर्माले प्रश्न सोधेका छन् ।

संसदमा बर्माले बोलेका कुराहरुको सार यस्तो छ

यो मामिला भारतको राष्ट्रिय नीतिको विषय हो । केवल सरकारको मात्र होइन । नेपालसँगको सम्वन्ध अहिले संकटमा छ, अहिलेसम्मकै खराब अवस्थामा छ । तेल, ग्यास, औषधिको अभाव छ । भारतविरोधी भावना बढ्दो छ । भारतीय टीभी च्यानल, जुन निकै लोकप्रिय थिए, ती अहिले बन्द छन् । नेपालमा चीन आएको छ ।

मधेसीहरु मारिएका छन् । उनीहरुले जनसंख्याका आधारमा निर्वाचन क्षेत्रलगायतको माग राखेका छन् । जटिलता छ । हामीले सार्वभौम देशसँग डिल गर्दैछौं । तर, लामो खुला सीमा छ । रोटीबेटीको सम्वन्ध छ ।

ठूलो समस्या भनेको सार्वभौम देशको अन्तरिक मामिलामा हस्तक्षेप हो । मेरो पहिलो प्रश्न छ कि, हाम्रो कूटनीतिको भूमिका के छ ?

अगष्ट २०१४ मा प्रधानमन्त्रीले नेपालको भ्रमण गरे । उनले ऋषि मनले संविधान बनाउन भने । सार्कमा फेरि गए र सहमतिमा बनाउन भने । यो राम्रो थियो । तर, मेरो प्रश्न छ कि अहिले चाहिँ के भयो ?

भूकम्पका बेला भारतले राम्रो सहयोग गर्‍यो । केही समस्या देखियो । प्रमोसन र पब्लिसिटी धेरै भयो । भारत ‘ठूल्दार्इ’ जसरी प्रस्तुत भयो ।

हामीले सक्रियरुपमा नेपाललार्इ सहजीकरण गरौं । जुन २०१५ मा विदेशमन्त्री नेपाल गए । र, २ महिनापछि दुई देशका प्रधानमन्त्रीको फोन वार्ता भयो । महत्वपूर्ण समय थियो यो नेपालको । सेप्टेम्बर १८ मा विदेश सचिव विशेष दूतका रुपमा गए । तर, जतिबेला नेपालमा संविधान पास भइरहेको थियो र दुई दिनपछि घोषणा हुँदैथियो ।

संविधान पास भएपछि र घोषणा हुन मात्र बाँकी हुँदा मात्र दूतको भ्रमण किन ? हामीले फेरि यस्तो गल्ती गर्नुहुँदैन । हामी सरकारलाई विश्वास गर्छौं ।

प्रधानमन्त्रीले छिमेकी पहिला भनेका छन् । त्यस्तो हो भने छिमेकीबारे आवश्यक समय किन दिएनन् ? जुलाइमा प्रधानमन्त्री पाँच सेन्ट्रल एशियाका देश र रुस गए । अन्य देशहरु पनि गए । त्यसबेला नेपालमा महत्वपूर्ण समय थियो ।

नेपालमा सबै पार्टीको प्रतिनिधिमण्डल जाने भनिएको छ । तर, नेताहरुको आ-आफ्नै सम्बन्ध छ । सम्पर्कमा छौं । यो एउटा पार्टी र सरकारको विषय मात्र होइन ।

हामी संकटको सामना गरिरहेका छौं । हामी आगोसँग खेलिरहेका छौं । नेपालको आलोचना गरेर हामी किन यो विषयलाई अन्तराष्ट्रियकरण गरिएको छ ? बेलायतको संयुक्त वक्तव्यमा उल्लेख गरियो । दुई देशको सम्वन्धमा तेस्रो पक्षको मध्यस्थता चाहिँदैन । हामी के गर्न चाहिरहेका छौं ?

जब नेपालसँगको सम्वन्ध यो अवस्थामा पुग्यो, चीनले नेपालले प्रभाव विस्तार गर्न खोजेको छ । तिब्बतबाट काठमाडौंसम्म रेल ल्याउने भनिएको छ । भुटानले पनि यो हेरिरहेको छ र उ पनि भूपरिवेष्ठित देश हो । उसले आफ्नो अत्यावश्यकीय आपूर्तिबारे के सोच्ला ?

सबै फ्याक्टरलाई दिमागमा राखेर नेपालका नेताहरुलार्इ कूटनीतिक सन्देश किन नदिने ? न कि फेरि गल्ती दोहोर्‍याउने होइन । किन काम गरिरहेको छैन ? हामीले तत्काल समाधान खोज्नुपर्छ । मधेसीहरुले अधिकार पनि पाउनुपर्छ । हामी कसरी अगाडि बढ्ने भन्नेबारे सरकारले के सोचेको छ ?

हामी सार्वभौम देशसँग काम गरिरहेका छों । ठूल्दार्इका रुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन । असल छिमेकीका रुपमा सहयोगी भूमिका खेल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment