काठमाडौं । अहिले टेलिश्रृङ्खला ‘तीतो सत्य’ प्रशारण बन्द छ । टेलिभिजनबाट यसको प्रशारण रोकिए पनि चर्चा-परिचर्चा रोकिएको छैन । तीतोसत्य भन्नासाथै सबैले सम्झिन्छन्, दीपकराज गिरी र दीपाश्री निरौलालाई ।
यद्यपि, तीतोसत्य सिरियललाई स्थापित गराउन अन्य कलाकारको पनि अहम् भूमिका थियो । तीतोसत्यबाट चिनिएका कलाकार रबी डंगोल (बेइमान) सँग कुराकानी गर्ने क्रममा थाहा भयो दीपकको पहिलो जोडी दीपा थिइनन्, उनी त पछि जोडिएकी हुन् ।
‘पहिला त दीपक र गोपाल नेपाल ‘फिस्टे’ को जोडी थियो, हरेक कार्यक्रम उहाँहरु जोडी भएर गर्नुहुन्थ्यो दीपाजीसँगपछि भेट भएको हो,’ रविले अनलाइनखबरसित भने ।
गार्इजात्राले जोड्यो दिपकसित
दीपकराजसित अझ पुरानो सम्बन्ध त रविकै रहेछ । नेपाल टेलिभिजनमा आउने इमेज प्लस भन्ने कार्यक्रममार्फत उनीहरु हास्य कार्यक्रम गर्थे । जतिवेला इमेज च्यानल सुरु नै भएको थिएन ।
०५५/०५६ सालतिर हुनुपर्छ, गाईजात्रा कार्यक्रमको निकै जगजगी थियो । गाईजात्रा आउनु अघिदेखि नै कार्यक्रमको भब्य तयारी गर्नेहरुले कमाई पनि राम्रै गर्थे ।
रविको भनाइअनुसार दुई ठाउँमा भब्य हुन्थ्यो कार्यक्रम । एकेडेमीमा सन्तोष पन्तको समुहले गथ्र्यो । राष्ट्रिय सभागृहमा मदनकृष्ण हरिवंशले । जितु-दमन एकेडेमी समुहमा थिए भने दीपकराज र फिस्टे सभागृहको समुहमा ।
एकेडमी र सभागृह दुवैमा ठाउँ नपाएका रवी गाईजात्रा देखाउन भन्दै खुलामञ्च पुग्थे । सिंगै खुलामञ्च टालेर ३० रुपैयाँमा टिकट बेच्ने र गाईजात्रा देखाउने कुरा हुँदै थियो । दीपकराज टुप्लुक्क आइपुगे । रवि सम्झन्छन् ‘दीपकजी र फिस्टे सभागृहमा अटाउनु भएनछ र हामी कहाँ आउनुभयो ।’
त्यहि बेलादेखि उनीहरुको दोस्ती सुरु भएको थियो । दीपकराजले सभागृहमा ठाउँ नपाएकै वर्ष जितु-दमन पनि एकेडेमीमा अटाएनन् । उनीहरु सबै मिलेर खुल्लामञ्चमा जम्मा भएका दर्शकलाई हँसाए केही दिन ।
यसरी बिग्रियो सम्वन्ध
‘तीतो सत्य’ मा काम गरेपछि झनै नजिकिएका थिए दीपकराज, दीपाश्री र रवि । त्यहीवेला छलफल भयो । अर्को नयाँ केही गरौं । ‘सधैं तीतोसत्यमा मात्रै देखिएर हुन्न, आफैं पनि केही गर्नुपर्छ,’ रविले प्रस्ताव राखे, दीपकराजले खुसी हुँदै हुन्छ भने । साक्षी थिए निर्मल शर्मा ।
रवि लगायत केही कलाकार मिलेर ‘भूइँचालो’ भन्ने सिरियल बनाए । ‘त्यसपछि त एक खै के खै के । एक अर्कालाई हेर्ने दृष्टिकोणमै परिवर्तन भयो ।’ दुवै पक्षले मित्रलाई मित्र नभएर प्रतिस्पर्धीका रुपमा हेर्न थालेको बुझे ।
बिभिन्न मिडिया एजेन्सीहरुबीच चुत्थो राजनीति हुने गरेको पनि त्यहीवेला चाल पाए रविले । उनी भन्छन्, ‘मिडियाहरुको अस्वस्थ प्रतिस्पर्धाकै कारण हाम्रो सिरियल पास गरिएन ।’
त्यसपछि टाढिएका रवि ५ वर्षसम्म तीतोसत्यमा देखिएनन् । तर, उनीहरुको ब्यक्तिगत सम्बन्ध पनि निकै राम्रो थियो । रवि भन्छन् ‘भेट हुँदा भाइलाई जस्तै माया गर्नु हुन्थ्यो ।’
प्रतिक्रिया 4