५ पुस, काठमाडौं । नाकाबन्दीको बाहना बनाएर सार्वजनिक यातायातमा विद्यार्थीलाई भाडा सहुलिय नदिएको भन्दै अस्कल क्याम्पसका विद्यार्थीले आइतबार लैनचोर आसपासको सडकमा चक्काजाम र नाराबाजी गरेका छन् ।
यातायात व्यवसायीहरुले नाकाबन्दीको बाहनाबाजी गर्दै विद्यार्थीलाई छुट दिन छाडेको विद्यार्थीहरुको गुनासो छ । नाकाबन्दी सुरु भएसँगै सवारी साधनले विद्यार्थीहरुलाई कार्ड देखाउँदा पनि भाडामा सहुलियत दिन छाडेका छन् ।
यातायात व्यवसायी भन्छन्- दिन सकिँदैन
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले अहिलेको अवस्थामा यातायात व्यवसायीहरुलाई विद्यार्थी छुट दिन सकिने अवस्था नरहेको बताए ।
अनलाइनखबरसँग कुरा गर्दै महासचिव सिटौलाले भने- ‘काठमाडौंका सवारी साधन आयल निगमले दिएको इन्धनबाट चलेका छैनन्, त्यसैले विद्यार्थीहरुले पनि यो कुरा बुझिदिनुपर्छ ।’
गृहमन्त्रालययले नै आफ्नो यातायातलाई आवश्यक इन्धन जुनसुकै माध्यमबाट ल्याउन अनुमति दिएको भन्दै सिटौलाले त्यहीअनुसार व्यवसायीहरुले सीमाक्षेत्रका कालोबजारियाबाट ल्याएको इन्धनले सवारी साधन चलिरहेको अवस्थामा विद्यार्थी सहुलियत दिन नसकिने बताए ।
विद्यार्थी नेता भन्छन्- दिन्न भन्न पाइँँदैन
यातायात व्यवसायीले भाडामा सहुलियत दिन नमिल्ने बताए पनि विद्यार्थी नेताले चाँहि कानूनले नै दिएको अधिकार दिन्न भन्न नपाइने तर्क गरेका छन् ।
यसबारे नेविसंघका नेता युपी लामिछानेले अनलाइनखबरसँग भने- ‘कानुनले नै दिएको सहुलियत माग्ने अधिकार विद्यार्थीहरुलाई छ, यातायात व्यवसायीले विद्यार्थी छुट दिन्न भन्न पाउँदैनन् ।’
नाकाबन्दीको अहिलेको परिस्थितिमा सवारी चालक र विद्यार्थीवीच समझदारी गरेर भाडा छुटको व्यवस्था गर्न सकिने बताउँदै लामिछानेले अनलाइनखबरसँग भने-‘तर विद्यार्थीलाई छुटै दिन्न भन्नचाँहि व्यवसायीहरुले पाउँदैनन् ।’
प्रतिक्रिया 4