५ पुस, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिलाई तीन दिनभित्र अन्तिम निर्णय गरी सभापतिलाई बुझाउन निर्देशन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनसम्म चलेको बैठकले केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदनबारे टुङ्गो लगाउने निर्णय गरेको छ ।
सभापति सुशील कोइरालाको सभापतित्वमा सम्पन्न बैठकमा पार्टीको आसन्न १३औँ महाधिवेशनको तयारीका साथै समसामयिक राजनीति र मधेस आन्दोलनलाई सम्बोधन गर्ने सम्बन्धमा पनि बृहत् रुपमा छलफल भएको थियो ।
क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका विवादमाथि नेताहरुबीच चर्को बहस भएको थियो । अधिकांश सदस्यले क्रियाशील सदस्यता वितरणको पारदर्शिता, मापदण्डका विषयमा प्रश्न उठाउँदै पुनरवलोकन गरिनुपर्ने धारणा राखेका थिए भने केही सदस्यले त्यसको बचाउ गरेका थिए ।
बैठकमा पेस भएको प्रतिवेदनानुसार काँग्रेसमा पुराना तीन लाख १६ हजार ८६६ र नयाँ दुई लाख १४ हजार क्रियाशील सदस्यता थपिएका छन् । त्यस्तै पुराना क्रियाशील सदस्यमध्ये ६० हजार नवीकरण हुन बाँकी छन् । रासस
प्रतिक्रिया 4