रविन्द्र घिमिरे
६ पुस, काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा आउँछ भन्नेमा धेरैलाई अझै विश्वास छैन । कारण, मेलम्ची आयोजना यति वर्षमा आउने भन्दै पटक-पटक काठमाडौंबासीलाई झुक्याइएको छ ।
यसपटक पनि तपाईं झुकिनुभएको छ, नयाँ वर्षमा काठमाडौंमा पानी झार्ने आश्वासन दिएको आयोजनाले फेरि बोली फेरेको छ । आयोजनाका अधिकारीले पछिल्लोपटक निर्धारित लक्ष्य अनुरुप काठमाडौंमा पानी ल्याउन नसक्ने जानकारी दिएका छन् ।
औपचारिकरुपमा तीनपटक म्याद थप भइसकेको आयोजना फेरि चौंथोपटक म्याद थप्नुपर्ने आयोजनाका अधिकारी बताउँछन् । कहिले राजनीतिक द्वन्द्व त कहिले सुस्त गतिको कामले प्रभावित भएको आयोजनालाई यसपटक म्याद थप्ने बाहाना छ, भूकम्प र नाकाबन्दी ।
बैशाखको विनाशकारी भूकम्पका कारण झण्डै ३ महिना काम रोकिएको आयोजनामा नाकाबन्दीले फेरि ३ महिनादेखि काम ठप्प छ ।
पछिल्लोपटक ०७३ को बैशाखमा काठमाडौंमा मेलम्चीको पानी आउने घोषणा गरिएको थियो । निर्धारित मति नजिकिँदै गर्दा आयोजनाका अधिकारीहरु अब फेरि आयोजना सम्पन्न हुने अवधि एक वर्ष धकेलिने बताउन थालेका छन् । अब ०७३ को अन्त्यसम्म निर्माण्को काम सक्ने आयोजनाको लक्ष्य छ ।
‘भूकम्पले गर्दा प्रभावित भएको आयोजनाको काम फेरि नाकाबन्दीका कारण रोकिएको छ । लगातार निर्माण कार्य राकिँदा सुरुङ निर्माण पनि प्रभावित छ । यसैकारण अब मेलम्चीको पानी ०७३ को बैशाखमा काठमाडौं ल्याउन कुनै हालतमा सम्भव छैन्’ आयोजना प्रमुख घनश्याम भट्टराईले अनलाइखबरसँग भने- ‘अब काठमाडौंमा मेलम्ची आउन थप एक वर्ष बढी लाग्ने हाम्रो अनुमान छ ।’
आधा सुरुङ खन्नै बाँकी
आयोजनाले अझै आधा सुरु पनि खन्न सकेको छैन । निर्माण गर्नुपर्ने २७ किलोकिटर सुरुङमध्ये अहिलेसम्म १३ किलोमिटर मात्र खनिएको छ । झण्डै १४ कलिोमिटर सुरुङ निर्माणको काम बाँकी नै छ । हेडर्वक्सको काम पनि अझै सकिएको छैन ।
अब तत्काल काम सुरु भइहाले पनि ०७४ को बैशाखमा मेलम्ची काठमाडौं ल्याउन दैनिक २९ मिटर सुरुङ खन्नुपर्ने हुन्छ ।
भूकम्पपछि आयोजनाले ०७३ को असोजसम्म काम सक्ने लक्ष्य राखेको थियो । तर, नाकाबन्दीले ३ महिनादेखि काम रोकिएपछि अब ०७४ को सुरुवातमा मात्र मेलम्ची आयोजना पुरा हुनसक्ने देखिएको आयोजना प्रमुख भट्टराईले बताए । नाकाबन्दी लम्बिएर तत्काल काम सुरु गर्न नसकिए निर्माणमा अझै बढी प्रभाव पर्नेछ ।
लागत बढाउने तयारी
देशको आन्तरिक कारण आयोजनाको निर्माण प्रभावित भएको भन्दै लागत थप्न पनि चलखेल सुरु भइसकेको छ । ‘ठेकेदार कम्पनीले अहिलेसम्म म्याद थपको दाबी गरेको छैन । तर, पूर्वनिर्धारित समयमा आयोजना नबन्ने निश्चित छ’ आयोजनाका एक उच्च अधिकारीले भने- ‘अब आयोजनाको समयावधि र लागत दुबै बढ्ने निश्चित छ ।’
ती अधिकारीले लागत कति बढ्छ भन्नेबारे खुलाउन चाहेनन् । झण्डै २७ अर्ब रुपैंयाको लागतमा निर्माणाधीन मेलम्ची आयोजनामा ४५ प्रतिशतभन्दा बढी ऋण लगानी एसियाली विकास बैंक (एडीबी) को छ ।
सरकारले सुरुवातमा मेलम्ची काठमाडौंसम्म ल्याउन २३ अर्ब ८९ करोड २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, पछि फेरि ठेक्कापट्टा गर्दा आयोजनाको २७ अर्ब ५३ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
आयोजना प्रमुख भट्टराईले भने तेल अभावका कारण काम ठप्प भएकाले सहजरुपमा तेल उपलब्ध गराए तत्काल रोकिएको काम सुरु हुने बताए । ‘आयोजनाका लागि दैनिक ७ हजार लिटर डिजेल आवश्यक पर्छ । मासिक रुपमा २ लाख लिटर तेल पाए काम तत्काल सुचारु गर्न सकिन्छ’ आयोजना प्रमुख भट्टराईले भने ।
सिन्धुपाल्चोकको मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंको सुन्दरीजल ल्याउन सुरुङ निर्माणका भइरहेको छ । ०६५ माघ ८ गते काम सुरु गरेको चीनको सीआरसीसी कम्पनीले सुस्त गतिमा काम गरेपछि सरकारले ०६९ असोज ९ गते ठेक्का सम्झौता तोडेको थियो ।
अहिले काम गरिरहेको इटालियन कम्पनी सीएमसी डी राभेन्नासँग ०७० असार ३१ सम्झौता गरिएको थियो । आयोजना कार्यान्वयनका लागि ०५७ पुस १७ गते मेलम्ची खानेपानी विकास समिति गठन गरिएको थियो ।
प्रतिक्रिया 4