Comments Add Comment

साढे सोह्र हजार सिलिन्डर काठमाडौं भित्रिए

LP-gas-cilinder

१० पुस, काठमाडौं । भारतीय नाकाबन्दीपछि काठमाडौंमा अहिलेसम्मकै धेरै ग्यास सिलिन्डर भित्रिएका छन् । काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा प्रहरीले राखेको रेकर्डअनुसार वितेको २४ घण्टामा १६ हजार ५ सय सिलिन्डर काठमाडौं ल्याइएको छ ।

बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहानसम्म विभिन्न ग्यास उद्योगले साना तथा ठूला गाडीमा सिलिन्डरहरु काठमाडौं भित्राएका छन् । श्रीराम उद्योगको ६३३, त्रिवेणीको १४ सय २५, सिद्धार्थको ४६५, ओमको १ सय ७० र लुम्बिनीको ८ सय ९ सिलिन्डर काठमाडौं आएको छ ।

यसैगरी एसटिसीको ११ सय ४, मनोजको ४ सय, राजेशको ४५, नारायणीको १८ सय ३१, त्रिशुलको ३ सय ७०, साइबाबाको २२ सय र लोकतन्त्रको ५८८ वटा सिलिन्डर काठमाडौं आएका छन् ।

यस्तै नाम नखुलेको ५ हजार सिलिन्डर पनि गत २४ घण्टामा काठमाडौं भित्रिएको नागढुंगाका ट्राफिक प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक गुणनीधि खकुरेलले जानकारी दिए ।

यो अवधिमा काठमाडौं दुईवटा बुलेट पनि भित्रिएका छन् । केही दिनदेखि भारतका ग्यास बुलेट भित्रिने क्रम बढेपछि काठमाडौंमा ग्यास वितरण फेरि सुरु भएको छ ।

भैरहवा, नवलपरासी, चितवन र धादिङमा रहेका विभिन्न ग्यास उद्योगले झण्डै साढे १६ हजार सिलिन्डर काठमाडौं ल्याएका हुन् । यि सबै सिलिन्डर आधा भरिएका हुन् । यसलाई उद्योगहरुले प्रतिसिलिन्डर सातसय रुपैयाँमा बेच्ने छन् ।

वीरगञ्ज बाहेक नाकापारि अड्केका सबै बुलेट आए

नेपाल आयल निगमकाअनुसार अब वीरगञ्जबाहेक कुनै पनि नाकामा ग्यास बुलेट रोकिएका छैनन् । वीरगञ्जमा भने २ सय ४ वटा बुलेट असोज ६ गतेदेखि नै अडि्कएका छन् ।

भारतले सबै ग्यास बुलेटलाई प्राथमिकताका साथ भन्सार पास गराएको आयल निगमको ग्यास वितरण विभागले जनाएको छ । त्यसैकारण अब ग्यास वितरणको क्रम केही बढ्ने आयल निगमले जानकारी दिएको छ ।

अहिले सीमापारी सुनौलीमा एउटा ग्यास बुलेट बिग्रिएर अलपत्र परेको छ । अन्य नाकाबाट नियमितरुपमा ग्यास बुलेट नेपाल आइरहेका छन् । बिहीबार मात्रै विभिन्न नाकाबाट ४४ वटा बुलेट नेपाल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment