५ पुस, काठमाडौं । बेलायती सेनामा कार्यरत एवं अवकाशप्राप्त गोरखा सैनिकमाथि भएको विभेदबारे नेपाल सरकारले औपचारिकरुपमा प्रश्न उठाएको छ ।
बेलायत भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटवार्तामा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले गोरखा सैनिकलाई आवद्ध नेपालीहरुमाथि तलव तथा पेन्सनमा भएको विदेभबारे प्रश्न उठाएका हुन् । ‘ब्रिटिस सेनामा पेन्सन तथा तलवको असमानताबारे ध्यानाकर्षण गराएका छौं’ आइतबार स्वदेश फर्किएका मन्त्री थापाले भने ।
थापाका अनुसार बेलायती मन्त्रीहरुले गोर्खा सैनिकको समस्याबारे अध्ययन गर्न गठित त्यहाँको संसदीय समितिको प्रतिवेदनलाई आधारमा मानेर सुविधा बृद्धिबारे छलफल गर्ने आश्वासन दिएका छन् ।
उपप्रधानमन्त्री थापाले नेपाली सेना कर्णेलकुमार लामाको मुद्दाका विषयमा समेत बेलायत सरकारको ध्यानाकर्षण गराएका छन् । तीन वर्षसम्म लामाको मुद्दा टुङ्गो लाग्न नसकेकोमा बेलायती विदेश मन्त्रायलका साथै न्यायमन्त्रीले समेत आश्चर्य व्यक्त गरेको उनले बताए ।
संविधान कोशेढुंगा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको संयुक्त वक्तव्यमा नेपालले संविधान समावेशी नभएको उल्लेख गरेपछि नेपालले असन्तुष्टि जनाएको थियो ।
तर, थापाको भ्रमणमा भने बेलायती मन्त्रीहरुले नेपालको संविधान कोशेढुंगो भन्दै स्वागत गरेका छन् । उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले भने-विदेशमन्त्री फिलिप हेमण्डले औपचारिक कार्यक्रममा नै नेपालको संविधानलाई कोशेढुंगा भन्नुभएको छ र त्यही ट्वीट पनि गर्नुभएको छ ।’
बेलायती अधिकारीहरुसँगको भेटमा आपूर्तिमा देखिएको असहजताका कारण नेपालमा उत्पन्न भएको मानवीय संकटबारे समेत छलफल भएको परराष्ट्रमन्त्री थापाले जानकारी दिए । बेलायतले आवश्यक सहयोग गर्नेसमेत बताएको छ । तर, आफूले अहिले समस्या समाधान उन्मुख रहेको भन्दै नभए सहयोग माग्ने बताएको उनले जानकारी दिए ।
सहयोगको नयाँ खाका
बेलायती अधिकारीहरुले ०१६ देखि २१ सम्म नेपाललाई दिने सहयोगबारे खाका बनिरहेको जानकारी दिएको थापाले बताए । बेलायतले अहिले डीएफइडीमार्फत गरिरहेको सहयोगलाई समेत निरन्तरता दिने उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले बताए ।
प्रतिक्रिया 4