Comments Add Comment

मिसकलले गर्‍यो कौशिलाको जिन्दगीमा यस्तो छल (भिडियोसहित)

Kausila 650

मात्रिका पौडेल
९ पुस, काठमाडौं । मोबाइल फोनमा आउने एउटा मिसकलको मूल्य कति होला ? यो वाहियात प्रश्नको जवाफ दिन उपस्थित भएकी छन् १७ वर्षीया कौशिला तामाङ ।

हो, यो प्रश्न धेरैका लागि वाहियात नै लाग्छ, किनकी मिसकल गर्दा पैसा लाग्दैन । त्यसैले मिसकलको मूल्य धेरैका लागि नहुन सक्छ । तर, कौशिलाको जीवनमा एउटै मिसकलले कहिल्यै कसैले तिर्न नसक्ने क्षति गराइदियो ।

सायद मिसकलले आफ्नै जिन्दगीमा यति ठूलो छल गर्छ भन्ने सोच्न सकेकी भए उनी दिल्लीको कोठीमा पुग्नुअघिनै उम्किन सक्थिन् । तर, धोकामा गाँसिएको विश्वासको डोरोले बाँधिएका बेला उनले अरु सोच्न सकिनन् ।

नुवाकोटको एक गाउँकी कौशिला तामाङ (नाम परिर्वन)ले गाउँकै युवकले साह्रै मन पराएपछि घरको सहमतिमै बिहे गरिन् । विहे लगत्तै श्रीमान काठमाडौं जागिर खान हिँडे । १६ वर्षे जोबनले कौशिलालाई अनियन्त्रित बनायो ।

मिसकलले मोड्यो जीवन

हातमा मोबाइल थियो, मनमा चन्चलता अनि शहरको सपना । बेहुली भएर भित्रिए लगत्तै बेहुला जागिर खान हिडेपछि उनी माइती र घर गर्दै बसिरहेका बेला एक दिन उनको मोबाइलामा अपरिचित नम्बरबाट मिसकल आयो ।

मिसकलको जवाफ फर्काउनुनै उनको जीवनको नरकयात्राको शुरुवात बन्यो । मिसकल फर्काएपछि राजु लामा भन्ने व्यक्तिले साथी बन्ने प्रस्ताव राख्यो । साथी बन्न स्वीकार भएकी कौशिलाले त्यसपछि श्रीमान भन्दा बढि विश्वास उसलाई गर्न थालिन् जसलाई कहिल्यै देखेकै छैन ।

भिडियो हेर्नुहोस्

‘श्रीमान थिएनन्, एक्लै भएका बेला पटक-पटक उसले फोन गरेर साथी बन्ने प्रस्ताव राखेपछि मैले स्वीकार गरेँ’ करीव आठ-नौ महिना अघिको क्षण सम्झिँदै उनले भनिन् ।

करिव २ महिना कथित राजु लामा र उनीबीच हरेक दिन घण्टौं कुराकानी हुन थाल्यो मोबाइलमा । राजुले आफ्नो घर गोरखा भने बाहेक उसको बारेमा कौशिलालाई कुनै जानकारी छैन ।

भूकम्पले कौशिलाको घर र माइती दुवैतिर बास बस्ने ठाउँ भत्कायो । यहि मौकामा राजुले उनलाई काठमाडौंमा घुम्न आउने प्रस्ताव राख्यो ।

कौशिला घरमा काठमाडौंमा दिदीको घरमा जान्छु भनेर नुवाकोट बट्टारबाट गाडी चढि्न साउन महिनामा । उनले आफू काठमाडौं आउँदैछु भनेर भर्खरै विहे गरेका आफ्ना पतिलाई सुनाउन चाहिनन् ।

अजनबीसँग दिल्लीको बाटो

काठमाडौंमा आएर स्वयंभूमा ओर्लिनासाथ त्यहि ‘अजनबी’ राजु लामा कौशिला होइन ? भन्दै काँधमा हात राख्न आइपुग्यो । उसले कौशिलालाई भन्यो-दिल्ली घुम्न जाउँ, त्यहाँ मेरो दिदी हुनुहुन्छ, फर्किदा दिदीको छोरीसँग फर्किने ।’
एउटा अपरिचित व्यक्तिले काठमाडौं बोलाएर दिल्ली जाउँ भन्नासाथ कौशिला उसँगै दिल्ली जान राजी भइन् । ६ कक्षासम्म पढेकी कौशिलालाई केटीहरु दिल्ली लगेर बेचिन्छन् भन्ने थाहा हुँदा हुँदै पनि उनले कुनै शंका नगरी त्यो अपरिचित युवकसँग जान तयार भइन् ।

Kusila

अन्दाजी २५ वर्षे राजुले अर्की युवतीलाई पनि दिल्ली जाने गाडीको टिकट काट्यो । बाटोमा उनीहरुबीच चिनजान भएपछि ती युवतीले आफ्नो नाम शिल्पा तामाङ भनेर कौशिलालाई सुनाइन् ।

दुप्चेश्वरी जात्रा लाग्ने क्षेत्रकी शिल्पाकी आमा भूकम्पमा परेर मृत्यु भएपछि उनी भौतारिँदै हिडेका बेला राजुको फेला परेकी रहिछन् । उनीहरु दुवैलाई लिएर रक्सौल हुँदै २ दिनमा दिल्लीको एक घरमा लग्यो उसले ।

मेरी दिदी हुन् यहिँ बस्दै गर भनेर एउटी महिलाको फ्ल्याटमा जिम्मा लगाएको राजु शव्जी किनेर आउँछु भन्दै निस्कियो । त्यसपछि ऊ कहिल्यै पनि त्यहाँ फर्किएन ।

अपत्यारिलो लाग्ने यो कथा सुनाउँदै जाँदा कौशिलाको आँखाबाट आँशु झरिरहेका थिए । उनी र शिल्पालाई करिव एक महिनासम्म ती महिलाले त्यहि घरमा थुनेर राखिन् ।

यौन बजारको यात्रा

राजु लामा कहिले आउँछ भनेर उनी सोध्थिन । तर, अन्तमा ती महिलाले भनिन् अब तिमीहरु अफिसमा काम गर्न जाने हो, राजु आउँदैन । कुन् अफिस ? के काम गर्ने ? कौशिलाको प्रश्नमा ती कथित दिदीले भनिन्-जे पर्छ त्यहि गर्ने ।’

उनले जान्न घर फर्काइदेऊ भन्दा भन्दै जबर्जस्ती एक फ्ल्याटमा लगियो । जहाँ पाँच सात जना नेपाली केटीहरु हिन्दी गीतमा नाच्दै थिए । कोही चुरोटको धुँवा उडाएर उत्ताउलो पारामा बसेका थए ।

उनलाई त्यहाँ पुगेपछिमात्र थाहा भयो-मलाई यौन बजारमा बेचिएको रहेछ ।’ उनले भाग्न खोजिन्, धेरै रोइन् र चिच्याइन् । तर, उनको चिच्याहट चर्को स्वरमा बजिरहेको हिन्दी गीतको आवाजमै हरायो ।

अनलाइनखबरकर्मीसँग पहिलो दिनको घटना सुनाउँदै उनी यसरी पाखिइन्-म बेस्सरी रोएँ, तर कसैले दया देखाए । एउटी नेपाली केटी आएर यहाँ रुनुको अर्थ छैन, लौ यो नयाँ लुगा लाउ भनेर दिई । रोयौं र मानेनौं भने बलात्कार गर्छन्, बरु चूप लागेर देऊ, सकेसम्म आनन्द लेऊ यस्तै यस्तै भनेर फकाइन् ।’

उनी बेचिइ सकेकी थिइन् । उनको सामू अरु कुनै विकल्प थिएन । दिनमा चार जनासम्म ग्राहकको यौन तृष्णा मेटाउने उनको जागिर थियो । यौन सम्बद्ध सकिएपछि तीन सय रुपैयाँ ग्राहकले हातमा राखिदिन्थ्यो ।

ग्राहकले दिएको तीन सय रुपैया त्यहिँ कोठीमा काम गर्ने ‘नेपाली दाइ’लाई दिनुपथ्र्यो । कण्डम बिना ग्राहकसँग यौन सम्बद्ध राख्न मनाही थियो ।

त्यो ग्राहक, जसले लुगा खोलेन

कोठीको नारकीय यात्रा शुरु भएको करिव दुई महिना भएको थियो । एक एकजना नेपाली ग्राहक उनी समक्ष आयो । कौशिलाले नियमित ग्राहक सम्झेर उसलाई भित्र कोठामा लिएर गइन् ।

त्यो नेपाली ग्राहकले उनको लुगा खोलेन । उनको शरीरमा हात समेत लाएन । बरु उसले भन्यो-म नेपाली हुँ, तिमी सधैं रोए जस्तो देखिन्छ्यौ । यहाँबाट भाग्न चाहान्छौं भने म पुलिस लिएर आउँछु ।’

कौशिलाको लागि भगवान बनेर आएका तीनै युवकले प्रहरी पठाइदिए त्यो दिल्लीकेा कोठीमा । रैथाने बनिसकेका नेपाली केटीहरु त्यहिँको त्यहिँ गायब भए प्रहरी आउँदा ।

कौशिला र दुई वंगाली युवतीको त्यहाँबाट उद्दार भयो । कौशिलासँगै कथित राजु लामाले बेचेकी शिल्पा भने कोठीबाट फर्किन मानिन् । ‘त्यहाँ पुगेपछि कतिपय केटीहरु फर्किन मान्दा रहेनछन्’ उनले भनिन् ।Kausila1

करीव एक महिना दिल्लीस्थित निर्मल नारी निकेतन भन्ने संस्थाको संरक्षणमा रहेकी कौशिला अहिले काठमाडौंमा शक्ति समूहको सुरक्षित आवासमा छिन् । उनलाई मनोसामाजिक परामर्श दिएर राखिएको छ ।

जिन्दगीको नयाँ बाटो

कौशिला अब आफ्नो त्यो दुई महिने कोठी जिन्दगीलाई जीवनको तीतो भूल सम्झेर नयाँ जीवन अघि बढाउन खोज्दैछिन् । उनलाई दिदीले सँगै काम गरौंला भन्ने आश्वासन दिएकी छन् ।

अनि पति ? सम्भवतः अब उनी बैबाहिक जीवनलाई निरन्तरता दिने छैनन् । ‘म आफैं अब उसँग जान्न, मेरो कारणले उसलाई पनि समाजमा नराम्रो हुन्छ, मेरो कुरा सबैलाई थाहा भइसकेको छ’ उनले भनिन् ।

दलालले जालमा पारेर बम्बै पुर्‍याउछन् भन्ने उनले नसुनेकी होइनन् । भन्छिन्-फकाएर बम्बै लैजान्छन् भन्ने थाहा थियो । तर, मैले त्यो मान्छेलाई यति धेरै विश्वास गरेँ, आफ्नो श्रीमान भन्दा उसको भरोसा थियो । मेरो आग्रह छ अरु चेलीहरुलाई, कसैको पनि भरोसा नगर्नु,मिस कल गर्नेसँग त झनै भर नपर्नू ।’

को थियो राजु लामा ?

राजु लामाले बेचेका कौशिला र शिल्पा त बाहिर आएका पात्र मात्रै हुन् । नजाने त्यो अपरिचित दलालले अहिले पनि यस्तै कौशिलाहरुलाई मिसकलको सहाराले छल गरिरहेको होला ।

कौशिलासँग राजुको मोबाइल नम्बर पनि छैन अहिले । उनको मोबाइल दिल्लीमै खोसिएकाले कुनै नम्बर पत्ता लाउन नसकिएको शक्ति समूहका कानुनी सल्लाहकार दिलिप कोइराला बताउछन् ।

बेचबिखनको दलालले आफ्नो नाम र ठेगाना जुन कौशिलालाई बतायो, त्यो सही होइन भन्ने सहजै अनुमान लगाउन सकिन्छ । तर, उसलाई देखे चिन्ने बाहेक कौशिलासँग उसको कुनै सम्पर्क सूत्र छैन ।

मानव बेचबिखनका दलालहरुले गाउँबाट ल्याएका चेलीलाई सबैभन्दा पहिले आफ्नो शिकार बनाउथे । तर, कौशिलाका अनुसार राजु लामाले उनीसँग शारिरीक सम्बन्धको प्रयास नै गरेन ।

‘उसले विहे गरौं भनेको थियो, तर मैले विहे गरिसकेकी छु साथीमात्रै बनौं भनेँ त्यसपछि उसले केही गरेन’ कौशिलाले भनिन् । शिल्पासँग पनि उसले त्यस्तो सम्बन्ध राखेको आफूले थाहा नपाएको उनले बताइन् ।

चुनौति थपियो

नेपालबाट चेलिबेटी बेचिबखनको परम्परागत शैली फेरिएको चर्चा भइरहेका बेला कौशिला र शिल्पाको बेचबिखनको घटना लगभग २० वर्ष पूरानो शैलीको देखिएको छ ।

यसले गर्दा आज पनि मानव बेचबिखनका दलालहरु गाउँ-गाउँमा क्रियाशील रहेको पुष्टि हुने शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार बताउँछिन् । दनुवारले भनिन्-यो घटनाले हामीलाई चुनौति थपेको छ । बेचबिखन विरुद्ध सरकारी र गैर सरकारी क्षेत्रबाट गाउँ गाउँमा यति ठूलो अभियान चलाइँदा समेत कौशिला जस्ता किशोरीहरु एउटा अपरिचित व्यक्तिको भरमा दिल्ली पुग्नुले हाम्रो प्रयासमाथि चुनौति थपेको छ ।’

कौशिलाले बोकेको मोबाइल नम्बर उनकी दिदीको नामको सिमकार्ड हो । यदि प्रहरीले अभियुक्त राजु लामालाई पत्ता लगाउन चाहने हो भने त्यो नम्बरबाट कल डिटेल्स निकालेर अनुसन्धान अघि बढाउन सक्छ ।

कौशिला र शिल्पाको घटनाले के देखाएको छ भने-नुवाकोट सिन्धुपाल्चोक लगायतका जिल्लाका गाउँ गाउँबाट अहिले पनि किशोरीहरुको बेचिबिखन निर्बाध चलिरहेको छ । शैली मात्र फरक छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment