मात्रिका पौडेल
५ पुस, सर्लाही । केही मधेस आन्दोलनकारीहरुले बिधवा भनेर राष्ट्रपतिले टेकेको जमीनमा गंगाजल छर्केर चरमपन्थी शैली प्रदर्शन गरिरहेका बेला मधेसकै केही युवा भने भाँडिएका मनहरु जोड्ने अभियानमा छन् ।
अधिकारको आन्दोलन असामाजिक र अशहिष्णु बन्दै जान थालेपछि हिमाल, पहाड र तराईका मनहरु जोड्ने अभियान चलेको छ अहिले मधेसका बस्तीमा ।
यो अभियानमा लागेका छन् वीरगञ्जका रामकिशोर सिंह पराग, दीपकुर र सर्लाहीकी आरती लामा । उनीहरुको अभियानको नाम हो-मानव सभ्यताका लागि यार-मीत अभियान ।
मैथिल भाषामा मितलाई यार भनिन्छ । त्यसैले हिमाल-पहाड-तराईका जनता सबै नेपाली हुन् भन्ने सन्देश दिन काठमाडौंदेखि मधेससम्म यार मित अभियान चलाइएको लामाले बताइन् ।
सर्लाहीको घुर्कौलीस्थित एक मुस्लिम बस्तीमा मित लाउन पुगेका पहाडे समुदायका युवाहरुसँग मुस्लिम समुदाय एकाएक झ्याम्मिए । ‘आन्दोलनले पिल्सिएका थियौं, आज पहाडी साथीहरुसँग मित लाउन पाउँदा मन हलुका भयो’ स्थानीय जुमानु खातुनले भनिन् ।
रौतहट, बारा, पर्सा, तनहुँ, कास्कीलगायतका जिल्लामा मधेसी र पहाडी समुदायबीच मित अभियान सञ्चालन गर्दै हिँडेका मधेसी युवा परागले यो अभियानलाई मधेसका भित्री बस्तीसम्म पुर्याउने बताए ।
यो अभियानअन्तर्गत मधेसी र पहाडी समुदायबीच मित लगाइने र यो औपचारिकतामा सीमित गर्नेभन्दा पनि भावनात्मकरुपमा एक बनाउने गरी अघि बढेको सर्लाहीमा भेटिएकी अनेरास्ववियुकी नेता आरती लामाले बताइन् ।
यार-मित अभियानमा हालसम्म एक हजारभन्दा बढी मान्छे मित साइनोमा गाँसिएको परागले बताए । ‘आन्दोलनले टुटाएका मनलाई हामीले जुटाउने प्रयास गरेका हौं’ उनले भने ।
यार मित अभियान शुरुमा एमाले नेता ठाकुर गैरेको अगुवाइमा काठमाडौंमा असोजबाटै भएको थियो । पछिल्लोपटक अभियन्ताहरु तराई मधेस पसेको उनले बताए ।
यार-मित अभियान लिएर सर्लाही पसेका युवाहरु त्यहाँका केही बस्तीमा मधेसी-पहाडी मित लगाएर रौतहटतिर लागेका छन् । ‘हामीलाई आन्दोलनको कुनै समुदाबिरोध वा समर्थन गर्नु छैन, तरय विरुद्ध घृणा फैलाउने कार्य निस्तेज पार्ने यो अभियान हो’ परागले भने ।
प्रतिक्रिया 4