१० पुस, काठमाडौं । सरकारले पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत सीईओमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार साँझ बसेको बैठकले पाल्पाका ज्ञवालीलाई प्राधिकरणको सीइओ नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन रार्इले जानकारी दिए ।
भूकम्प पीडितलार्इ राहत दिनेदेखि पुनर्निर्माणको काम गर्ने प्राधिकरणमा अध्यक्षपछि कार्यकारी अधिकृत प्रमुख पद हो । प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।
सिभिल इन्जिनियर रहेका ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक हुन् । उनको कार्यकाल डेढ वर्ष बाँकी रहँदा सरकारले पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।
ज्ञवालीसँग स्थानीय निकायमा लामो समय काम गरेको अनुभव छ । उनलाई एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छ।
यसअघि सुशील कोइराला सरकारले योजना आयोगका तत्कालीन उपाध्यक्ष गोविन्दराज पोखरेललाई सीईओमा नियुक्त गरेको थियो । तर, अध्यादेश पास नभएसँगै उनको नियुक्ति खारेज भयो । कांग्रेसले लामो समयसम्म पोखरेललाई नै निरन्तरता दिनु पर्ने अडान लिएर विधेयक रोकेको थियो ।
हालै मात्र संसदले पुनर्निर्माण विधेयक पास गरेको थियो भने राष्ट्रपति विद्या भण्डारीले विधेयक प्रमाणित गरेकी थिइन् ।
प्रतिक्रिया 4